४ बैशाख २०८१, मंगलबार | Wed Apr 17 2024

कोरोनाबाट कास्कीका पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन



कास्की ।

नेपाल पत्रकार महासंघ कास्की शाखा सदस्य यज्ञप्रसाद बास्तोलाको कोरोना संक्रमणका कारण ७० वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि पोखरास्थित रिजनल अस्पतालमा उपचाररत पत्रकार बास्तोलाको स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार पोखराकै चरक अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारकै क्रममा सोही अस्पतालमा आज बिहान ३ः १० बजे निधन भएको हो ।

कास्कीको पुरञ्चौरमा जन्मिएका हाल पोखरा ५ का स्थायी बासिन्दा पत्रकार बास्तोला विगत चार दशकदेखि पोखरामा रही पत्रकारितामा क्रियाशील थिए । उनले पोखराको माछापुच्छ्रे एफएम, माइक्रो न्युज, आदर्श समाज र स्वतन्त्र सन्देशलगायतमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए ।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र अनुभवी पत्रकार गुमाएको र महासंघले जुझारु र सक्रिय सदस्य गुमाएको महासचिव रोसन पुरीले बताएका छन् ।

कोरोनाकै कारण हालसम्म २० जना पत्रकारको निधन भएको छ भने ९ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएको पनि महासचिव पुरीले जानकारी दिएका छन् । सम्भावित जोखिमको ख्याल गरी स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७८ बिहिबार ००:००  २ : १९ बजे