१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

अष्टलक्ष्मी क्याबिनेटका मन्त्री कृष्ण खनालले पनि छाडे एमाले



हेटौंडा ।

नेकपा (एमाले) विभाजनको क्रममा माधव नेपाल छाडेर मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले मन्त्री बनाएका कृष्णप्रसाद खनालले पार्टी परित्याग गरेका छन्। मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका खनालले एमाले छोडेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन्।

खनालले मंगलबार प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गराएका छन्। यसअघि मंगलबार नै एमालेको ११ जना सांसदले आफूलाई नयाँ दलमा सनाखत गराइसकेका छन् । मुख्यमन्त्री शाक्यले विश्वासिलो पात्रको रुपमा खनाललाई प्रदेशको मन्त्री नियुक्त गरेकी थिइन्। भदौ २ गते मन्त्री नियुक्त हुने दिनमा नै खनालको नाम माधव नेपालको नयाँ दल नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्यमा आएको थियो।
तर, खनालले आफू एमालेमा रहेको भन्दै मुख्यमन्त्री शाक्यलाई विश्वास दिलाएका थिए। त्यसको एक सातापछि खनालले नयाँ दल दर्ताको लागि सनाखत गरेर आएका थिए।

खनालले नयाँ दलमा सनाखत गरेपछि एमालेले प्रदेशमा उनको मन्त्री पदबाट राजीनामा मागेको थियो। तर, खनालले आफूबाट गल्ती भएको भन्दै अब एमालेमै रहने बताउँदै आएको एमालेका मुख्य सचेतक दीपक निरौलाले बताए। एमालेबाट मन्त्री बनेका खनालले नयाँ दल रोजे सँगै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने मुख्य सचेतक निरौलाले बताए। उनले भने ‘एमालेमा नै छु भन्दै सरकारमा बसेर झण्डा हल्लाउँदै अर्को दलमा सनाखत गराउनुभएछ। हामीले उहाँलाई केही भन्नै पर्दैन, उहाँले नैतिकताको आधारमा पद छोड्नुपर्छ।’

यता, नवगठित नेकपा ९एकीकृत समाजवादी० पार्टीमा सनाखत गरेका सांसद माधव पौडेलले भने खनालले मन्त्री पदबाट राजीनामा नदिने बताएका छन्। एमालेबाट फुटेर बनेको दलले ३० प्रतिशत अधिकार पाउने भन्दै आफूहरुले पनि सरकारमा बस्न पाउने उनको भनाइ छ। पौडेलले मुख्यमन्त्री शाक्यले विश्वासको मत नलिएसम्म खनालले राजीनामा नदिने दाबी गरे।

एमाले छाड्ने सांसदहरु

१. राजेन्द्र पाण्डे

२. मुनु सिग्देल

३. वसुन्धरा हुमागाईं

४. लक्ष्मण लम्साल

५. राजेन्द्रमान श्रेष्ठ

६. पार्वती सिलवाल

७. इन्द्रमाया गुरुङ

८. माधव पौडेल

९. वसन्त मानन्धर

१०. रमा आले मगर

११. कुसुमकुमार कार्की

१२. कृष्ण खनाल

प्रकाशित मिति : १५ भाद्र २०७८ मंगलबार ००:००  ५ : ४६ बजे