५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

‘भाईबाटै खुरापाति हुँदा दुखि छु, जनताको अदालतबाट न्याय पाउँछु’



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका नेत्र गिरीले आफनै भाई विष्णु गिरीसंग चुनावी प्रतिपर्धा गर्दै छन् । आसन्न बैशाख ३० गते हुन थालेको स्थानीय तहको चुनावमा सहोदर दाजुभाईले चुनावी प्रतिस्पर्धा गर्न थालेका हुन् ।

दुवै दाजुभाई एमाले पृष्ठभूमिका नेता हुन् । वाणगंगा नगरपालिका वडा नं. ७ को वडाध्यक्षका प्रमुख दावेदार नेत्र र विष्णु मध्ये एमालेले ०७४ का वडाध्यक्ष समेत रहेका विष्णुलाई पुनः टिकट दियो ।

उक्त टिकट वडा कमिटी र जनभावना विपरित भएको भन्दै दर्जनौं समर्थकले आपत्ति जनाए । दलबलसहित गएको बैशाख १२ गते निर्वाचन कार्यालय पुगी नेत्रले उम्मेद्वारी दर्ता गराए ।

उता विष्णुले पनि एमाले नेताको साथमा मनोनयन दर्ता गराएर चुनावी मैदानमा होमिएका छन् । दुवै दाजुभाई भित्रको राजनीति उतारचढावले वडा नं. ७ को निर्वाचन रोचक हुने आंकलन गरिएको छ । ०४३ सालमै जनपक्षिय उम्मेद्वार बनेका नेत्र गिरी एमाले कपिलवस्तुकै लोकप्रिय नेता हुन् । ०५९ र ०५४ सालको साविक मोतिपुर गाविस (हालको वडा नं. ७ र ८) को गाविस अध्यक्ष भएर जनताको सेवा गरेका नेत्र यस क्षेत्रका लोकप्रिय नेता हुन् ।

भूमिगतकाल देखि नै राजनीतिमा सक्रिय नेत्रले कुनै पेशा र व्यवसाय गरेनन् । जीवनले बुढ्यौलीको रुपमा लगि सकेका नेत्रको सिंगो जीवन एमालेको राजनीतिमा वित्यो । पुनः वडाबासीको चाहनाले यो निर्वाचनमा वडाध्यक्ष बन्ने सुरसार गरेका नेत्रलाई अन्तिममा पार्टीले टिकट दिएन् । त्यसको विद्रोह स्वरुप नेत्रले आफ्नो राजनीति इतिहासलाई नै दाउमा राखेर जनताको अदालतमा उभिएको घोषणा गरेका छन् ।

जीवनभर शिक्षण पेशा मार्फत एमालेको राजनीति गरेका विष्णु ०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष भएका हुन् । शिक्षण पेशाबाट अवकाश पाएका विष्णु वडा नं. ७ मा लोकप्रिय छन् । आफ्नै दाजु नेत्रको लामो राजनीति सक्रियताले नै विष्णुलाई राजनीति उचाईमा मलजल गरेको हो । यद्यपि वडाध्यक्ष हुँदा विष्णुले उत्कृष्ट काम पनि गरेका थिए ।

विष्णु ०७४ को वडाध्यक्ष हुँदा नेत्र वडा सदस्य थिए । जिल्ला समन्वय समितिको प्रमुख बनाउने गरी नेत्र वडा सदस्य बनेका थिए । तर, एमालेले स्थानीय तहको प्रमुख, उप-प्रमुखमा धेरै स्थान जित्न नसक्दा नेत्र समन्वय समितिको प्रमुखमा चुनाव लडेर पराजित बने ।

आसन्न निर्वाचनमा पुनः वडाध्यक्ष बन्ने चाहना राखेका नेत्रले आफुले पाउने टिकटमा भाई विष्णु र नेताहरुले खुरापाती गरेको बताउँछन् । ‘घरायसी छलफलमा भाईले आफुलाई वडाध्यक्षमा समर्थन गर्ने सहमति भएको थियो, नेत्र भन्छन्, ‘पछि त म प्रति नै भाईले खुरापाति काम गर्‍यो ।’

७ दाजुभाई रहेका गिरी परिवार भित्र ८० बर्षीय आमा हुनुहुन्छ । सबैजसो दाजुभाई एमालेको राजनीतिमा सक्रिय छन् । ७ भाई मध्ये आमासहित ५ भाईले नेत्रलाई समर्थन गर्दा विष्णुको पक्षमा कोही छैनन् । विष्णुका दाजुभाईले नै उनले नेत्र प्रति खुरापति गरेको आरोप लगाउँछन् ।

दुईभाईको वडाध्यक्षमा आकांक्षा भएपछि सबै दाजुभाई घर सल्लाहमा बसेका थिए । उक्त छलफलमा विष्णुले यो पालि नेत्रलाई समर्थन गर्ने सहमति भएको र त्यसलाई विष्णुबाटै उल्लङ्घन भएको नेत्र पक्षिय आफन्तको आरोप छ ।

आर्थिक रुपमा विष्णु भन्दा कमजोर रहेका नेत्र आर्थिक कारणले नै आफुले टिकट नपाएको गुनासो गर्छन् । ‘म संग पैसा छैन्, त्यसैले मेरो राजनीति सकाउने कोसिस भयो, दुखि हुँदै आफ्नै सहोदर भाईसंग चुनावी प्रतिस्पर्धा गरेका नेत्रले भने, ‘पैसा नभए पनि अपार जन समर्थन मलाई छ । म यो निर्वाचनको जनताको अदालतमा उभिन चाहन्छु, न्यायको फैसला यहाँबाट हुन्छ भन्ने आशा गरेको छु ।’

नेत्रले वडामा आफुसहित पाँचै जनाको टिम बनाएका छन् । जसपाको छाता चुनाव चिह्न लिएर लडेका नेत्रलाई वाणगंगा भित्रका चार दलीय गठबन्धनले सघाउने घोषणा गरेका छन् । वडा नं. ७ मा दुई दाजुभाईसंगै कांग्रेसका कुमार खड्काको मुख्य प्रतिष्पर्धा छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९ शुक्रबार ००:००  ४ : २२ बजे