१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मनोनयन दर्ताको समय आउँन एक दिन, उम्मेद्वारको सवालमा कपिलवस्तुका दलहरु ‘तै चुप, मै चुप’मा



दीपा महत, वाणगंगा ।
आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि आइतबार मनोनयन दर्ताको समय छ । निर्वाचन आयोगले यस पालि दुई दिन उम्मेद्वारले मनोनयन दर्ता गर्ने समयसीमा दिएको छ ।

सोही अनुसार बैशाख ११ र १२ गते निर्वाचनमा उठ्न चाहने उम्मेद्वारले तोकिएकै समयमा आफ्नो पालिकामा सञ्चालन भएको निर्वाचन कार्यालयमा पुगि मनोनयन दर्ता गराउनुपर्छ ।

तर, कपिलवस्तुका दलहरुले अझैसम्म आफ्नो उम्मेद्वार टुङ्ग्याउन सकेका छैनन् । दलहरुले आफ्नो तर्फबाट उम्मेद्वार टुङ्ग्याए पछि मात्र चुनावी मावोल बढ्ने गर्छ । दलहरु उम्मेद्वार टुङ्ग्याउने सवालमा ‘तै चुप, मै चुप’को नीति अवलम्वनमा छन् । मनोनयन दर्ताको समय आउँन एक दिन मात्र बाँकी हुँदा दलहरु मौन जस्तै बन्दा एकातिर चुनावी मावोल तात्न सकेको छैन् भने, अर्को तिर दलहरुका पार्टी कार्यालय नेता तथा कार्यकर्ताले भरिभराउ जस्तै देखिएका छन् ।

०७४ सालको स्थानीय तहको निर्वाचनमा दलहरुले मनोनयन दर्ताको समय अगावै उम्मेद्वार टुङ्ग्याएर घरदैलोमा व्यस्त देखिएका थिए । घरदैलो सकाएरै उम्मेद्वारले मनोनयन दर्ता गर्न पाउँथे । तर, यो निर्वाचनमा नसोचेका आकांक्षी बढ्दा दलहरुलाई उम्मेद्वार टुङ्ग्याउन हम्मे हम्मे परेको हो ।

तत्काल उम्मेद्वार टुङ्ग्याउदा नेताहरुले पार्टी छाड्ने डर ठूला दलहरुलाई छ । टिकट नपाएको झोकमा कतिपयले पार्टी छाड्ने र स्वतन्त्र उठ्ने खतरा आंकलन गरेरै दलहरु उम्मेद्वार छनौटमा अझै नलागेका हुन् । स्रोतका अनुसार शुक्रबार रातिसम्ममा दलहरुले उम्मेद्वार टुङ्ग्याउने कसरतमा छन् । निर्वाचन आयोगले दुई दिन मनोनयन दर्ताको समय दिएकाले अधिकांश दलहरु दोस्रो दिन मनोनयन दर्ता गराउने सुरुमा छन् ।

कपिलवस्तुमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जसपा, नेपाल, लोसपा लगायतका दलहरु क्रियाशिल छन् । यी दलहरुले कस्ता उम्मेद्वार उठाउँछन् भन्ने पखाईमा मतदाता छन् । विशेष गरि जिल्लामा कांग्रेस र एमाले बीच नै प्रतिस्पर्धा छ । यी दुई ठूला दलहरु एकको अर्काको उम्मेद्वार थाहा पाए पछि मात्र उम्मेद्वारी टुङ्ग्याउने योजनामा छन् ।

विशेष गरि स्थानीय निर्वाचनमा पार्टीको मात्र नभई उम्मेद्वारको पनि प्रभाव पर्ने भएकाले दलहरु एकको अर्का बीचको उम्मेद्वारसंग तुलना गर्न तर्फ लागेका हुन् ।

सबैभन्दा पहिला उम्मेद्वार टुङ्ग्याएर चुनावी मैदानमा उतार्ने दल एमाले नै हो । तर, यो पालि पार्टी विभाजनको असरमा एमाले छ । पार्टी भित्र आकांक्षी नसोचेको बढेका छन् भने, टिकट नपाए पार्टी छाड्ने धम्कीको लहर उस्तै छ । चुनावको मुखैमा कसैले पार्टी छाडे यसको असर बैशाख ३० मा देखिन्छ । यसले पनि एमाले मनोनयन दर्ताको दिनै उम्मेद्वार टुङ्ग्याउने योजनामा देखिएको स्रोत बताउँछ । एमालेका नेताहरुले चुनावका आकांक्षीहरु बीच पटक पटक वार्ता र संवाद चलाए पनि लचकतामा कोही टसमस देखिएका छैनन् । कमजोर क्षेत्रमा उम्मेद्वार सर्वसम्मत भएपनि प्रभाव हुने क्षेत्रमा दर्जनौं आकांक्षी छन् ।

यता कांग्रेसमा पनि उम्मेद्वार छनौटमा कष्ट देखिएको छ । जिल्ला भित्र कतिपय नेताहरुले टिकट नपाउने शंकामा पार्टी छाडिसकेका छन् भने, कतिपयले टिकट नपाए पार्टी छाड्ने धम्की दिइ रहेका छन् । एकातिर सत्तारुढ भित्र गठबन्धनको कुरा चलिरहेको छ । पार्टी भित्रकै आन्तरिक कसरतमा लागेको कांग्रेस कपिलवस्तु गठबन्धनलाई समेत मनाउन सकेको छैन् । जिल्लाका १० पालिकामा अझैसम्म कतै गठबन्धन भएको छैन् । वार्ता र संवाद भैरहे पनि गठबन्धन दलहरु बीच सहमति भैसकेको छैन् ।

आन्तरिक गुटबन्दीमा रहेको कांग्रेसको वडा तहमा उम्मेद्वार टुङ्ग्याउने अधिकार क्षेत्रिय समितिलाई छ । क्षेत्रिय समितिका पदाधिकारी नै स्थानीय तहका आकांक्षी हुँदा अफ्ठ्यारो स्थिति बनेको हो । स्वयम टिकट दिने नेता नै टिकट पाउन नेताहरु बीच धाउनुपर्ने बाध्यता एकातिर छ भने, अर्का तिर आफ्ना गुटका नेता संरक्षण गर्नुपर्ने दबाब जवरजस्त छ ।

मनोनयन दर्ताको मुखैमा आम मतदातालाई कस्ता उम्मेद्वार कुन पार्टीबाट उठ्दैछन् भन्ने समेत अझै जानकारी नहुँदा चुनावी सरगर्मी सेलाउन पुगेको छ । आम मतदाता पनि उम्मेद्वारी दर्ताको समय कुरेर बसिरहका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७९ शनिबार ००:००  ८ : ४९ बजे