केपी ओलीको ‘बर्थ डे’ डान्सः ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’


चन्द्रकान्त न्यौपाने ।
भदौ ९ गते रातिबाट सामाजिक संजालमा एकाएक एउटा नाचको भिडियो भाइरल बन्यो । त्यो भिडियो थियो पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको । भदौ १० गते विहान उठ्ने वित्तिकै हेर्दा फेसबुक, अनलाइन, टिकटक, ट्विटर युट्युब जताततै त्यो भिडियो भाइरल बनिरहेको थियो । अहिले पनि त्यो भिडियोको चर्चा कम भएको छैन । नाच्नु स्वास्थ्यको दृष्टिकोणबाट फाइदाजनक नै हो । अझै केपी ओली त आफ्नै श्रीमती राधिका शाक्यको जन्मदिनमा मरक्क मर्किएर नाचेका रहेछन् । नाचकै दृश्य, भाउभङ्गी चालढालको सिंहालोकन गर्दा लाग्छ उनी यति खुसी अरु बेला कहिल्यै थिएनन् ।

केपी ओलीको सलमान डान्सपछि धेरैले उनलाई बहुमुखी प्रतिभा सम्पन्न ब्यक्तिको रुपमा चित्रण र ब्याख्या गरे । ब्यक्तिगत र पारिवारिक दृष्टिकोणबाट भन्ने हो भने केपी ओलीको त्यो नृत्य स्वभाविक नै थियो । राम्रो ब्याख्यासंगै कतिपयले केपी नाचको कटु आलोचना पनि गरेका छन् । तर केपी नाच नेपालको कम्युनिष्ट इतिवृत्ति, अझै भन्ने हो भने एमाले भित्रको राजनीत जीवनमा अत्यन्तै अस्वाभाविक र आलोचनायोग्य छ भन्दा हुन्छ ।

श्रीमतीको ‘वर्थ डे’ मा केपी ओलीले हँसिलो चेहरामा कम्मर मर्काइरहँदा त्यसको केही समय अघि त्यही एमालेमा १७ बर्ष नेतृत्व गरेका नेता माधव कुमार नेपालको पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र ग्रहण गरिरहेको थियो । अर्थात् केपी ओली नाच्दै गर्दा उनैले नेतृत्व गरेको एमाले वि सं २०५४ सालपछि पहिलो पटक औपचारिक रुपमा दुई फ्याक भयो । सच्चा एमाले नेता र कार्यकर्ताको लागि यो दिन इतिहासकै सबैभन्दा खराब र दुखदायी दिनको रुपमा चित्रित भयो । तर यता अध्यक्ष ओली भने त्यही पार्टी विभाजनको खुशीयालीमा बाालकोटको आँगनमा छमछम नाचिरहेका थिए । त्यो नाच पार्टी विभाजनको खुसीयालीको मैनवत्ति प्रज्वलन थियो भनेर पनि कतिपय बुद्धिजिवी र विश्लेषकहरु बताउँछन् ।

अब इतिहासतिर लागौँ

सन् ५४ अक्टोबर १३ मा एउटा सत्रवर्षे किशोर रोमन साम्राज्यको सम्राट् बन्यो । उसको वास्तविक नाम थियो, ‘क्लाउदिअस सिजर अगस्तस’ जसलाई निरो पनि भनिन्थ्यो । केटो निकै चञ्चल र रसिक थियो । त्यसैले सानै उमेरमा दासीपुत्री क्लाउदियासँग उसको प्रेम भयो । तर तत्कालीन रोमन साम्राज्यमा जातीय कट्टरता र संकीर्णता चरम थियो । परिणाम, उसको प्रेम कसैले स्विकारेन । बरु उल्टो निरोको विवाह भयो अक्टोलियासँग । तर, निरोले क्लाउदियालाई भुल्न सकेन । र, सबै कुरा त्यसपछि गडबड हुँदै गयो ।

