१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

लुम्बिनी प्रदेश सभा बैठक : सत्तापक्षकै प्रदेशसभा सदस्यद्धारा सरकारलाई ध्यानाकर्षण



रुपन्देही ।

लुम्बिनी प्रदेश सभाको बुधबारको बैठकमा प्रदेशसभा सदस्यले लामो समयपछि जनसरोकारका विषय उठाएका छन् । बैठकमा शून्य समय र विशेष समय लिएर बोल्ने सदस्यले महँगी बढेको र विकास निर्माण ठप्प हुँदा नागरिक समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकको शून्य समयमा बोल्दै कपिलवस्तुका प्रदेशसभा सदस्य विष्णु पन्थीले कपिलवस्तुको वाणगंगा नगरपालिका–२ को भक्तौली भगाहा खोलाको पुल भत्किएका महिनौं बित्दासमेत प्रदेश सरकारको बनाउने चासो नहुँदा सर्वसाधरण खोलामा जोखिमपूर्ण आवतजावत गर्नु परेको बताए । उनले तत्काल पुनस्निर्माण भएर अब सुरु हुने वर्षाका समयमा धनजनको क्षति हुने जोखिम रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यस्तै माओवादीकी प्रदेशसभा सदस्य दीपा विकले लामो समयदेखि भइरहेको अस्वभाविक मूल्यवृद्धि नियन्त्रणमा सरकार गम्भीर नभएको बताइन् । उनले ग्यास, डिजेलको अत्यधिक मूल्यवृद्धिले जनताको दैनिक चल्न छोडेको बताइन् । ‘अहिले श्रमजीवी जनताको चुलो बल्न छोडेको छ, मान्छे भोकभोकै बस्न बाध्य छन्,’ उनले भनिन्, ‘तर, सरकार झन् पछि झन् पीडा थप्दै गएको छ ।’

संसद् बैठकको विशेष समयमा बोल्दै जनमोर्चाकी तारा जिसीले सरकार भ्रष्टाचार, माफियातन्त्र र सेटिङका आधारमा चल्न थालेको बताइन् । सरकार नै माफियाको सेटिङबाट मात्र चल्न थालेपछि जनताले सरकारको अनुभूति गर्न नपाएको उनको भनाई थियो । ‘अहिले प्रदेश सरकारले १ लाखका बजेट वितरण गर्दै छ,’ उनले भनिन्, ‘त्यसले लुम्बिनी प्रदेशमा गठबन्धनको सरकार हो कि टोल विकास संस्थाको प्रतिनिधि भन्ने प्रश्न जनताले गर्न थालेका छन् ।’ विशेष समयमा माओवादी केन्द्रकै इन्द्रप्रसाद खरेल, तुलाराम घर्ती मगर, एमालेका कुलप्रसाद केसीले बोलेका थिए । उनीहरुले पनि सरकारले महंगी नियन्त्रण गर्न नसकेको, विकास योजना कटौती गर्दा जनतामा निराशा बढेको विकास निर्माणको गति सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

बुधबारको बैठकमा प्रदेशका शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री बसिउद्धिन खाँले ‘प्रदेश खेलकुद विकास पहिलो संशोधन अध्यादेश २०७८’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रतिपक्ष मौन बसेपछि अध्यादेश सर्वसम्मतिले पारित भएको छ । त्यस्तै बैठकले प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिका सदस्यको पनि हेरफेर गरेको छ । परामर्श समितिमा एमालेका प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, नारायणप्रसाद आचार्य, सरस्वती गौतम, कांग्रेसका निर्मला क्षेत्री, रमा अर्याल, माओवादीका तुलाराम घर्ती, पार्वती पुन गहतराज, जसपाकी निर्मला मुडभरी भट्टराई र जनमोर्चाकी तारा जिसीलाई राखिएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले प्रतिपक्षसहितका दलहरुको सुझाव एवं सिफारिसअनुसार कार्यव्यवस्था परामर्श समितिको पुनर्गठन गरी सदस्य मनोनीत गरिएको जानकारी सभामा गराएका थिए । प्रदेशसभाको अर्को बैठक शुक्रबार बस्ने छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०७९ बुधबार ००:००  ५ : २६ बजे