२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि वर्षा



काठमाडौं ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बिहानैदेखि पानी परिरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

हाल मनसुनको न्युन चापिय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको विभागले जनाएको छ। अहिले बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

पहाडी भू-भागका थोरै स्थानहरुमा र अन्य भू-भागका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले आगामी २४ घण्टा पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ।

साथै, नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन विभागको अनुरोध छ।

प्रकाशित मिति : २ श्रावण २०७९ सोमबार ००:००  ६ : २६ बजे