३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

कृष्णप्रसाद भट्टराईलाई चुनाव हराउँदा देशको दुरावस्था भएको होः नेता सिंह



काठमाडौँ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएकै कारण देश यो दुरावस्थामा पुगेको बताएका छन् ।

शुक्रबार बिहान काठमाडौँ वडा नम्बर १० कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले मूल्य मान्यताको राजनीति अन्त्य भएको र पावर बेस राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निराशा बढेको उल्लेख गरे ।

२०४७ सालमा संविधान जारी गरेपछि भएको निर्वाचनमा भट्टराई पराजित भएका थिए । त्यसबेला उनलाई कांग्रेसले नै अन्तर्घात गरेर हराएको थियो ।

‘२०४६ पछिको राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज यो दुरावस्थामा पुगेको हो,’ उनले भने । अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेकाले मुलुकका सामु गम्भीर चुनौती देखापरिरहेको सिंहले बताए ।

राजनीतिक दलहरु विधि पद्धतिभन्दा आफ्नो स्वार्थ उन्मुख भएकाले झन् चुनौती थपिएको भन्दै उनले राजनीतिक दलहरुका कार्यशैली सच्चिनुपर्नेमा जोड दिए। प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९ शुक्रबार ००:००  १२ : १५ बजे