५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कृषि बीमा लागू गर्ने योजनामा छौंः नगर प्रमुख श्रेष्ठ



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले किसानका लागि कृषि बीमा लागू गर्ने योजनामा रहेको जानकारी दिनुभएको छ ।

विहीबार गोरुसिंगेमा मिडिया अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले किसानको बालीनाली नष्ट देखि व्यवासायिक किसानलाई बेला बेला आउने विपत्तीले मारमा पार्ने गरेको भन्दै त्यसलाई राहत दिने गरि कृषि बीमा लागू गर्न लागेको बताउनुभयो ।

कृषि बीमाले किसान लाभान्वित हुने उहाँको भनाई छ । पछिल्लो समय नगरमा व्यवसायिक रुपमा कृषि पेशा अंगाल्ने किसान बढिरहेको भन्दै यसले सिंगो नगर कृषिमा आत्मनिर्भर हुने संकेत मिलेको उहाँले तर्क गर्नुभयो ।

नगरको वडा नं. १० लाई तरकारी पकेट क्षेत्रमा रुपमा अगाडी बढाइएको पनि उहाँले जानकारी दिनुभयो ।

यहाँ उत्पादित तरकारी कपिलवस्तुका विभिन्न बजारसंगै बुटवल, दाङ, अर्घाखाँची लगायतका स्थानमा जाने गरेको भन्दै बजारकरणमा अझै नगरले सक्दो सहयोग गर्ने उहाँले जनाउनुभयो ।

किसानलाई लक्षित गरि नगरले साना सिंचाई कार्यक्रम, विभिन्न अनुदानका कृषियन्त्र वितरण गर्दै आएको पनि उहाँले बताउनुभयो ।

दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित नगर प्रमुख श्रेष्ठले पत्रकारलाई सत्यमा टेकेर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । पीत पत्रकारिताले स्वयम पत्रकारको मर्यादा खस्किने भन्दै यसमा सजग रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति : १७ असार २०७९ शुक्रबार ००:००  ८ : २८ बजे