१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल एसियन कप छनोटको प्लेअफमा



काठमाडौँ ।

डिफेन्सका मुख्य खेलाडी रोहित चन्दले पहिलो हाफको अन्त्यमा रातो कार्ड बेहोर्दे मैदान छाडेपछि १० खेलाडीमा समेटिएको नेपालले अस्ट्रेलियाविरुद्ध ३–० को हारसँगै शुक्रबार विश्वकप २०२२ छनोट टुंग्याएको छ । यससँगै नेपाल सिधै एसियन कप २०२३ छनोटको तेस्रो चरणमा पुग्न असफल रह्यो । अब त्यसका लागि प्लेअफ खेल्नुपर्नेछ ।

छनोटका ८ खेलमध्ये ६ खेल हारेको नेपालले दुई खेल जित्दै ६ अंक बनाएर समूह ‘बी’ को चौथो स्थान हात पार्‍यो । नेपालले दुवै जित चाइनिज ताइपेईविरुद्ध निकाल्यो । ताइपेई समूहको अन्तिम अर्थात् पाँचौं स्थानमा रह्यो । समूहमा चौथो हुने आठ टिममध्ये उत्कृष्ट चार देशले सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्न पाउँछन् । तर, एउटा समूहमा चार टिममात्रै भएकाले चौथो हुनेमध्ये उत्कृष्ट चारको छनोटमा पाँचौं हुने टिमसँगको नतिजा गणना हुँदैन । त्यसर्थ, चौथो स्थानको वरीयतामा नेपाल अंकविहीन रह्यो ।

त्यसैले अस्ट्रेलियाविरुद्धको हारसँगै नेपालले एसियन कप छनोटमा कायम रहन प्लेअफमा सफलता हासिल गर्नुपर्नेछ । प्लेअफ आउने सेप्टेम्बरमा हुनेछ र यसबाट आठ टिमले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् । सन् २०२३ मा चीनमा हुने एसियन कप २४ टिमले खेल्नेछन् । यो विश्वकप छनोटको तेस्रो चरण पुग्ने १२ टिम (समूहका शीर्ष आठ र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिम) ले सिधै एसियन कप खेल्नेछन् । यो छनोटमा दोस्रो हुनेमध्ये पुछारका चार, तेस्रो हुने आठ र चौथो हुनेमध्ये उत्कृष्ट चार टिम महादेशीय प्रतियोगिताको छनोटको तेस्रो चरणमा प्रवेश गर्नेछन् । पुछारमा रहने ११ टिमले प्लेअफ खेल्नेछन् । यसमा नेपाल पनि परेको छ । अस्ट्रेलिया लगातार सातौं जितसहित विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गर्‍यो । यससागै उसले एसियन कप २०२३ खेल्ने पनि पक्का गर्यो ।

घट्यो अन्तर

जाबेर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा कप्तान म्याथ्यु लेस्कीले हेडर गोल गर्दै छैटौं मिनेटमै अस्ट्रेलियालाई अग्रता दिलाए । उनकै उत्कृष्ट पासमा फ्रान कारासिचले ३८ औं मिनेटमा दोस्रो गोल गरे । बल अघि बढाइरहेका मार्टिन बोएललाई फाउल गर्दै लडाएपछि रोहितले ४५ औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडे । त्यसपछि नेपाली टिमलाई अझै समस्या हुने अनुमान गरिएको थियो । तर, १० खेलाडीले पनि जुझारुपन देखाए । उनै मार्टिनले ५७ औं मिनेटमा तेस्रो गोल गरे ।

यही विश्वकप छनोटअन्तर्गत क्यानबेरामा भएको खेलमा नेपाली टिम अस्ट्रेलियाविरुद्ध ५–० ले हारेको थियो । त्यो अन्तरलाई कुवेत सिटीमा छोट्यायो । फेरि एकपल्ट नेपाली टिमले गोल गर्नसक्ने अवसर सिर्जना गर्न सकेन । तर, छोटो पास खेल्दै बल पोजेसन राख्ने प्रयास भने गरेको देखियो । एसियन कप २०१५ को च्याम्पियन तथा पछिल्ला चारै विश्वकप खेलेको अस्ट्रेलियालाई खेलाडीको उचाइ र बलियो शरीरको पूरा फाइदा रह्यो । उसको एक प्रहारमा पोल बाधक बन्यो ।

फिफा वरीयतामा १३० स्थानमाथिको टिमविरुद्ध पूरा समय नै नेपाली टिम आफ्नै क्षेत्रमा विपक्षीलई रोक्ने प्रयासमा व्यस्त रह्यो । विशेषगरी गोलकिपर किरण चेम्जोङ र सेन्टरब्याक अनन्त तामाङको प्रदर्शन उत्कृष्ट रह्यो । युरोपेली लिगका क्लबमा आबद्ध खेलाडीको बाहुल्य रहेको टिमविरुद्ध किरणले पाँच आक्रमणमा राम्रो बचाउ गरे । अस्ट्रेलियाले ताइपेईविरुद्ध ५–१ को जित निकालेको टिमका अधिकांश खेलाडीलाई आराम दिएको थियो । नेपालले जोर्डनविरुद्ध ३–० ले हारेको पहिलो रोजाइमा पाँच खेलाडी परिवर्तन गरेको थियो ।

तीन खेलाडीको डेब्यू

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आयुष घलान, सुरजज्यू ठकुरी र कमल थापालाई अस्ट्रेलियाविरुद्ध अन्त्यतिर उतार्दै अर्न्त्राीष्ट्रय फुटबलमा डेब्यू गराएका छन् । कमलले विशाल राई, आयुषले सुमन लामा र सुरजले एरिक विष्टलाई तीन मिनेटको इन्ज्युरी समयको पहिलो मिनेटमा प्रतिस्थापन गरेका थिए । यी तीनै खेलाडी मिडफिल्डर हुन् । अब यो टिममा डेब्यू गर्न बाँकी गोलकिपरद्वय दीप कार्की र विशाल सुनारमात्रै छन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७८ शनिबार ००:००  ८ : १६ बजे