१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपिलवस्तुमा ओलीको ४३ मिनेट भाषण ‘न हुटिङ आयो न ताली बज्यो’



चन्द्रकान्त न्यौपाने, बाणगंगा ।

धुमधाम प्रचारका बीच लाखौँ खर्च गरेर नेकपा एमाले कपिलवस्तुले बहादुरगंजमा मंगलबार आम सभा र पार्टी प्रवेश कार्यक्रम राख्यो । त्यसमा प्रमुख वक्ता थिए पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली । राजकीय शैली अपनाएर चुनावी दौडाहामा दौडिएका ओलीको कपिलवस्तु प्रवेश १० औँ महाधिवेशन पछि पहिलो नै थियो । कपिलवस्तुका प्रचलित भाषामा जिंगल बनाएर जनसागर उराल्ने रणनीतिले आयोजना गरिएको कार्यक्रममा मानिसको उपस्थिति राम्रै थियो तर मिडियामा गफ दिए जति भने पटक्कै थिएन । पार्टीको नीति सिद्धान्त बुझेर होइन ओली आउने भएपछि भाषण सुन्नको लागि भए पनि मानिसको जमघट बाक्लै थियो । तामझामका साथ बनाइएको मंच केन्द्र, प्रदेश र स्थानीय तहका नेताले खचाखच भरियो ।

सबै ओलीको भाषण सुन्न आतुर थिए । ओलीले के भन्छन् ? के भनेर हँसाउँछन् ? केके सपना बाँड्छन् ? कति उखान टुक्का भन्ने हुन् ? कपिलवस्तुको विकासको लागि के भन्छन् ? जनताको ब्यग्र प्रतिक्षा थियो । यिनै कुतुहलताकाबीच ओली दिउँसोको सवा ३ बजे मञ्चमा चढे र करिब ४४ मिनेट भाषण गरे । अन्य स्थानमा ओलीले भाषण गर्दा शब्द-शब्दमा, वाक्य-वाक्यमा हुटिङ र ताली बज्ने गरेकोमा कपिलवस्तुमा भने त्यस्तो भएन । सामाजिक, आर्थिक र राजनैतिक भाषण खुवै चुटे तर ओलीको भाषणमा कुनै चाम देखिएन । दर्शकबाट सो प्रकारको प्रतिक्रिया पनि ओलीले पाउन सकेनन् ।

ओलीले मंगलबार राष्ट्रिय राजनीतिमाथि बोल्न सकेनन् । संसद अवरोध, एमाले र काँग्रेश मिलेर एमसीसी पास गर्ने हल्ला, प्रचण्डले भने अनुसार ओलीले सूर्य चिन्ह खोसेको लगायतका विषयमा ओली चुँ बोलेनन् । यस्ता राष्ट्रिय राजनीतिको विषयमा मुख नखोलेका ओलीले माधव नेपाल र प्रचण्डको भने कटु आलोचना गरे । आफ्नो सरकारले गरेको कामको तारिफैतारिफ गरे । यो दर्शकलाई त्यति पच्न नसकेको कतिपय पत्रकार नै बताउँछन् । ती विषयमा बोल्न पटकपटक पत्रकारले चिट लेखेर दिए पनि ओलीले तिनको वेवास्ता गरे । अर्कोतर्फ ओलीको कार्यक्रममा जवरजस्त मानिस लगिएको थियो । त्यहाँ लोसपा, जसपा, माओवादी, काँग्रेस, विप्लव लगायतका पार्टीका नेता कार्यकर्ता जानेरै सहभागि भएका थिए । अर्कोतर्फ धेरैले ओलीको नेपाली भाषाको भाषण नै बुझ्न सकेनन् र ताली र हुटिङ आएन ।

ओली मंचमा चढेर सुरुमा आदरणीय कपिलवस्तुवासी सम्पुर्ण, दिदीबहिनी, आमाबुबा दाजुभाई, सम्बोधन गरे । यतिखेर हल्का हुटिङ आयो तर त्यसपछि भने पटकपटक ओली मंचमा जंगिए, जोस्सिए तर उनले खोजेजस्तो ताली पाएनन् । हुटिङ पाएनन् । यस कार्यक्रमका अध्यक्ष महोदय, मंचमा आसिन जिल्लाका नेता मंगल गुप्ता, साथीहरु, कमरेडहरु, संचारकर्मीहरुमा अभिबादन भनी अब म संक्षेपमा आफ्नो कुरा राख्छु भनेर ३ सेकेण्डजति ओली रोकिए । यो बीचमा उनले गडगडाहक तालिको अपेक्षा गरेका थिए तर त्यसो भएन ।

त्यसपछि उनले जोशमा भने ‘आजको यो मासले पनि कपिलवस्तु परिवर्तन हुन खोजेको जिल्ला हो भन्ने कुरा बताउँछ ।’ यो बेला त गडगडाहक ताली र वि लभ यु केपी बाको नारा घन्किन पर्ने हो तर त्यसो भएन । ताली पनि बजेन । कपिलवस्तुको विकास र सम्भावना बारे पनि उनले बताए । पार्टी प्रवेश गर्नेलाई उक्साउने कोसिस गरे । कुन पार्टीले के गरे भन्ने विश्लेषण गरेर पार्टीमा आउनु भएकालाई स्वागत छ भनेर ओलीले तारिफ गरे तर पनि ताली बजेन । निकै प्रचार गरिएका उनले मंगललाई उक्साए । मंगलको प्रसंसा गरे । मंगल तपाईलाई स्वागत छ भने । त्यहाँ पनि कुनै ताली आएन । त्यारर मात्र ताली आयो ।

अभिभावक नभएका, वेसहारा बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका बालबालिकाको पार्टी एमाले हो भनेर घोकाउँदै थिए तर त्यसमा पनि दर्शकले ताली बजाएनन् । उनले वर्तमान सरकारलाई केही गरेन, माधव र प्रचण्डले मुलुकको लागि केही गरेनन् भनी दोष थोपरिरहेको कपिलवस्तुबासीलाई त्यति चित्त बुझेन । किनकि उनको साढे तिन बर्षे कार्यकालमा जनमुखी एउटा काम पनि गर्न सकेनन् । यो जनतामाझ जगजाहेर नै थियो । त्यसैले पनि ओलीले ताली पाएनन् । बीचबीचमा ओली जोसिन्थे तर त्यो जोश अनुसार ताली र हुटिङ भने आउँदैनथ्यो ।
ओलीले कपिलवस्तुलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने बताए । सदरमुकाम र सीमासम्मको बाटो निर्माण नेकपा एमाले सरकारको पालामा भएको बताए । यो भक्तिगानमा स्वयम् एमाले कार्यकर्ताले पनि ताली बजाएनन् दर्शकको त कुरै छोडौँ । मञ्चका ठुला नेताले पनि ताली बजाएनन् ।

आफू नेतृत्वमा रहँदा भूकम्पले ढलेका संरचना निर्माण, खरको छानामुक्त अभियान, जनता आवास कार्यक्रम, हुलाकी राजमार्ग निर्माणजस्ता लोकप्रिय काम गरेको, एमाले विकासको नीति लिएरअघि बढेकोले पार्टीप्रति जनताको विश्वास बढेको, देशभर एमाले प्रवेशको लहर चलेको, प्रचण्ड र माधव नेपालले राधेराधेको नाम लिएर कुखुरो खाएको लगायतका भाष्ण गरे । नेपालको जमिन बाँझो राखी भारतलाई पानी दिन नसकिने, कपिलवस्तुमा सिँचाइको लागि नौमुरे जलाशय परियोजना आवश्यक रहेको लगायतका भाष्ण गर्दा पनि कसैले एक थप्पड ताली बजाएनन् । पानीको र बाँझोको कुरा गर्दा उनले खुबै हँसाउन खोजेका थिए तर ३६ औँ मिनेटमा बेस्सरी ताली पाएनन् । अलिअलि ताली भने पाए ।उनले भाषणको अन्तिमतिर नेपालगंजमा ५ हजार मानिस प्रवेश गरेको भनी दृष्टान्त दिँदा भने चारपाँच जनाले ताली बजाएका थिए ।

ओलीले नेकपा एमाले जहाँ जीत्छ त्यहाँ अवश्य विकास हुने बताए । उनले आफु प्रधानमन्त्री भएका बेला राजमार्गदेखि भारतका सिमा जोड्ने सडकहरु फोरलेन बनेको र सीमा नाकाबन्दीका बेला पनि भारतसँग नझुँकी सही कदम चालेको बताए । यहाँ पनि कसैले ताली बजाएनन् ।ओलीले कृषि र रोजगारीको बारेमा पनि राम्रै बोले । ताली बजेन । कपिलवस्तुमा एमालेले अब चुनाव जित्छ भनेर भाषणको २८ औँ मिनेटमा बोले यतिखेर कसैकसैले मात्र ताली बजाए । यतिखेर त गडगडाहक ताली बज्नु पर्ने थियो । तर बजेन ।

४० मिनेटसम्मै ओलीको कपिलवस्तु भाषण सुन्दा कहिँ पनि गडगडाहक ताली बजेको पाइदैन । यसो हुनुमा जनताको चेतनाको स्तर बढेको रुपमा पनि कतिपयले लिन्छन् । यो विषयमा त्रिभुवन विश्व विद्यालयका बुद्धिजिवी तथा विश्लेषक दीपक गजुरेल भन्नुहुन्छ ‘ नेताले जनतालाई धेरै ढाँटे । छलकपट गरे । सपना बाँडे । धेरै भाषण गरे । तर विकास गरेनन् । अब जनताले सस्तो नारामा ताली बजाउँदैनन् । चेतनाको स्तर बढ्यो । बुझेर मात्र ताली बजाउँछन् । कपिलवस्तुमा ४० मिनेट ओली बोल्दा तालि र हुटिङ नआउनुमा पनि अलिकति कारण यही हुनसक्छ ।’

केही विश्लेषकले भने ओलीको गफ गर्ने बानीले उनको कद घटेको विश्लेषण गर्छन् । ‘कुनै समय ओली युग थियो । अब त्यो सकियो । अरुको आलोचना र घोचपेच नगर्ने हो भने ओलीको भाषण बन्दागोपी जस्तो हुन्छ । उनका विकासका सबै गफ सुनेर हिजो तालि बजाएको हो अब केको लागि ताली बजाउने ? एक जनाले भने । फिल्डमै गएर ओलीको भाषण सुनेका पत्रकारले पनि ओलीको मंगलबारको भाषण प्रभावकारी नभएको बताउँछन् भने स्वयम् एमाले कार्यकर्ताले मंगलबारको ओलीको भाषणमा त्यति शिलशिला र दम नभएको बताउँछन् ।उनको यो भाषणीय हासलाई टिप्पणीकारहरु ओलीको क्रेज घटेको रुपमा लिन्छन् ।

प्रकाशित मिति : ६ पुस २०७८ मंगलबार ००:००  ८ : ५२ बजे