त्यतिखेर निरो आफ्नी रानी अक्टोलियासँग पटक्कै खुसी थिएन । त्यसैले ऊ चिढचिढो र हठी हुँदै गयो । अवश्य नै उसमा शक्तिको उन्माद थियो । र, थियो राजकाजमा चरम लापरबाह । खासमा आफ्नो प्रेमलाई असफल बनाउने भारदार, मन्त्री, नाताकुटुम्बहरू सबैसँग निरो बदला लिन चाहन्थ्यो । त्यसैताका एक दिन उसलाई परापूर्वकालमा भएको टाय युद्धको सम्झना आयो । त्यो भीषण युद्धमा पुरानो टायनगर पूरापूर जलेको थियो । त्यही सम्झनाले रोमाञ्चित निरोमा एउटा सनक चढ्यो । उसलाई टायनगर जल्दाको दृश्य हेर्न मन लाग्यो । उसले तत्काल सैनिकहरूलाई बोलाएर आदेश दियो ‘रोम नगरमा आगो लगाओ ।’ आदेश तामेल भयो । एकै छिनमा नगर हुरहुरी बल्न थाल्यो । र, निरोले बाँसुरी बजाउँदै दरबारको अट्टालिकामा बसेर त्यो दृश्य हेरिरह्यो । उसले हेर्दा हेर्दै विस्तारै रोम खरानीमा परिणत भयो ।

ठिक आज केपी ओलीको अहंकारका कारण एमाले जलिरहेको छ । ध्वस्त भइरहेको छ । तर त्यसैका अध्यक्ष केपी शर्मा ओली भने मस्तसंग नाचिरहेका छन् । चुट्किला सुनाएर हसाइरहेका छन् ।

मदन भण्डारीले जोडिदिएको एमाले पार्टी ओलीका कारण फुटेको छ । कम्युनिष्ट आन्दोलन अधोगतिमा छ । जनता संकटले ‘त्राहित्राहि’ छन् । कम्युनिष्ट विचारधारा बोक्ने मान्छेको अनुहारको खुसी हराएको छ । यस्तो बेला एउटा नेतृत्व वर्थ डे भन्दै नाचमा उफ्रन्छ भने त्यो इतिहासकै भ्रष्ट, पतित र नालायक नेतृत्व हो । भनौँ त्यो निरो नै हो ।

पार्टी फुटेको प्रमाण ्पत्र अरु कसैले पाउँदाकै दिनमा केपी ओलीले कुनै नाच नाच्नु हुँदैनथ्यो । यो आलेख पढ्दै गर्दा यहाँले भन्न सक्नुहोला श्रमितीको वर्थ डेमा नाचेको कुरालाई किन यति बढी अतिरञ्जित गरेको होला भनेर । यो अतिरञ्जिना नभएर सत्यता हो । केपी ओलीको नाच श्रीमतीको वर्थ डे खुसीमा थिएन । एमाले विभाजनको खुसीमा थियो । त्यो दिन उनले त्यो हर्कत गर्नै हुँदैनथ्यो । धेरैले यो नाचलाई वर्थ डे कै रुपमा हेरे पनि यसको भित्री आवरणमा छिर्दा त्यो भान हुन्छ । केपी ओली आफ्नै वर्थ डे मै नाचेको भए पनि आलोचना हुन्थ्यो ।

केपी मात्र होइन यो बेला माधव नेपाल, झलनाथ खनाल, विष्णु पौडेल, सुवास नेम्वाङ, बेदुराम भुसाल, भीम रावल, शंकर पोख्रेल, प्रदिप गिरी, घनश्याम भुसालहरु जहाँ जुन स्थितिमा नाचगान र रमाइलोमा सारिक भए पनि आलोचना नै हुन्छ । उहाँहरु डान्स र या या गायक नै भए पनि यो बेलाको नाच बाञ्छनीय हुन्न । यही नाच माधव या कसैले नाचेको भए गोकुल या सूर्य थापा या अरुबाट कम्ता खिसीट्युरी हुँदैनथ्यो ।

