खसी-बोका बिक्रीको कमाइले खुसी छन् पाल्पाका स्थानीय महिला


सुशीला रेग्मी, पाल्पा।
खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझिन् । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उनलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन ।

पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर निवासी रानाले एउटै खसी ५३ किलोसम्म उत्पादन गरी बजार पठाइन् । गत वर्षको दसैँमा पनि रानाले पाँचवटा खसी बिक्रीबाट रु एक लाख ५० हजार कमाई गरिन् । ‘यस वर्ष सात÷आठ महिना मात्रै पालेर खसी बेचियो, गत वर्ष १३/१४ महिनासम्म पालेर बिक्री गर्दा धेरै आम्दानी देखिए पनि छोटो समय पालेर यस पटकको दसैँमा राम्रो कमाई लिन पाइयो,’ रानाले भनिन्।

उनको घरमा चार/चारवटा खसी र बोका, छवटा माउ गरेर जम्मा २० वटा बाख्रा छन् । गएको फागुनमा मात्रै रु ३० हजार मूल्य बराबरको एउटै खसी र गत असारमा रु ७४ हजार बराबरको बोयर बोका हुर्काएर बिक्री गरिन्।

आजभन्दा करीब सात वर्षअघि एकवटा बाख्राबाट व्यवसाय सुरु गरेकी रानाले अहिले एउटै खसी बेच्दा रु ३० हजार दाम हातमा बुझ्न पाउँदा उनी दङ्ग छिन् । ‘बाख्रा बिक्री गरेको रकमले चाडपर्व राम्रोसँग मनाइन्छ, केही बाँकी रहेको रकम सहकारीमा बचत हुन्छ, बाख्राबाट आम्दानी नभएको भए चाडपर्व कसरी मनाउने पीरलोको भारी थपिन्थ्यो, आफ्नो हातमा कमाई भएपछि मनमा छुट्टै आनन्द र उत्साह आउँदो रहेछ,’ उहाँले खुसी हुँदै भनिन्।

सोही ठाउँकै उर्मिला सुनारीले यस पटकको दसैँमा दुई खसी र एकवटा व्याडे बोका बिक्री गरी रु ५० हजार कमाई गरेकी छिन् । सो रकमले चाडबाड मान्ने उनको योजना छ । ‘बाख्रा पाल्न थालेपछि चाडपर्व कसरी मनाउने भन्ने पिरलो छैन, दुईरतीनवटा खसी बोका बेच्यो कि ? ५०/६० हजार दाम हात परिहाल्छ,’ सुनारीले खुसी हुँदै भनिन्।

खसीबोका उत्पादन गर्न थालेदेखि उनलाई ऋण खोजेर चाडपर्व मनाउनु परेको छैन । उहाँको घरमा हाल सात माउ बाख्रासहित २५ बाख्रा छन् । यसैबाट परिवारको गर्जो टरेको छ ।

खुमिसरा र उर्मिला जस्ता यहाँका धेरै महिलाले बाख्रापालन गरेर राम्रो कमाई गरेका छन् । विशेषगरी दसैँ तिहार जस्ता चाडपर्वलाई लक्षित गरी खसीबोका उत्पादन गर्न थालेपछि चाडपर्वमा अर्कासँग ऋण खोज्नु परेको छैन ।

स्थानीय गल्धा सामाजिक उद्यमी महिला सहकारीले गाउँमै पुगेर बाख्रा खरिद गरी बजार पठाउने गरेको छ । यस कार्यले महिलाहरु बाख्रापालनमा आकर्षित हुँदै गएका छन् । बाख्रापालन गर्न थालेपछि गाउँका महिलाहरु स्वावलम्बी बन्दै गएका छन् ।

सहकारीभित्र आबद्ध सदस्यबाट उत्पादन भएका ४०६ वटा खसीबोका बाहिर निकासी गरी यस पटकको दसैँमा रु ४८ लाख ५३ हजार ६६२ रकम बराबरको कारोबार गरेको सहकारीका व्यवस्थापक दिलमाया राना बताउँछिन् ।

‘सहकारीले घरघरमा पुगेर बाख्रा खरिद गरेर गाडीमा बजार पठाउने गरेपछि बाख्रा कसरी बेच्ने भन्ने झन्झटबाट मुक्त भएका छन्, विशेषगरी कृषकले दसैँतिहार जस्ता ठूला चाडपर्वमा राम्रो आम्दानी गर्ने गरी खसीबोका उत्पादन गर्न थालेपछि बजारीकरणमा सहकारीले सघाउँदै आएको छ,’ व्यवस्थापक रानाले भनिन्।

