५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पैदलयात्री बस्नेतलाई कपिलवस्तुको बाणगंगामा स्वागत



मायादेवी अनलाइन, बाणगंगा ।
संघीयता बाहेकको हिन्दु राष्ट्र माग गर्दै बाँकेबाट पैदलयात्रा थालेका झनक बहादुर बस्नेत कपिलवस्तु आइपुगेका छन् ।

गत साउन ४ गते देखि बस्नेतले बाँकेको कोहलपुर-सुर्खेतको बबई पुलबाट पैदलयात्रा आरम्भ गरेका हुन् ।

काठमाडौंसम्म पैदलयात्रामा निस्किएका बस्नेतको माग संघीयता बीनाको हिन्दु राष्ट्र हुनुपर्ने छ ।

संघीयता देश र जनताको हितमा नभएको भन्दै यसको खारेजीको लागि आफूले पैदलयात्रा मार्फत सरकारलाई दबाब बढाउन लागेको उनले बताए ।

‘संघीयता देश र जनताको हितमा छैन् । हिन्दु राष्ट्र आजको आवश्यकता हो उनले भने,’- ‘शक्तिकेन्द्रको स्वार्थमा ल्याइएको संघीयता र धर्म निरपेक्षताको विरोध स्वरुप सरकारको कानसम्म पुगोस् भनेर पैदलयात्रा थालेको हुँ ।’

नेपाली कांग्रेस समर्थित बस्नेतले पार्टीका नेता स्वर्गीय खुमबहादुर खड्काको अभियानलाई सार्थक तुल्याउन पनि पैदलयात्रा थालेको बताए । स्वर्गीय नेता खड्काले पछिल्लो समय पार्टी भित्र हिन्दु राष्ट्र हुनुपर्ने अभियानको नेतृत्व गरेका थिए ।

दाङ जिल्ला घर भएका बस्नेतले नेता खड्काको एजेण्डा उठाउँदै यस्तो अभियान थालेको जनाए । उनले काठमाडौं पुगेर पार्टी नेतृत्वलाई दबाब दिने र पशुपतिमा गएर अभियानको अन्त्य गर्ने योजना रहेको सुनाए ।

बस्नेतलाई बाणगंगाको बैरियामा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, पूर्व अध्यक्ष उमानाथ पौडेल, वडा नं. ४ का पूर्व वडाध्यक्ष गणेश क्षेत्री, उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेल, कोषाध्यक्ष विनोद पन्त, नेपाली कांग्रेसका बाणगंगा नगर सचिव सूर्य बराल, मायादेवी मिडिया ग्रुपका अध्यक्ष हरि अधिकारी, रेडियो मायादेवीका निर्देशक दिपक अनुरागी, बैखरी डटकमका सन्चालक अशोक पौडेल, कपिलवस्तु हाट बजार व्यवसायी संघका अध्यक्ष पवित्रा सोमै, पत्रकार बाबुराम रायमाझी लगायतले स्वागत गर्दै आगामी यात्राको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७९ शनिबार ००:००  ६ : ४८ बजे