५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कोहलपुरका असई चौलागाईविरुद्ध बलात्कार मुद्दा दर्ता



नेपालगन्ज ।
हिरासतमा रहेकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत हिरासत व्यवस्थापन अधिकृतसमेत रहेका प्रहरी सहायक निरीक्षक प्रविण चौलागाईविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ ।

उनीविरुद्ध शनिबार जबरजस्ती करणीको मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले असई चौलागाइँलाई हिरासतमा लिएर विभागीय कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ ।

बाँकेका प्रहरी प्रवक्ता मधुसुधन न्यौपानेले आज जबरजस्ती करणीको मुद्दा दर्ता भएको र अनुसन्धान सुरु भएको नेपाल प्रेसलाई बताए । ‘हिजो जाहेरी आएको थियो, आज मुद्दा दर्ता भएको छ, यसैलाई आधार मानेर हामीले अनुसन्धान सुरु गरिसकेका छौं ।‘ प्रवक्ता न्यौपानेले भने ।

असई चौलागाईले हिरासतमा रहेकी ती महिलालाई मध्यराति आफू सुत्ने कोठामा लिएर गएको पुष्टि भएपछि पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । चौलागाईले बहुविवाहको मुद्दामा थुनामा रहेकी महिलालाई आवश्यक सोधपुछका लागि भन्दै शुक्रबार मध्यराति दुई बजे हिरासतको माथिल्लो तलामा पुर्‍याएका थिए ।

असई चौलागाईले आफू सुत्ने कोठामा लगेर महिलालाई सामान्य सोधपुछ गर्नुका साथै हातपात पनि गरेको आरोप लागेको छ । ती महिला बहुविवाह मुद्दामा साउन ११ गते पक्राउ परेकी थिइन् ।

असई चौलागाईंले हिरासतमा भएकी महिलालाई मध्यरातमा निकाल्न आदेशपछि हिरासतमा बसेका अरूले हो–हल्ला गरेका थिए । उनले उक्त महिलालाई १० मिनेटसम्म कोठामा राखेको बताइएको छ । बर्दिया घर भई विगत ८ महिनादेखि चौलागाई इप्रका कोहलपुरको मुद्दा शाखामा कार्यरत छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७९ शनिबार ००:००  ६ : ०३ बजे