९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

पाल्पामा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित



बुटवल ।

पाल्पामा दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि दुई महिला निर्विरोध निर्वाचित भएका हुन्।

पूर्वखोला गाउँपालिका वडा नं २ जल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नं ५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएको पूर्वखोला गाउँपालिकाका निर्वाचन अधिकृत मधु अर्याल खनालले जानकारी दिइन्।
दुवै उम्मेदवारको एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुवैजना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
पूर्वखोलामा गाउँपालिकाको अध्यक्षमा ४ जना र उपाध्यक्षमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
नेकपा एमालेबाट नुनबहादुर थापा, गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मिनप्रसाद गिरी, मंगोल नेशनल अर्गनाइजेसनका मोहन सिं सारु, जनता समाजवादी नेपालका विपिनकुमार सारुले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

उपाध्यक्षमा नेकपा एमालेबाट भागीरथी भट्टराई र गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विष्णु कुमारी आचार्यले उम्मेदवारी दर्ता गरेका छन्। एमालेका थापा र भट्टराई यसअघि अध्यक्ष र उपाध्यक्ष थिए।

प्रकाशित मिति : १३ बैशाख २०७९ मंगलबार ००:००  ७ : ५४ बजे