१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पाराग्वेलाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा



एजेन्सी । उपाधि दावेदार अर्जेन्टिना कोपा अमेरिका कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ मा पाराग्वेलाई १–० ले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम आठको यात्रा तय गरेको हो ।ब्रासिलियामा मंगलबार बिहान भएको खेलको पहिलो हाफमा एलेसान्द्रो गोमेजले गरेको गोलमा अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । खेलको १०औं मिनेटमा एलेसान्द्रो गोमेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । एन्जल डि मारियाको थ्रु बलमा गोमेजले सुन्दर फिनिस गरेका थिए ।

त्यसअघि आठौं मिनेटमा गुस्ताभो गोमेज र रोबर्ट पिरिसको समन्वय नमिल्दा सर्जियो अगुएरोले गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । १८औं मिनेटमा कप्तान लियोनेल मेस्सीले अवसर पाएपनि सदुपयोग गर्न सकेन । एक गोलले पछि परेको पाराग्वेले बल पोसेसन राख्दै आक्रमण बुन्ने प्रयास गरेपनि अर्जेन्टिनाको बलियो रक्षापङ्ति तोड्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एन्जल डि मारियाले गोल गरेपनि उनी अफसाइड ठहरिदा गोलले मान्यता पाए । ५७औं मिनेटमा काकु र अल्मिरोनको समन्वयमा बनेको मुभमा काकुको प्रहारलाई क्रिस्टियन रोमेरोले क्लियर गरिदिदा पाराग्वेको बराबरी टारे ।६१औं मिनेटमा काकुकै कर्नरलाई अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले पञ्च गर्दै बचाए । ७६औं मिनेटमा अल्भोसको पासमा एल्मिरोनले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई रोमेरोल ब्लक गर्दै संकट टारे । ८९औं मिनेटमा एल्मिरोनले तीन डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षकले बचाउँदा पाराग्वे बराबरीबाट चुक्यो ।

यो जितपछि अर्जेन्टिना समूह ‘ए’ मा ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित पाराग्वे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । चिली ३ खेलबाट ५ अंक जोडेर दोस्रो स्थानमा रहँदा उरुग्वे २ खेलबाट १ अंक जोडेर चौथो स्थानमा छ । अंकविहीन बोलिभिया पुछारमा छ ।यही समूहको अर्को खेलमा उरुग्वे र चिलीले १–१ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : ८ असार २०७८ मंगलबार ००:००  ७ : ५१ बजे