६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

विदेशीले पनि नेपालीले सरह हवाई भाडा तिर्ने वातावरण बनाउनुपर्छ : मन्त्री आले



काठमाण्डौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा विदेशी नागरिकले पनि नेपालीले सरह हवाई भाडा तिर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

आज शुक्रवार पर्यटन पुनरुत्थान कार्यविधि २०७८ ग्रहण गर्दै मन्त्री आलेले यस्तो बताउनुभएको हो । उहाँले नेपाली विदेशमा जाँदा त्यहाँका नागरिक सरह नै भाडा तिर्ने गरेको भन्दै नेपालमा पनि विदेशीलाई नेपाली सरह भाडा दर कायम गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री आलेले नेपालका लागि इजरायलका राजदूत हनान गोदारसँगको भेटमा राजदूत ओदारले भाडा समान नभएको गुनासो गर्नुभएको जानकारी दिनुभयो । मन्त्री आलेले राजदूतसँगको भेटमा अहिले नेपाल कोरोनाको मारमा रहेकाले तत्काल त्यो समस्या सम्बोधन गर्न नसकिने जानकारी गराएको बताउनुभयो ।

मन्त्री आलेले आन्तरिक वायु सेवा कम्पनीहरूलाई टिकट बिक्री गरेअनुसारकै समयमा उडान भर्न पनि निर्देशन दिनुभयो ।

त्यस्तै मन्त्री आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शौचालय व्यवस्थापनका लागि प्रधानमन्त्रीसहित गृह र अर्थ मन्त्रीलाई बारम्बार भन्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । विमानस्थलमा आउने विदेशी पर्यटक शौचालय जाँदा मुख छोपेर जानुपर्ने बाध्यता रहेको बताउनुभयो ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  २ : १६ बजे