२७ भाद्र २०८१, बिहिबार | Fri Sep 13 2024

कृष्णनगरमा एमाले कार्यकर्ताको कुटाईबाट घाइते भएका खाँको निधन



मायादेवी अनलाइन, कृष्णनगर ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले कार्यकर्ताको कुटाईबाट गम्भीर घाइते भएका मोहम्मद अरमान खाँको निधन भएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं. १० खैरा गाउँका मोहम्मद अरमान खाँको सोमबार निधन भएको नेकपा (एकीकृत समाजवादी) कृष्णनगर नगर कमिटीका अध्यक्ष इन्तेखाव अहमद खाँले जानकारी दिए ।

बैशाख ३० गतेको स्थानीय निर्वाचनमा खाँ एकीकृत समाजवादीबाट पार्टी प्रतिनिधि थिए । एमाले कार्यकर्ताले भोटिङ कार्ड बिना नै मतदान गर्न मतदानस्थलमा आफ्ना मान्छे प्रवेश गराए पछि खाँले उक्त क्रियाकलाप आफ्नो मोबाइलबाट खिचेका थिए ।

उक्त भिडिओको विषयलाई लिएर दुबै पक्ष बीच झगडा हुँदा घटनाले हिंसाको रुप लिएको बताइएको छ ।

१० जना एमाले कार्यकर्ताले खाँलाई घटना घट्ने दिन राति घरमा पुगेर निर्घात कुटपिट गरेका थिए ।

कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका खाँलाई उपचारका लागि बुटवलको चौराह अस्पतालमा रिफर गरिएको थियो ।

खाँलाई झण्डै २० दिन जति कोमामा राखेर उपचार गरेपनि स्थिति सामान्य नभए पछि चिकित्सकले घरमा पठाएका थिए । घरमै घाइते अवस्थामा रहेका खाँको अन्ततः निधन भएको हो ।

खाँको कुटपिटमा संलग्न १० जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ।

जसमध्ये तीन जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो ।

सोमबार मात्रै आरोपित मध्ये थप दुई जना पक्राउ परेका कपिलवस्तु प्रहरीका प्रहरी उपरीक्षक तथा प्रवक्ता जेसी शाहले मायादेवी अनलाइनलाई बताए ।

बाँकी ५ जना आरोपित फरार रहेका छन् । सुरुवातमा पक्राउ परेका तीन जनालाई जिल्ला अदालत कपिलवस्तुले ८ लाख धरौटीमा रिहा गरेको वडा नं. १० का निवर्तमान वडाध्यक्ष अब्दुल मोविन खाँले जानकारी दिए ।

मृतकका आफन्त समेत रहेका मोविन खाँले कुटपिटमा संलग्न विरुद्ध कानुन अनुसार कारबाहीको माग गरेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९ सोमबार ००:००  ७ : २४ बजे