७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नेपाललाई श्रीलंका बनाउने सपना पूरा हुन दिन्नँः अर्थमन्त्री



काठमाडौँ ।

अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताएका छन्। शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले श्रीलंका र नेपालको ऋणको, उत्पादन क्षेत्र ,विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको बताए।

मन्त्री शर्माले अहिले केही मानिसहरुले नेपाललाई श्रीलंका बनाउन खोजे पनि आफूले उनीहरुको सपना पूरा गर्न नदिने बताए। उनले विलासिताका सामान सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए।

उनले मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको बताए। सरकारले बनाएका नीतिमा नै समस्या रहेको बताए। बनाएका नीति कार्यान्वयन क्षेत्रमा समस्या तथा नीतिको दुरुपयोग वा भ्रष्टाचार भएर यस्तो भयो भन्ने कुरा अनुसन्धान गर्नुपर्ने मन्त्री शर्माको कथन छ।

अर्थमन्त्री शर्माले प्रविधिले नेपालको अर्थतन्त्रमा फाइदासँगै बेफाइदा पुर्‍याइरहेको बताए। उनले ती प्रविधिले पुर्‍याएको चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताए। अर्थमन्त्री शर्माले क्रिप्टो करेन्सी र हाइपर फण्डबारे आफूलाई खासै जानकारी नभएको पनि उल्लेख गरे।

अर्थमन्त्री शर्माले सरकारले पछिल्लो समय अर्थतन्त्रमा देखिएका नयाँ चुनौतीको समाधान गर्ने गरी सरकारले नयाँ प्रविधिको विकास गर्न जरुरी रहेको बताए।

प्रकाशित मिति : २५ चैत्र २०७८ शुक्रबार ००:००  २ : ०६ बजे