३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025

सालझण्डी प्रहरीद्धारा नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी गर्ने व्यक्ति पक्राउ



मायादेवी अनलाइन, बाणगंगा ।
रुपन्देहीको इलाका प्रहरी कार्यालय सालझण्डीले नाबालकको प्रयोग गराएर सुनको सिक्री चोरी गर्ने व्यक्तिलाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली घर भई हाल जिल्ला रुपन्देही कञ्चन गाउँपालिका वडा नं. ४ हर्नाचौ बस्ने ३३ बर्षीय विजय राय नट रहेका छन् ।

उनले १२ बर्षीय नाबालकलाई सुनको सिक्री चोर्ने गर्ने तरिका सिकाएर सुन चोर्न पठाएको खुल्न आएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

असार २६ गते कञ्चन गाउँपालिका वडा नं.४ बनकसिया निवासी ७० बर्षीय चमेली थापा किनमेलका लागि हाटबजारमा आएको बेला पछाडीबाट सुनको सिक्री चोरी गरि नाबालक फरार भएका थिए ।

३ तोला ४० लाल (३९.७०० ग्राम) बराबरको सुनको सिक्री २ जना साना साना बालकले सुईको नपाउने गरी चोरी गरेर लगेपछि चमेली थापाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी पश्चात प्रहरीले उक्त चोरी गर्ने ती बालकहरुलाई खोजतलासी गर्दै जाने क्रममा असार २७ गते कञ्चन वडा नं.४ बनकसिया डिहोमा लुकि छिपी हिडिँरहेको अवस्थामा पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये १२ बर्षीय बालकको साथबाट उक्त सुनको सिक्री बराबद भएको सालझण्डी प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेका ती बालकले घटनाको बारेमा बताए पछि प्रहरीले नटलाई पक्राउ गरेको सालझण्डी प्रहरी प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए । पक्राउ परेकालाई चोरी सम्बन्धी कसुरमा म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०७९ बिहिबार ००:००  ६ : २२ बजे