२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

स्थानीय तहको निर्वाचनः कसरी दिने उम्मेदवारी ?



काठमाडौं ।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

यही वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयनका लागि आयोगले समय दिएको हो ।


यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ।

नेपालको संविधान अनुसार गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य, नगर र उपमहानगर र महानगर कार्यपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिनका लागि निम्न योग्यता चाहिन्छ।


नेपाली नागरिकता
– मनोनयन दर्ता गर्ने मितिसम्ममा २१ वर्ष उमेर पुरा भएको हुनुपर्छ।
– सम्बन्धित पालिकामा मतदाता नामावलीमा नाम भएको हुनुपर्छ। वडा सदस्यका लागि सम्बन्धित वडामा नाम भएको हुनुपर्छ।
– कुनै कानुनले अयोग्य नभएको हुनुपर्छ।

के के कागजात चाहिन्छ ?

– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
– धरौटी राखेको बैंक भौचर वा नगद रसिद
– दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र
– सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
– उम्मेदवारको स्वघोषणा

दलित महिला वडा सदस्यका लागि

– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
– धरौटी राखेको बैंक भौचर वा नगद रसिद
– दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र
– सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
– सम्बन्धित गाउँपालिका, नगरपालिका, वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा।
– उम्मेदवारको स्वघोषणा

उम्मेदवारले राख्नुपर्ने धरौटी

वडा सदस्य- ५०० रूपैयाँ
वडाअध्यक्ष- १००० रूपैयाँ
अध्यक्ष, उपाध्यक्ष-१५०० रूपैयाँ
प्रमुख, उपप्रमुख-१५०० रूपैयाँ
(महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा बिपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशत छुट)

प्रकाशित मिति : ११ बैशाख २०७९ आइतबार ००:००  ९ : ३० बजे