१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

ओलीको प्रस्तावबारे नेपाल पक्षको प्रश्न ‘सर्तमा पनि एकता हुन्छ’ ? आज स्थायी कमिटी वैठक



काठमाण्डौँ ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आइतबार राखेको प्रस्तावबारे छलफल गर्न खनाल-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले ओलीको प्रस्तावलाई कसरी लिने भनेर निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

अहिले हामी केही बोल्दैनौं । यसबारे सामूहिक धारणा बनाउँछौं,’ खनाल-नेपाल निकट नेता घनश्याम भुसालले सेतोपाटीसँग भने, ‘सोमबार स्थायी कमिटी बैठक बोलाएका छौं । त्यसले नै धेरै कुरा निर्धारण गर्छ ।’ यसअघि खनाल-नेपाल पक्षका नेताहरूसँग भएको अनौपचारिक छलफलमा समेत ओली पक्षले २०७५ जेठ २ मा फर्किन कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको थियो ।

ओलीले आइतबार निकालेको वक्तव्यमा त्यही सर्त दोहोर्‍याएका छन् । खनाल-नेपाल पक्षले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारिसकेको छ । खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा समेत हस्ताक्षर फिर्ता लिने ओलीको सर्त पूरा गर्न नसकिने धारणा आएको खनाल-नेपाल पक्षीय एक केन्द्रीय सदस्यले बताए ।

‘ओली कामरेडले भनेका अरू विषय सकारात्मक छन् । तर अदालतमा गइसकेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अलि खतरनाक छ । उहाँले फेरि पनि एकतालाई दाउपेचका रूपमा लिएको स्पष्ट भएको छ, ती केन्द्रीय सदस्यले भने, ‘उहाँले प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनेर आफूले गरेको निर्णय फिर्ता लिनुभयो भने हाम्रो हस्ताक्षरबारे सोच्न सकिन्छ। किनकि, हामीले संसद जोगाउन खोजेको हो । जसरी पनि संसद जोगिनुपर्‍यो ।’

अर्का एक केन्द्रीय सदस्यले अदालतको फैसला स्वीकार्ने गरी ओलीको प्रस्ताव स्वीकार्न सकिने बताए । ‘स्थायी कमिटीका कमरेडहरूले यसबारे अन्तिम निर्णय गर्नुहोला । अदालतमा बुझाइएको हस्ताक्षरलाई एकताका लागि सर्त बनाउनु हुँदैन भन्ने हो,’ ती केन्द्रीय सदस्यले भने, ‘प्रतिनिधिसभा विघटन र सांसदहरूको हस्ताक्षरलाई कमिटीका बैठकमा छलफल गरेर निर्णय लिन सकिन्छ ।’

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताका लागि आह्वान गरेका छन् । उनले खनाल–नेपाल समूहले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षर फिर्ताको माग गरेका छन् । त्यसो भए आफू जेठ ३ अघिको कमिटीमा फर्कन तयार रहेको ओलीको भनाइ छ ।

संगठनलाई जेठ ३ अघिको अवस्थामा पुर्‍याउने क्रममा देखापर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८ सोमबार ००:००  ६ : १८ बजे