११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

सञ्चालनमा आयो बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी



मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला सदरमुकाम तौलिहवाको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुनः सञ्चालन गरिएको छ। ढाई बर्षदेखि बन्द रहेको सहकारीले मंगलबारबाट फेरि आफ्नो सेवा शुभारम्भ गरेको हो।

रकम अपचलनका कारण बन्द रहेको सहकारीको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले रिबन काटेर सेवा शुभारम्भ गरेका थिए।

सो अवसरमा उनले सहकारीले सेवा शुभारम्भ गरेकोमा बधाई दिँदै ओरालो लागेको सहकारीको प्रगतिको कामना गरे। ‘जिल्ला कै पुरानो सहकारीमा रकम अपचलन भइ बन्द हुँदा जिल्ला कै बेइज्जती भएको थियो’ उनले भने ‘बचतकर्ताहरुले रकम निकाल्न नपाउँदा साह्रै दुःख पाएका छन्।’

उनले सहकारीको अवस्था सुधार गर्न नगरपालिकाको साथ रहेको भन्दै यो नयाँ सञ्चालक समितिले समस्या समाधान गर्न ठोस प्रयास गर्नुपर्ने बताए।

अदालतको आदेश पछि विशेष साधारणसभाले राजुप्रसाद अर्यालको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरेको थियो।

दुई वर्ष ७ महिना देखि अदालतमा चलेको मुद्दाका कारण बन्द भएर अन्योलमा रहेको सहकारीको सेवा पुनः सुरु भएको सहकारीका अध्यक्ष राजुप्रसाद अर्यालले बताए। उनले पहिलो चरणमा ऋणीहरुसँग सावा र ब्याज असुल्ने प्रकृया थालिने बताए। बचतकर्ताहरुको पैसा दशै वा तिहार पछि किस्ताबन्दीमा फिर्ता गरिने उनले बताए।

आठ हजार २ सय बचतकर्ताको झण्डै १९ करोड बचत र १० करोड बढी ऋण प्रवाह भएको अर्यालले बताए। प्रारम्भिक अनुसन्धानका आधारमा ११ सहकारीमा ११ करोड ९९ लाख रकम अपचलन भएको छ। सहकारीको विभिन्न १७ वटा बैंकमा ५१ लाख रकम रहेका छन्। चार वटा खाता बाहेकका अन्य बैंकमा रहेको खाताहरु बन्द गर्ने निर्णय गरिएको अर्यालले बताए।

अदालतले सो मुद्दाको फैसलामा १५ बुँदे निर्णय निर्देशिका जारी गरी विशेष साधारणसभा गरी सहकारी पुनः सञ्चालन गर्न आदेश दिएको थियो। सहकारीको कागजात र विवरणमा ५ सय १४ जना ऋणीहरुसँग १० करोड हाराहारी साँवा र ब्याज रकम असुली गर्न बाँकी रहेको देखिएको तिवारीले जानकारी दिए।

ऋणको साँवा र ब्याज असुली कार्यसँगै भदौ १ गतेबाट सबै बचतकर्ताको खाता प्रमाणीकरण कार्य सुरु गर्ने समितीको योजना छ। बचतकर्ताको बचतको सावा ब्याज रकम भुक्तानी गर्नका लागि अदालतको निर्णय निर्देशन अनुसार नीति निर्माणका लागि ३ सदस्यीय समिति गठन गरिएको छ।

साउन २ गतेको बैठकको निणर्य अनुसार २१ दिनभित्र निति निर्माण गर्नका लागि लेखा समितिका संयोजक रबिन्द्रनाथ ठाकुरको संयोजकत्वमा कपिलवस्तु नगरपालिकाका सहकारी शाखाका कर्मचारी नारायण रेग्मी र सहकारीका सदस्य रामेन्द्र सिंह रावल सदस्य रहेको समिति गठन भएको हो।

समितिले तोकिएको समयमै निति तयार पारी समितीमा बुझाउने छ। सहकारीको हिसाब निक्र्यौल गर्न समिति र कर्मचारी निरन्तर खटिएर काम गरेको अर्यालले बताए। रकम अपचलनमा ५३ जनाविरुद्ध मुद्दा चलेको थियो। जसमा ४५ जनाले सफाई पाएका छन् भने ५ जनालाई कसुरदार ठहराइएको छ।

तीन जना विदेश भएकाहरुको मुद्दा भने मुल्तबीमा राखिएको छ। सहकारीका कर्मचारीहरु राजेश कुमार कान्दु, अविनाश देव पाण्डे र निलाफचन्द देव पाण्डेयलाई पाँच पाँच वर्ष कैद र बचत संकलनकर्ता श्रवणकुमार गुप्ता र सुन्दर केशव गुप्तालाई जनही तीन तीन वर्ष कैदको फैसला गरेको छ।

प्रकाशित मिति : २३ श्रावण २०७९ सोमबार ००:००  ८ : १७ बजे