१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुका डिएसपी भण्डारी सर्वोत्कृष्ट प्रहरी घोषित, अनुसन्धानमा राम्रो काम



मायादेवी अनलाइन, चारनम्बर ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी सर्वोत्कृष्ट प्रहरी हुनु भएको छ । संघीय प्रहरी इकाई कार्यालय भैरहवाले जिल्ला प्रहरी कार्यालयको निरिक्षण तथा अवलोकन पश्चात् उत्कृष्ट कार्य सम्पादनको आधारमा जेष्ठ महिनाको ‘पुलिस अफ दि मन्थ’को अवार्डबाट सम्मान गर्दै प्रसंसा पत्र समेत दिएको छ ।

इकाई कार्यालय भैरहवा रुपन्देहीबाट आउनु भएका प्रहरी वरिष्ठ उपरिक्षक शुसील कुमार यादवले कपिलवस्तु कार्यालयको हिरासत कक्ष, अपराध अनुसन्धान शाखा निरिक्षण गरेपश्चात् उच्च मुल्यांकन गरी भण्डारीलाई जिल्लाकै उत्कृष्ट भएको सम्मान पत्र दिनु भएको थियो । इकाइले प्रहरीहरुको आत्मबल उच्च बनाउन हरेक महिना यस्तो प्रहरी कर्मचारीहरुलाई यस्तो पुरस्कार पत्र प्रदान गर्दै आइरहेको छ ।

विभागिय मुल्य मान्यता, आदेश, निर्देशनको पालना गरे नगरेको, व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा लागे नलागेको, उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य पुरा गरे नगरेको, अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याए नपुर्‍याएको, विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानुनी कारवाहीको दायरामा ल्याउन खेलेको भूमिका आदिको मुल्यांकन गर्दै प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने गरिएको प्रहरी वरिष्ठ उपरिक्षक सुशील यादवले बताउनु भयो । जिल्लाका प्रहरी प्रमुख उपरिक्षक नवराज अधिकारीले पनि भण्डारीको प्रसंसा गर्नु भयो । बिभिन्न अनुसन्धान र अपराध नियन्त्रणमा भण्डारी अब्बल रहेको उहाँको भनाई छ ।

जिल्ला कार्यालयको तर्फबाट पनि प्रहरी कर्मचारीको मनोबल उच्च राख्न आफूले पनि प्रत्येक महिना सम्मान र पुरस्कार गर्ने गरिरहेको समेत मायादेवीलाई बताउनु भयो । भण्डारीले आफूलाई पढे लेखेको, निडर र साहसी प्रहरी अधिकृतको रुपमा परिचय दिनुभएको छ ।

प्रकाशित मिति : ३ असार २०७८ बिहिबार ००:००  ९ : २८ बजे