६ असार २०८३, शनिबार | Sat Jun 20 2026

माधव नेपालसहित १४ सांसदविरूद्ध मुद्दाको सुनुवाइ चैत २७ मा हुने



काठमाण्डौ ।

सर्वोच्च अदालतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ सांसदविरूद्ध दिएको मुद्दाको सुनुवाइ चैत २७ मा हुने भएको छ।

ओलीले माधवकुमार नेपालसहित १४ प्रतिनिधि सभा सांसदविरूद्ध रिट निवेदन दायर गरेका थिए।

न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो।

यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेपछि आइतबार सुनुवाइ हुन नसकेको हो।

तत्कालीन एमाले नेता माधव नेपालसहित १४ जना सांसदले एमाले छाडेर नेकपा एकीकृत समाजवादी दर्ता गरेका थिए। उक्त पार्टीको वैधानिकता र सभामुख अग्निप्रसाद सापकोटाविरूद्ध ओलीले रिट निवेदन दिएका थिए।

आफूहरूले कारबाही गरेका १४ सांसदको सूची टाँस नगरेको आरोप सभामुखमाथि एमालेले लगाएको छ। ओलीले गत भदौ १७ मा रिट निवेदन दिएका थिए।

प्रकाशित मिति : २१ चैत्र २०७८ सोमबार ००:००  ७ : ५९ बजे