२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

वडा स्तरीय सामाजिक परिक्षण कार्यक्रम सम्पन्न



मायादेवी अनलाइन, वाणगंगा ।
सिद्धार्थ सामाजिक विकास केन्द्र दिगो तथा मर्यादित सामाजिक आर्थिक शसक्तीकरण कार्यक्रम अन्तरगत वडा स्तरीय सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको हलमा सम्पन्न कार्यक्रममा सिड्स कार्यक्रम, वडा नम्बर ३ र आधारभूत स्वास्थ्य सेवा केन्द्र सिउटीको वार्षिक प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्र अन्तरगत संचालित सिड्स कार्यक्रमका सबिता बेल्वासेले सिड्स कार्यक्रमले आर्थिक वर्ष २०७७/०७८ मा गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

त्यसक्रममा उहाँले सिड्स अन्तरगत संचालित विभिन्न कार्यक्रम, उक्त कार्यक्रम संचालन पश्चात समाजमा आएको सकारात्मक परिवर्तन, जिविकोपार्जनका साथै सिड्सकै कार्यक्रमबाट आयआर्जनमा जोडिनुभएकाहरुको बारे जानकारी गराउनुभएको थियो ।

यसैगरी कार्यक्रममा वडा नम्बर ३ को आर्थिक वर्ष २०७७/०७८ को प्रगति प्रतिबेदन पनि प्रस्तुत गरिएको छ । वडाको प्रगति प्रतिबेदन वाणगंगा कार्यपालिका सदस्य सरितादेवी ढकालले प्रस्तुत गर्नुभएको थियो ।

ढकालले वडाले संचालन गरेका भौतिक प्रगतिका बारे जानकारी गराउनुभयो । सोही कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र सिउटीका प्रमुख रेखा भुसालले स्वास्थ्यको प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

भुसालले प्रस्तुत गरेको प्रतिबेदनका अनुसार वाणगंगाको वडा नम्बर ३ मा २० वर्ष उमेर नपुगी बच्चा जन्माउने किशोरीको संख्या ७ रहेको छ । यस्तैगरी वडा नम्बर ३ बाट ८ हप्तासम्मको गर्भपतन गराउनका लागि ६ जनालाई रेफर गरिएको छ ।

यसरी ३ जनाले कार्यक्रममा प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभयो भने उक्त प्रतिबेदनमा उपस्थित सहभागीले जिज्ञासा पनि राख्नुभएको थियो । सहभागी मध्ये टेक बहादुर झ्याडी मगरले स्वास्थ्य संग सम्बन्धीत जिज्ञासा राख्नुभएको थियो । त्यसैगरी लाल बहादुर महत क्षेत्रीले जनप्रतिनिधीसंग विकास निर्माणबारे जिज्ञासा राख्नुभयो ।

सामाजिक परिक्षण कार्यक्रममा सहभागीको तर्फबाट ग्र्याजुऐट फोरमकी विनिता खनालले आफ्नो बिचार राख्नुभएको थियो । कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य कुल बहादुर सोमैले मन्तब्य राख्नुभयो । उहाँले सिद्धार्थको काम सराहनिय रहेको भन्दै प्रशंशा पनि गर्नुभयो ।

कार्यक्रमको समापन गर्दै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले समाज रुपान्तरण सजिलो नभएकाले समस्या आउने भन्दै त्यसलाई पार गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

वर्षौ देखि जरो गाडिएर रहेको सोच विचारलाई परिवर्तन गर्न केहि समय लाग्नेहुँदा न आत्तिन समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य तथा कार्यक्रमको उद्धेश्यमाथि सिड्स कार्यक्रमका सिनियर कार्यक्रम कोर्डिनेटर आरटी खानले जानकारी गराउनुभयो ।

रेडियो मायादेवीकी दिपा महतले संचालन गर्नुभएको उक्त कार्यक्रममा जनप्रतिनिधी, टोल बिकास संस्थाका प्रतिनिधी, शिक्षा तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधी, किरोरी समूह लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधीको सहभागिता थियो ।

प्रकाशित मिति : १ भदौ २०७८ मंगलबार ००:००  ७ : ४२ बजे