१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चुनावी अपिल लेख्दै सत्ता गठबन्धन



काठमाडौं।
सत्ता गठबन्धनमा आबद्ध दलहरूले आगामी स्थानीय चुनावमा देशव्यापी गठबन्धनको आह्वान गर्दै संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन्। गठबन्धनको प्रमुख घटक काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको संयुक्त कार्यदलले सो अपिलको तयारी गरेको एक नेताले बताए।

उनले भने, ‘पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरूको बैठक बसेर त्यसलाई अन्तिम रूप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ।’ अपिलमा गठबन्धन किन आवश्यक पर्‍यो र गठबन्धनको तत्कालीन कार्यभार के हो भन्नेबारे स्पष्ट रूपमा जानकारी दिइनेछ। त्यसैगरी निर्वाचनमा गठबन्धनका तर्फबाट उठाउने साझा विषयहरू पनि बुँदागत रूपमा उल्लेख गर्ने तयारी भएको बताइएको छ।

त्यसैगरी अपिलमा संसद विघटन र संविधान सिद्ध्याउने खेलका पक्षपाती एमाले र त्यसको प्रतिगामी प्रवृत्तिको भण्डाफोर गर्दै गठबन्धनको सरकार बनेपछि भएका जनमुखी निर्णय र कार्यान्वयनको बारेमा पनि स्पष्ट पार्ने बताइएको छ। अपिलको तयारीबारे शुक्रबार छलफलमा भएको र मस्यौदाको अन्तिम रूप तयार भएपछि बैठक बसेर निर्णय गरिने बताइएको छ।

शुक्रबार बिहान बालुवाटारमा अनौपचारिक छलफलमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू सहभागी थिए। सो छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, काँग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो।

प्रकाशित मिति : २६ चैत्र २०७८ शनिबार ००:००  ११ : ५६ बजे