उसो त सच्चा कम्युनिष्टहरु यस्ता उत्सवमा प्रायः रमाउन्नन् । उनीहरुलाई समाजको वर्गीय खाडल कसरी अन्य गर्न सक्न्छि भन्ने सोच्छन् । वर्थ डेमा नाच्नु र केक काट्नु त पश्चिमा पुँजिवादी संस्कारले नेपालमा जन्माएको एक संस्कार हो । त्यस अर्थमा पनि ओलीले श्रीमतीको वर्थ डे मा बलिउड अभिनेता सलमान खानको जस्तो ब्रेक डान्स दिनु किमार्थ उपयुक्त हुँदैनथ्यो ।

एमाले फुट्नु अघि भएको पत्रकार सम्मेलनमा पनि ओलीले भनेका थिए ‘पार्टी फुटेको छैन । एउटा सानो चोक्टो चोइटिएको हो ।’ यो भनिरहँदा उनमा कत्ति पनि हिनताबोध देखिएन भने नेतृत्वबाट गल्ती भएको भन्ने कुरामा एक प्रतिशत महसुसपन देखिएन । उल्टै भन्दै थिए ‘लाखौँ कार्यकर्ता भएको पार्टीबाट एक दुईजना अलग्गिदैमा केही फरक पर्दैन । यो पार्टी मैले बनाएको हुँ ।’ यसमा पनि उनमा निरो प्रवृत्ति नै देखिन्छ ।


यति मात्र होइन पार्टी फुटको स्थितिमा पनि उनले कहिले कविता सुनाउँछन्, कहिले चुट्किला सुनाएर त कहिले हास्यब्यङ्ग्य गर्दै दिन कटाइरहेका छन् । आफैले लगाएको फाटेको टालो सिलाउन लाग्नुको सट्टा केपी ओली त उल्टै भ्वाङ पार्ने अनेक उपाय अपनाएर नेता र असन्तुष्टलाई चिढाउने काम गरिरहेका छन् । यसबाट पनि केपी ओलीमा निरो प्रवृति ब्याप्त छ भन्न सकिन्छ ।

पार्टीलाई एउटा प्राइभेट कम्पनीको रुपमा चलाएर तानाशाह लाद्ने र म नै राज्य हुँँ भने जसरी अगाडी बढ्ने ओलीजस्तालाई माधव बाहिरिँदैमा कुनै पीर नहोला । केही फरक पर्दैन होला तर आम कम्युनिष्ट आन्दोलनमा होमिएका र विशेष गरी एमाले पार्टी बनाउन लागेका देशभरका दशौँ लाख कार्यकर्तालाई यसले निरास बनाएको छ ।

आज ओलीसंग एमाले बनाउन सम्पूर्ण जीवन अर्पेका पूर्व अध्यक्षद्धय माधव नेपाल, झलनाथ खनाल छैनन् भने नेपालका नेल्सन मण्डेलाका रुपमा परिचित मोहनचन्द्र अधिकारी, वरिष्ठ शिक्षाविद् मोदनाथ प्रश्रित पनि उनीसंग छैनन् ।

प्रदिप नेपाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल, डा. विजय पौडेल, डा. गंगालाल तुलाधर, प्रमेश हमाल, विरोध खतिवडा, राम कुमारी झाँक्री, राजेन्द्र राई, प्रकाश ज्वाला, मेटमणी चौधरी, जगन्नाथ खतिवडाजस्ता ३४ संघीय सांसद र ५४ केन्द्रीय सदस्य पनि ओलीको ब्यक्तिगत अहंकारले चलेको पार्टी एमालेमा छैनन् । बुझ्नेलाई यो एमालेभित्रको क्षति र ठुलो पहिरो हो । नेपालको कम्युनिष्ट आन्दोलन र समाजवादको दिशामा पुग्ने लक्ष्यमाथिको प्रहार हो । हिजो जननेता मदन भण्डारीले बल्लबल्ल जोडेको एमाले घरमा आगो लागेर खरानी हुन अवस्थामा पुग्दा नेतृत्वमा रहेको ब्यक्ति छमछम नाच्नु त्यही निरो प्रवृत्ति हो भन्नुमा अब दुई मत रहेन ।

