२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025

ताइवान ओर्लिइन अमेरिकी सभामुख, चीन क्रुद्ध



काठमाडौँ ।
सैन्य कारबाही गर्ने बेइजिङको चेतावनीका बाबजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् ।

चीनको चर्को दबाबका बीच अघोषित भ्रमणमा पेलोसी मंगलबार राति ताइवानको सोङसान विमानस्थलमा ओर्लिएकी हुन् ।

चिनियाँ सेनाको अवरोध छिचोल्न मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन् ।

१९९७ यता यति उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो । अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन् ।

पेलोसीले बुधबार ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ । पेलोसीको भ्रमणबाट आक्रोशित चीनले मंगलबार रातिदेखि नै ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा गरेको छ ।

यता चिनियाँ जनमुक्ति सेनाले ताइवानवरिपरि ६ स्थानमा सैन्य अभ्यास गर्ने घोषणा गरेको छ ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरुप सो सैन्य अभ्यास गर्न लागिएको हो ।

अगस्ट ४ देखि ६ सम्म सो अभ्यास गरिने चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पेलोसीको भ्रमणलाई चीनले अत्यन्त खतरनाक भनेको छ ।यो भ्रमणले विश्वका दुई सबैभन्दा ठूला शक्तिबीच तनाव चुल्याउने आशंका गरिएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७९ बुधबार ००:००  ६ : ०२ बजे