१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

सामुदायिक बन महासंघ कपिलवस्तुले बन नियमावलीमा आगो लगायो



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा सामुदायिक बन उपभोक्ता महासंघले बन नियमावली २०७९ लाई आगो लगाएको छ ।

मंगलबार बाणगंगाको एक होटलमा आयोजित कार्यक्रम पश्चात महासंघका केन्द्रीय महासचिव ठाकुर भण्डारीको उपस्थितिमा बन नियमावली २०७९ मा राखिएका प्रावधान माथि आपत्ति जनाउँदै नियमावलीमा आगो लगाएको हो ।

तत्कालिन केपी ओली सरकारको पालामा बैज्ञानिक बन व्यवस्थापन कार्यविधिलाई खारेज गरिएको थियो ।

उक्त खारेजलाई सामुदायिक बन उपभोक्ता महासंघले स्वागत गरेको थियो ।

ओली सरकारको पालामा भएको बैज्ञानिक बन व्यवस्थापन कार्यविधि खारेज पश्चात शेर बहादुर देउवा सरकारले हालै मात्र बन नियमावली २०७९ ल्याएको छ ।

सामुदायिक बन महासंघले भन्दै आएको दिगो बन व्यवस्थापन सम्बन्धि कार्यक्रम राखिएको छ । यद्यपि अहिले महासंघले उक्त दिगो बन व्यवस्थापनमा सामुदायिक बनको अधिकार कटौती गरिएको भन्दै विरोध गर्दै आएको छ ।

नियमावली जलाउने कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका महासचिव भण्डारीले बन नियमावली २०७९ ले समुदायिक बनको हक अधिकार, महिला आरक्षण तथा आदिवासी जनजातीको अधिकार कटौती गरेको बताए । त्यसको लागि यसको खारेज गर्नुपर्नेमा उनले जोड दिए ।

राज्यका महत्वपूर्ण अंगका रुपमा सामुदायिक बनको अधिकार काम कर्तव्य खोस्दै समुदायको हित विपरित केही ठेकेदार र बन माफियाको पक्षमा नियमावली आएको भन्दै महासंघ यसको निरन्तर विरोधमा उत्रिएको उनले बताए ।

महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईले तत्काल नियमावली सच्याउनुपर्ने बताउँदै सबैलाई आन्दोलनमा एक्यवद्धता जनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०७९ मंगलबार ००:००  ७ : ४९ बजे