४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

संसदीय विशेष समितिको प्रतिवेदन मान्य छैनः केपी ओली



काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्य नहुने बताएका छन् । बहुमत र अल्पमतका आधारमा प्रतिवेदन ल्याइएको भन्दै उनले प्रतिवेदन मान्य नहुने बताए ।

समितिले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको नपाइएको प्रतिवेदन सभामुखलाई बुझाएको थियो । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुनेगरी समिति गठन भएको आरोप लगाए ।

एघार सदस्यीय संसदीय समितिमा चारजना एमालेका सांसद र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद थिए ।

संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको थियो ।

“करका दर निधारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन । सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन,” प्रतिवेदनमा उल्लेख छ, “करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरूको नियमित अध्ययन संसदको सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने देखिएन ।”

प्रकाशित मिति : १५ श्रावण २०७९ आइतबार ००:००  ६ : ०५ बजे