सदस्यलाई दृष्टिगत गर्दै गाउँबाटै सहकारीले एउटा निश्चित दरभाउ कायम गरी जिउँदो खसीबोका तौलेर बजार पठाउने कार्यले बजारीकरणको समस्या झेल्नुपरेको छैन । तौलका आधारमा मूल्य भने फरक फरक कायम गरिएको छ ।

बीस किलोसम्मको खसीलाई प्रतिकिलो रु ३६०, २० किलोदेखि २५ किलोसम्म रु ४४०, २६ देखि ३० किलो सम्मलाई रु ४६०, ३१ देखि ३५ किलोसम्म रु ४८०, ३६ देखि ४० किलोसम्मलाई रु ५०० मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै ४१ देखि ५० सम्म रु ५३० र ५१ किलोदेखि माथिसम्म तौल भएको खसीबोकालाई प्रतिकिलो रु ५५० मूल्य निर्धारण गरेर सहकारीले कृषकको घरदैलोमै पुगेर खरिद गरी बजार पठाउने गरेको छ । खरिद गरेको सो मूल्यमा प्रतिकिलो रु दश सहकारीले लिएर बजारमा बिक्री गर्ने गरेको छ ।

पछिल्लो समय कृषकले व्यावसायिक बाख्रापालनमा जोड दिन थालेपछि आर्थिक क्षेत्रमा उनीहरु अब्बल बन्दै गएको निस्दी गाउँपालिका पशु सेवा शाखाप्रमुख ओमबहादुर मश्राङ्गीले बताए ।

दसैँ पर्वका अवसरमा मात्रै यस गाउँपालिकाबाट रु एक करोड बराबरको जिउँदो खसीबोका बाहिर निकासी भएको मश्राङ्गीले जानकारी दिए । उनका अनुसार निस्दी गाउँपालिका मासुमा आत्मनिर्भर बनेको छ भने दूध र अण्डामा पनि जोड दिइएको छ ।

गल्धा सामाजिक उद्यमी महिला सहकारीमार्फत जिउँदो खसीबोका पोखरा, चितवन र नवलपुर लगायतका बजारमा निकासी भएको छ । केहीले फ्याट्टफुट्ट आफ्नै तरिकाले खसीबोका बिक्री गरेका छन् ।

सहकारीसँग समन्वय गरेर (सहकारीभित्र र बाहिरका स्थानीयसहित) दसैं अवधिमा मात्रै ७४२ खसीबोका बिक्रीबाट रु ९२ लाख ६२ हजार ९७७ बराबरको कारोबार गरिएको पशु सेवा शाखा निस्दीले जनाएको छ । यसपटक दसैंमा यहाँका कृषकले खसीबोका बेचेर राम्रै आम्दानी गर्न सफल भएका छन् ।

‘धेरैले सहकारीसँगको समन्वयमा खसीबोका बिक्री गर्नुभएको छ भने केही कृषकले व्यक्तिगत तवरबाट व्यापारी तथा ग्राहकसँग सिधै सम्पर्क गरेर बिक्री गर्नुहुन्छ,’ उनले थपे, ‘सहकारीभित्र र बाहिरी खुल्ला कारोबारको तथ्याङ्क हेर्दा निस्दी गाउँपालिकाबाट मात्रै करिब रु एक करोड बराबरको खसीबोका बजारमा पठाइएको छ,’ पशु शाखा प्रमुख मश्राङ्गीले भने ।

विसं २०७१ मा हेफर इन्टरनेसनल नेपालले गाउँका महिलालाई बाख्रापालनमा लगानी गरिदिएपछि महिला बाख्रापालनमा लागेका हुन् । व्यवसाय उन्मुख हुँदै गरेका महिलाहरुलाई थप प्रोत्साहन गर्न विसं २०७३ मा गल्धा सामाजिक उद्यमी महिला सहकारी गठन भएपछि गाउँभरि नै बाख्रापालन गर्ने महिलाको लहर छायो ।

यस सहकारीले ग्रामीण भेगका महिलालाई समेट्दै २८ वटा उपसमूह बनाएर व्यवसायमा सहयोग गरिरहेको छ । संस्थाले वार्षिक दुई करोड ५१ लाख बराबरको कारोबार गर्दै आइरहेको छ।

बाख्रापालनमा महिलालाई उत्साहित बनाउँदै गाउँगाउँमै पुगेर खसीबोका खरीद गरी बजार पठाउने गरेपछि उनीहरु बख्रापालनमा आकर्षित भएका हुन्। सहकारीले गाउँका पाँच स्थानमा खसीबोका खरिद बिक्री सङ्कलन केन्द्रमार्फत नवलपुरको कावासोती, पोखरा, पाल्पाको रामपुर बजारमा खपत गर्दै आएको छ। रासस

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस