८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

लेटाङ घटनाका दोषीलाई कारबाही गरिन्छः प्रधानमन्त्री देउवा



मोरङ ।

प्रधानमन्त्री देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । आज सोमवार सुन्दरहरैचा नगरपालिका ८ सलकपुरमा रहेको प्रशासनिक कार्यालय भवनको शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिनुभएको हो ।

खेरुवामा रहेको शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा हिजो आइतवार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएको थियो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

होली खेल्ने क्रममा खेरुवामा रहेको सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको हिजो आइतवार बेलुकी बैठक बसेको थियो । त्यही बैठकमा स्थानीयवासीले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयवासीले आक्रमण गरेको थियो । रासस

प्रकाशित मिति : ७ चैत्र २०७८ सोमबार ००:००  २ : ५१ बजे