२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

लुम्बिनीका १३ पालिकामा गठबन्धनबीच तालमेल भएन



काठमाडौँ ।
स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका १३ पालिकामा गठबन्धन दलहरूबीच नै प्रतिस्पर्धा हुने भएको छ । सीमावर्ती पालिकामा गठबन्धनबीच सहमति नभएपछि खुला प्रतिस्पर्धा हुने भएको हो । गठबन्धन आबद्ध दलले यसलाई ‘मित्रवत्’ प्रतिस्पर्धा नाम दिएका छन् ।

एमाले तेस्रो र चौथो शक्तिका रूपमा रहेका पालिका र जिल्लामा गठबन्धन दलभित्र छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति बनेको नेताहरूले जनाएका छन् । सत्ता साझेदार दलका अनुसार बर्दियामा कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा हुनेछ । बाँकेमा नयाँ गठबन्धन सम्भावना देखिएको छ । रोल्पामा बिहीबार साँझसम्म कांग्रेस र माओवादीबीच प्रतिस्पर्धाको तयारी देखिएको छ ।

लुम्बिनीमा भारतसँग सीमा जोडिएका २५ स्थानीय तह छन् । रूपन्देहीमा मात्र सात पालिका भारतसँग सीमा जोडिएका छन् । सीमा जोडिएका क्षेत्रमा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी र कांग्रेसको प्रभाव बढी छ । धेरै स्थानमा एमाले तेस्रो र चौथो स्थानमा छ । अहिलेको गठबन्धन एमालेविरुद्धको भएको र एमालेसँग प्रतिस्पर्धा नै नभएका स्थानीय तहमा गठबन्धनभित्र भागबण्डा नगरी मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले बताए । ‘रूपन्देहीका मर्चवारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी, गैडहवा गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ,’ उनले भने, ‘त्यहाँ जसपा र कांग्रेसबीच प्रतिस्पर्धा हुँदै छ ।’ बर्दियामा पनि सरकारमा सहभागी दलबीच नै मित्रवत् प्रतिस्पर्धा गर्ने तयारी भइरहेको र बाँकेमा जसपासँग कांग्रेस, माओवादीको तालमेल हुने सम्भावना रहेको उनले बताए ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेसबाट उम्मेदवार उठाउने सहमति सत्ता गठबन्धनले केन्द्रमा गरेको छ । तर, अहिले आफ्नो शक्ति बढेको भन्दै जसपाले नछाडेपछि कांग्रेस र माओवादीबीच मात्रै तालमेल बनाउने तयारी छ ।

लुम्बिनीका पहाडी ६ जिल्लामा कमजोर संगठन रहेको जसपाले सम्मानजनक स्थान माग गर्दै आएको छ । त्यसमा गठबन्धनका कांग्रेस र माओवादी सहमत नभएपछि जसपा छुट्टै जाने तयारीमा छ । जसपाका प्रदेश महासचिव यज्ञ पोखरेलले जसपा प्रदेशका अधिकांश स्थानमा छुट्टै प्रतिस्पर्धा गर्ने तयारीमा रहेको बताए । ‘तराईमा हामी यसै बलिया छौं, हाम्रालागि गठबन्धन जरुरी छैन,’ उनले भने, ‘पहाडी जिल्लामा हाम्रो उपस्थितिलाई सम्मानजनक रुपमा सम्बोधन नभए हामी गठबन्धनमा बस्दैनौं ।’

२०७४ को निर्वाचनमा रूपन्देहीमा पाँच, कपिलवस्तुमा तीन, बाँकेको एक गरी नौ स्थानीय तहमा जसपा पहिलो शक्ति छ । बर्दिया, दाङ र पश्चिम नवलपरासीमा गरी पाँच स्थानीय तहमा कांग्रेस र माओवादी पहिलो र दोस्रो शक्ति छन् । एमाले तेस्रो शक्ति रहेका स्थानीय तहमा गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा गर्ने र पहाडी जिल्लामा सकेसम्म गठबन्धन नै बनाउने प्रयास भइरहेको माओवादी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

छलफलमा सहमति जुटन नसकेपछि बर्दिया, प्यूठान र रुकुम पूर्वमा गठबन्धन आबद्ध दलले एक्लाएक्लै प्रतिस्पर्धाको तयारी गरेको जनाएका छन् । ती जिल्लामा गठबन्धन आबद्ध दलले प्रेस विज्ञप्ति र पत्रकार सम्मेलनमार्फत गठबन्धनबीच खुला प्रतिस्पर्धा गर्ने निर्णय भएको जनाएका छन् । एमाले बलियो रहेका पालिकामा भने गठबन्धन गरेरै चुनाव लड्ने तयारी छ ।

पूर्वी रुकुममा बिहीबार साँझसम्म गठबन्धन दलले पालिका बाँडफाँट टुंग्याउन सकेनन् । जिल्लास्तरमा सहमति नभएपछि एक्लाएक्लै प्रतिस्पर्धा गर्ने तयारी गरेको दलले जनाएका छन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य उपेन्द्रलाल कामीले जिल्लास्तरमा सहमति हुन नसकेपछि वडा वा पालिकाले गठबन्धन गर्न चाहे त्यसलाई मान्यता दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार पद बाँडफाँट नमिलेपछि गठबन्धन सम्भव नभएको हो । गत चुनावमा जिल्लाका तीनवटै पालिका माओवादीले जितेको थियो । माओवादीले सबै पालिकामा अध्यक्ष दाबी गरेर अन्य दललाई उपाध्यक्षमा चित्त बुझाउन आग्रह गरेको छ । कांग्रेसले ५० प्रतिशत माग गरेपछि गठबन्धन हुन नसकेको कामीले बताए ।

कांग्रेस जिल्ला सभापति केशरमान रोकाले गठबन्धनको सम्भावना सकिएको बताए । माओवादी जिल्ला संयोजक होमप्रकाश श्रेष्ठले मतभारका आधारमा सिट बाँडफाँट गर्ने कुरामा सहमति नहुँदा गठबन्धन हुन नसकेको बताए ।

बर्दियामा सत्तारूढ गठबन्धनमा आबद्ध दलले मित्रवत् प्रतिस्पर्धामा उत्रिने निर्णय सुनाएका छन् । पाँच दिनसम्म चलेको छलफलमा सहमति कायम नभएपछि बुधबार उनीहरू यस्तो निष्कर्षमा पुगेका हुन् । कांग्रेस जिल्ला सभापति अरुणप्रकाश सिंह राठौरले भने, ‘सबै दलको इच्छाअनुसार पालिका रोजाइ पूरा हुन सकेन तर वार्ताको ढोका बन्द भएको छैन ।’

माओवादी जिल्ला सचिवालय सदस्य शंकर थारूले सबैले दलले पालिकामा आफ्नो पकड रहेको दाबी गर्दै पद पाउनुपर्ने अडान नछाडेपछि वार्ता सफल नभएको बताए ।

कांग्रेस केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले स्थानीय तहको निर्वाचनमा सैद्धान्तिक रूपमा एक्लाएक्लै प्रतिस्पर्धार् हुनुपर्ने बताए । ‘केन्द्रीय नीतिअनुसार गठबन्धनका लागि छलफल भएको हो,’ उनले भने, ‘अझै स्थानीय तहमा समझदारी हुन सक्छ ।’ झिमरुक र ऐरावती गाउँपालिकामा सत्ता साझेदार दलबीच एक्लाएक्लै निर्वाचनमा होमिने निर्णय भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९ शुक्रबार ००:००  ८ : १६ बजे