१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मेयरै मेयर, किन यति सस्तो भयो ‘मेयर’ पद ?




चन्द्रकान्त न्यौपाने । २९ चैत्र, २०७८ को राति कपिलवस्तुको बाणगंगा नगरपालिकामा स्थायी घर भएका आत्रेय सुरेन शर्माले आफ्नो आधिकारिक फेसबुकमा लेख्नुभयो ‘बाँच्नुपर्दछ भन्थे, हो रहेछ । आज प्रत्यक्ष नै देखियो ।’ आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि त्यही दिन बाणगंगा नगरपालिकाको नगर प्रमुख पदको लागि बिभिन्न पार्टीबाट डेढ दर्जनले दावी प्रस्तुत गरेका थिए ।

मेयर पदमा दावी प्रस्तुत गर्नेहरु कोही युवा थिए त कोही पाका, कोही अनुभवहिन थिए त कोही अनुभवी । कोही राजनैतिक अनुभव संगालेका थिए त कोही आफैमा बदनामी र हाँसो लाग्ने पात्र थिए । मलाई लाग्छ शर्माले सायद यसै पृष्टभूमिभित्र रहेर यो स्टाटस लेखेको हुनुपर्दछ । शर्माको यो पोष्ट आउनेवित्तिकैे कमेन्टेस पनि आउन थाले “मेयर रै मेयर, कुरो बुझियो, ओएमजी, गज्जवै देखियो बाबै, हाहाहा । त्यसैगरी अझै कति बाँकी छ, हेर्दै जानुहोस् न, रियल्ली ?मैले पनि हल्का बुझिसकेँ” कमेन्टस् गर्नेहरु प्राय यस क्षेत्रकै राजनैतिक, सामाजिक र शैक्षिक ब्यक्तिहरु छन् ।

सोही दिन राति नै बाणगंगा नै घर भएका जेसिज अभियान्त खुमानन्द घिमिरेले पनि फेसबुकमा लेख्नुभयो ‘यो उम्मेदवारी घोषणा राष्ट्र निर्माणको लागि योगदान गर्न हो कि, मान र प्रतिष्ठाको लागि हो कि मनग्यै आर्थिक लाभ लिन पाइन्छ भनेर हो कि ? नबुझेको कुरा ।’ मेरो बुझाइमा यो स्टाटस पनि त्यही पृष्ठभूमिकै थियो ।

यो स्टाटसमा पनि ह्वारह्वारतै प्रतिक्रिया आउन थाले । “उम्मेदवारी देखेर लाज पनि आफै लजाउँछ, धिक्कार, स्वार्थी संसार, भविष्यको लागि अहिलेदेखि नै बार्गेनिङ, पाँच बर्षे जागिर हो । यसैगरी आर्थिक लाभ, अहिले पनि सजिलै पहिलाजस्तै सर्लक्कै हाल्छन् र खाम्ला भन्ने बुझाइ पनि हुन सक्छ, नाम र दाम त्यो पनि सम्मानका साथ के को छाडून् ? सिजन अनुसारको फल भनेझैँ, अहिलेको सिजन उम्मेदवारी घोषणा गर्ने हो मालिक, राष्ट्र निर्माणबाहेक अरु सबैको लागि हो जस्तो लाग्छ” इत्यादि ।

यसको पछाडी पनि सस्तो उम्मेदवारी घोषणा एउटा कारण हुन सक्छ भने अर्कोतर्फ पाँचपाँच बर्ष स्थानीय सरकारमा डेरा जमाएर फोहरसमेत उठाउन नसक्ने अनि फेरि त्यही सिटमा बस्न खोज्नेप्रवृत्तिको पर्दाफासस्वरुप पनि घिमिरेको यो स्टाटस आएको हुनुपर्दछ । ‘एक कार्यकाल खाएर माखो नमार्ने अनि फेरि पनि त्यही या सोभन्दा माथिको पदमा र्याल चुहाउनेहरु अब आमा समुहको पनि नेतृत्व गर्न सक्दैनन् भन्ने अर्थमा पनि यी स्टाटस आएको हुनुपर्दछ’ केहीथरी बुज्रुक भन्छन् ।

बाणगंगामा मात्रै होइन छिमेकी पालिका र देशैभर मेयरमा दावी प्रस्तुत गर्नेहरुको अहिले लहर नै चलेको छ । तीमध्ये धेरै वडा अध्यक्ष र वडा सदस्यको लागि पनि लायक देखिदैनन् । त्यसैले यो विषयले सामाजिक संजालमा मात्र होइन चिया चौतारीमा समेत प्रवेश पाएको छ । मेयर पद निकै सस्तो भएको भनेर आम नागरिकले पनि चोकचोकमा टिकाटिप्प्णी गर्न थालेका छन् ।

कपिलवस्तुका बिभिन्न पालिकामा मेयर पदमा उम्मेदवारी दिनेहरुमध्ये धेरैको कुण्डली केलाउँदा न योग्यता छ, न कुशल नेतृत्व क्षमता छ, न सामाजिक, राजनैतिक र प्रशासनिक अनुभव, न त सही व्यक्तित्व नै । पार्टीभित्र गुटबन्दी सिर्जना गर्ने, झगडा गर्ने र सस्तो समाजसेवाको नाटक मञ्चन गर्नेहरुले मेयर बन्छु भनेर घोषणा गर्दा यसले सो पदको नै खिल्ली उडाएको प्रतित हुन्छ । यसो भनेर उहाँहरुको मान मर्दन गर्न खोजिएको होइन । तथापी मेयर घोषणा गर्दा कमसेकम समाजले पत्याउने र जानकार चरित्र त हुनुपर्यो मात्र भनेको हो ।

हुन त पार्टीभित्र गलत प्रवृत्ति हावी हुँदा पनि त्यसको प्रतिकारस्वरुप युवा उम्मेदवारी घोषणा हुन सक्छन् । त्यसलाई सकारात्मक अर्थमा लिन सकिएला तर जुन खालको विज्ञापन भइरहेको छ त्यो बुद्धिजिवीमाझ बाञ्छनीय पटक्कै छैन । विश्व इतिहासलाई हेर्ने हो भने मेयर बनेका मानिस राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसद बनेका उदाहरण प्रशस्तै छन् । विकसित मुलुक जापान, नर्वे, क्यानाडा आदिमा यो उदाहरण देख्न सकिन्छ । मेयर दावी गर्नेहरु सामान्य स्तरको भएर हुँदैन ।

सवल र सक्षम पालिका निर्माण गर्न सहरहरु र त्यहाँ बन्ने बाटो कस्तो बनाउने ? कृषिको आधुनिकिकरण कसरी गर्ने ? सहरभित्र औद्योगिक क्षेत्र कसरी व्यवस्थित गर्ने, रोजगारी कसरी सिर्जना गर्ने, ढल, पानी, विजुली, अस्पताललाई कसरी व्यवस्थित गर्ने, सहरलाई सुन्दर हरियालीयुक्त र प्रदुषणमुक्त कसरी गर्ने, पार्क उद्यान, पुस्तकालय कसरी खोल्ने ? समग्रमा स्थानीय आवश्यकता अनुसार योजना बनाउने र कार्यान्वयन गर्ने क्षमतामसंग छ कि छैन, बजेट बनाउने सामान्य ज्ञानबारे आफ्नो स्वमुल्यांकनपश्चात् यसो गर्दा ठिक हुन्थ्यो होला ।

ल कपिलवस्तुको बाणगंगा नगरपालिकाकै उदाहरण हेरौँ न । यहाँ ११ वटा वडा छन् । मेयर दावी गरिरहँदा ती ११ वटै वडाका टोलटोलमा पुगेको मेरो हैसियत छ कि छैन, त्यहाँको आवश्यकता, जनजिविका, श्रोत, साधनको पहिचान गर्न सक्छु कि सक्दैन ? वडा मात्रै होइन, कुन टोलको अवस्था कस्तो छ भनेर जानेबुझेको स्वमुल्यांकन पछि उम्मेदवारी घोषणा गर्दा ठिक हुन्थ्यो ।

वाणगंगामा काँग्रेसबाट मेयरको दावी गर्नुभएका पाका नेता विष्णु न्यौपाने भन्नुहुन्छ ‘यो मेयर पद भन्नु विद्यालयमा विद्यार्थी भर्ना गरेजस्तो भयो । यसरी त मेयर पदको कद निकै साँघुरो भयो नि । लोकतन्त्रमा आफ्नो विचार पोख्न पाउनु ठिकै हो तर यो हदसम्म गर्नु ठिक होइन ।’ उम्मेदवारी दिँदै गर्दा मेयरमै नभएर वडाध्यक्ष या वडासदस्यमा दिँदा भने यसरी टिप्पणीको विषय हुँदैनथ्यो, उहाँ भन्नुुहुन्छ ।
योग्य र लामो राजनैतिक अनुभव बोकेका, सामाजिक ब्यक्तिहरुलाई उछिनेर अनुभवहिन तन्नेरीहरु उचालिनु र सामाजिक संजालबाट मेयरको सस्तो विज्ञापन गर्नु किमार्थ राम्रो होइन । यसो गर्दास्थानीय सरकारको प्रमुख पदको भ्यालु लेस हुन्छ, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक दीपक गजुरेल भन्नुहुन्छ ।

यत्तिमात्र होइन नगरविकासको नेपाली भिजन, अन्र्तराष्ट्रिय  अध्ययन, कुशल नेतृत्वसंगै राष्ट्रिय अन्तराष्ट्रिय सम्बन्ध गाँस्न सक्ने ल्याकत, नगरका सबै दल, संघसंस्था, उद्योग ब्यापार, बिभिन्न परिवेशका ब्यक्तिलाई मिलाएर लैजान सक्ने खुबी उम्मेदवारी दावी गर्नेहरुमा हुनुपर्दछ । २०७८ सालको प्रारम्भिक जनगणना अनसार नगरमा करिब १ लाख जनता छन्, उनीहरुलाई बुझ्न सक्ने गुण ती उम्मेदवारी घोषणा गर्नेहरुले बुझेको हुनुपर्दछ ।

यो त स सानो कुरा हो, नगरप्रमुख भइसकेपछि गर्ने ठुलाठुला कामको चाङ उत्तिकै छ । स्थानीय सरकारले पाएको अधिकारलाई टेकेर कानुन निर्माण गर्ने ज्ञान, नगरका सयौँ कर्मचारीको ब्ववस्थापन, बिभिन्न परिस्थितिमा हुने घुसपैठ, बदमासी इत्यादिमा पनि कसैले नफसाउने असल चरित्र मेयरमा हुनुपर्दछ । यो खालको आफ्नो छवि छ भने मेयरमा दावी प्रस्तुत गर्न सुहाउने कुरा हो । आफ्नो वडाका मान्छेले पनि चिन्न नसक्ने पात्रले मेयर बन्छु भन्नु हास्यास्पदबाहेक अरु केही हुन सक्दैन । वडाध्यक्षमा उम्मेदवार दिनेको चाङ पनि उत्तिकै छ । वडा अध्यक्षमा उम्मेदवारी दिने ब्यक्तिले पनि असल चरित्रसहित सामाजिक र प्रशासनिक काममा नेतृत्व गरेको हुनुपर्दछ । अलिकति भए पनि वडाका नागरिकले चिनेको हुनुपर्दछ ।

लोकतन्त्रको सुन्दर पक्ष भनेको नै आआफ्नो कुरा राख्न, भन्न र लेख्न पाउने अधिकार पाउनु हो । सायदै यो सुन्दरताले पनि सबैले आआफ्नो विचार राखेको हुनुपर्दछ हामी मुलुक र देशको नेतृत्व गर्छौँ भनेर युवाहरु कस्सिनु लामो राजनैतिक खिन्न्तामाथिको आक्रोश हो । । यसलाई सम्मान गर्न भने जरुरी छ ।

पत्रकार तथा लेखक चन्द्रकान्त न्यौपाने बाणगंगा नगरपालिका वडा नम्बर ४ का स्वतन्त्र उम्मेदवार हुनुहुन्छ।

प्रकाशित मिति : ३० चैत्र २०७८ बुधबार ००:००  ६ : ५९ बजे