४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

सिद्धबाबा सुरुङमार्गको डिजाइनको काम सुरु



बुटवल ।

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबा सुरुङमार्गको डिजाइन तथा सर्वे कार्य सुरु भएको छ ।सडक विभागका प्रवक्ता शिव नेपालले सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भई कम्पनीले सुरुङ निर्माण गर्ने ठाउँको सर्वे तथा डिजाइनको काम सुरु गरेको जानकारी दिनुभयो ।

यो सुरुङमार्गको निर्माण इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन ईपीसी मोडलमा भइरहेको हुनाले सम्झौता अनुसार सर्वे, डिजाइन तथा पूर्वतयारीका लागि नौ महिनाको समय छुट्याइएको छ । सोहीअनुसार निर्माण कम्पनीले अहिले काम सुरु गरेको हो । सर्वे, डिजाइन तथा पूर्वतयारीको काम सम्पन्न भएपछि आगामी आर्थिक वर्षको तेस्रो चौमासिकदेखि सुरुङ खन्ने काम सुरु हुने उनले जानकारी दिए।

निर्माण कम्पनीले पाँच वर्षभित्र सुरुङमार्ग निर्माण गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । सुरुङमार्ग निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीले पाएको छ । कम्पनीले सात अर्ब ३४ करोड २१ लाख चार हजार ७३४ रुपियाँमा ठेक्का पाएको हो । सरकारले आर्थिक वर्ष २०७५ र ७६ को नीति तथा कार्यक्रममा नै यो सुरुङमार्ग निर्माण कार्यलाई समेटेको थियो ।

सो सडकको सिद्धबाबा खण्डमा जाने पहिरोका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुँदै आएको छ । स्वदेशी लगानीमा बन्ने यो सुरुङमार्गका लागि अर्थ मन्त्रालयले २०७६ मङ्सिरमा दस अर्ब १५ करोड रुपियाँको बजेट सुनिश्चित गरिसकेको छ ।

यस्तो हुनेछ सुरुङमार्ग

सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा ढोका रहनेछ । चिडियाखोलाको खोच हुँदै दोभान नजिकै निस्कने यो सुरुङमार्गको दोहोरो सवारीसाधन जाने मिल्ने लम्बाइ एक किलोमिटरभन्दा बढी हुनेछ ।

सुरुङमार्गको प्रत्येक लेन ३।७५ मिटरको हुनेछ । एक मिटर सोल्डर र ड्रेनेज रहनेछ । एउटा मुख भएको सुरुङमार्गमा एउटा लेन प्रवेश र अर्को आगमनका लागि हुनेछ । सुरुङमार्गभित्र आपत्कालीन ठाउँ, सुुरुङको खटप्वाल, विद्युतीय अनुुगमन प्रणालीको व्यवस्था पनि निर्माण गरिनेछ । आकस्मिक अवस्थामा त्यसबाट एम्बुलेन्सजस्ता अत्यावश्यक सवारीसाधन चलाउन सकिनेछ । सुरुङमार्गसँगै पैदल यात्रुुका लागि ‘रक सेट’ पनि निर्माण हुनेछ । गोरखापत्र

प्रकाशित मिति : १४ बैशाख २०७९ बुधबार ००:००  १२ : ०९ बजे