उता निरोले लगाएको आगोले सहर जलेको थियो, यताका केपी ओलीजस्ता निरोहरूका कारण सुन्दर एमालेको भविष्य सल्किरहेको छ । ओली आगोले लोकतन्त्र नै सल्काउँदै छ । विगतमा निरोले झोसेको आगोले रोम जल्यो भने यता केपी ओलीले झोँसेको ब्यक्तिगत अहंकारको अगोले एमाले पार्टी जलेर खरानी हुने अवस्थामा गएको छ ।

निरोको मृत्यु आजभन्दा लगभग दुई हजार वर्षअगाडि नै भएको थियो । तर मृत्युपछि पनि निरो पटकपटक सत्तामा पुनरावृत्त हुन आइपुग्छ, किन ? सायद, यो आजको राजनीतिक दुर्भाग्य हो । सायद, यो आजको राजनीतिक असफलता हो । निरो कहिले अमेरिकामा ट्रम्पको वेशमा आउँछ, कहिले भारतमा मोदीको वेशमा । कहिले निरो नेपाली राजनीतिको सत्तामा आउँछ, ओली बनेर, पुष्पकमल दाहाल (प्रचण्ड) बनेर, कहिले माधव नेपाल, बाबुराम भट्टराई अनि कहिले उपेन्द्र यादव, महन्थ ठाकुर बनेर ।

माओवादी र एमाले बनेको दुई बर्ष ओली, प्रचण्ड र माधवहरूको लडाइँमै बित्यो । उनीहरूको साँढेजुधाइबाट देश र जनताको दुई बर्ष सत्यानाश भयो नै बामपन्थीहरुले आफ्नो सत्ता नै गुमाए । जनताका आशा, अपेक्षा र सपनाहरूमाथि प्रचण्ड, ओली र माधवहरूले जसरी खेलबाड गरे । त्यो पनि निरोको नयाँ संस्करण नै हो । देश कोरोनाले आक्रान्त हुँदा कांग्रेस, कम्युनिस्ट र राजपाका मठाधीशहरू सत्ताको जुन गीत गाउँदै थिए, कुनै निरो र हिटलरले गाउने गीतभन्दा कम थिएन ।

यति मात्र होइन यतिहास पल्टाउँदा निरो र केपी ओलीका अन्य गुण पनि दुरुह मिलेका देखियो । निरो र केपी ओलीको हरेक कुराहरु मिल्दा रहेछन् । निरोका इतिहासबाट मूलतः उनको विशेषतालाई उतार्दा– उनमा कलाकार व्यक्तित्व बढी थियो । संगीतका मर्मज्ञ थिए । उनी भावुक थिए, संवेदनशील थिए । खेलकुदमा चाख थियो उनको । विशेषतः तरबारबाजीमा ठूलो सोख राख्थे । संस्कृतिमाथि पनि उनको विशेष लगाव थियो । उनी नाट्यकलाकारहरूसंग पनि उत्तिकै नजिक हुन्थे । उनी कवि पनि थिए । आफूले लेखेका कविता अन्यलाई वाचन गराउँथे भने आफैंले गीत पनि रच्थे र आफूले लायर बजाएर अरूलाई गाउन लगाउँथे ।

केपी शर्मा ओलीको पनि बानी ब्यहोरा पनि त्यस्तै छ । उनी कहिले फुटवल खेल्छन् । कहिले गितार बजाउँछन् । कहिले कविता कोर्छन् र सुनाउँछन् । कहिले भावुक हुन्छन् । रुन्छन् । संस्कृति प्रेममा डुब्छन् । कथा सुनाउँछन् । बुढ्यौलीमा पनि जिस्किनबाट रोकिन्नन् । यी समानान्तर गुणले पनि होला ओली निरो भन्दा कम हुन सकेनन् । उनी आफ्नै घर आगोले जलेर खरानी भइरहँदा पनि निभाउन उद्धत नभएर त्यसको राप ताप्दै बस्दै गरेका छन् । पार्टी चोइटिएर जाँदा पनि उनी औधी खुसीले रमाएका छन् । बालकोटको नाचो पनि त्यही हो । उप्रान्त कुनै पनि नेता कार्यकर्ताले यस्तो गर्नु हुँदैन । यदि त्यस्तो भएन भने जो कोही पनि डाइनेश्वरहरुजस्तै पतन भएर जानु पर्दछ ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस