२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

देशभरको मनसुन सक्रिय, अबको ३ दिनसम्म पानी पर्ने सम्भावना



काठमाण्डौ ।

मनसुन फेरि सक्रिय हुन थालेको छ । मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

आज मङ्गलवार दिउँसोदेखि नै काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्न थालिसकेको छ । अबको तीन दिनसम्म नै मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् । लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी, पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

पर्सि बिहीवार दिउँसोदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा केही माथि अर्थात् नेपालतिर सरेकाले मनसुन फेरि सक्रिय भएको हो । हिजो र अस्ति मनसुनी न्यून चापीय रेखा भारततर्फ रहेकाले नेपालमा पानी पर्न सकेको थिएन । मौसम बदली भएसँगै गर्मी कम भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  ५ : २३ बजे