४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

गिरिजाप्रसाद कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू



काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । शनिवार स्व। नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् ।

उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व। नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी।पी। कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए । उनले भने, ‘अब एउटा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरूको नाममा छन् । तर जीपी कोइराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतीक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रूपमा म आफू पनि सहयोग गर्छु । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकार जसमा पनि मन्त्रीमण्डलको सदस्य थिएँ । त्यसबेला हामीले पहिलो विश्व विद्यालय काठमाडौँ विश्व विद्यालय खोलेका हौँ । त्यसपछिको एउटै उद्देश्य थियो, शिक्षामा अब प्रतिस्पर्धा आवश्यक छ । शिक्षा क्षेत्रको प्रतिस्पर्धाका कारणले आज इन्जिनियरिङ र मेडिकल कलेज कति वटा छन् । व्यवस्थापनका क्षेत्रमा एक सय एक प्रतिस्पर्धा छ । यो नीति नेपाली काँग्रेसको थियो । हामीले बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा रिजल्टमा देखाइरहेका छन् । त्यसैले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट आदर्श र उद्देश्य राखेर हामीले स्थापना गर्ने विश्व विद्यालय अवश्य पनि हामी सबैका निमित्त गौरवको विषय हुन्छ ।’

मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी।पी। कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १८ असार २०७९ शनिबार ००:००  १२ : १३ बजे