७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

दाङमा बाटो खन्दा भेटिएका सिक्कालाई काठमाडौं पठाइयो



दाङ ।
दाङको तुलसीपुरमा बाटो खन्दा भेटिएका प्राचिन सिक्का काठमाडौं लगिएको छ।

झन्डै दुई हप्ता अगाडि पुरातत्व विभागका कर्मचारी तुलसीपुर आएर सिक्का बुझेर काठमाडौं लगेको एक प्रहरी अधिकारीले जानकारी दिए। तुलसीपुर उपमहानगरपालिका(४ मा जेठ ३० गते दिउँसो बाटोको ट्र्याक खन्नेक्रममा सिक्का फेला परेको थियो।

फेला परेको सिक्काको विवरणसहित बुझेको पत्र दिएर पुरातत्वका कर्मचारी काठमाडौं फर्किएका थिए।

‘झन्डै दुई हप्ता अगाडि पुरातत्व विभागका कर्मचारी आएर फेला परेका सिक्काहरू लिएर काठमाडौं गइसक्नुभयो,’ ती प्रहरी अधिकारीले भने, ‘मानदेवको पाला भन्दा पहिलेका सिक्काहरूको विशेष महत्व हुने र यी सिक्काहरू चाँदीको मूल्य जतिकै छ भन्ने उहाँहरूको भनाई थियो।’

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले पनि केही दिन पहिले पुरात्व विभागका कर्मचारी आएर सिक्का लिएर गइसकेको बताए।

तुलसीपुर–४ का स्थानीयले भने आफूहरूलाई जानकारी नै नदिई सुटुक्क काठमाडौं पठाएको भन्दै गुनासो गरेका छन्।

‘कम्तिमा पत्रकार वा एक दुई गाउँका जिम्मेवार व्यक्तिको उपस्थितिमा हाम्रो ठाउँमा बाटो खन्दा भेटिएका सिक्का हस्तान्तरण गरेको भए हाम्रो पनि चित्त बुझ्थ्यो,’ उनले भने, ‘सुटुक्क कुनै सूचना नै नदिएर सिक्का काठमाडौं पठाउँदा हाम्रो मनमा आशंका उब्जिनु स्वभाविक हो।’

जेठ ३० गते दिउँसो डोजर चालकले कसौडीमा गाडेर राखेको अवस्थामा पाँच सय ३७ थान सिक्काहरू फेला परेका थिए। दुई डोजर चालक बीच भागबन्डा निमल्दा कुरा सर्वाजनिक भएको थियो।

तुलसीपुर(१५ का २५ वर्षीय सुवासचन्द्र चौधरीले घरमा लगेर राखेका सिक्का असार ४ गते प्रहरीले फेला पारी ल्याएको थियो।

भेटिएका सिक्का मध्ये चार सय ६१ वटामा श्री ३ लेखिएको छ। ७३ वटा भारतीय छन्। ती सिक्काहरू भारतमा बेलायती सरकार भएको बेलाका हुन्।

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  ८ : ४० बजे