३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

छाडा चौपाया व्यवस्थापनका लागि जुटे कपिलवस्तुका सरोकारवाला



मायादेवी अनलाइन, बाणगंगा ।
कपिलवस्तुमा चुनौति बन्दै गएको छाडा पशु चौपायाको व्यवस्थापनका लागि पहल थालिएको छ । कपिलवस्तु र बुद्धभूमि नगरपालिका, स्थानीय प्रशासन, जिल्ला समन्वय समितिले छाडा चौपाया व्यवस्थापनका लागि संयुक्त पहल थालेका हुन् । छाडा चौपाया व्यवस्थापन गर्न उनीहरु यसको समाधानका लागि छलफल गरी गौशाला निर्माण प्रकृया अगाडि बढाएका छन् ।

गौशाला निर्माणका लागि बुधबार कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल, बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, प्रजिअ धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत, डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख दधिराम कंडेल, बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी लगायतका टोलीले बुद्धभूमि नगरपालिका–९ स्थित गब्दहामा पुगेर स्थलगत अनुगमन र निरिक्षण गरेका छन्।

गब्दहाको बझिनिया भन्ने राष्ट्रिय वन क्षेत्र भित्र १ सय ९५ हेक्टर क्षेत्र कान्जी हाउस निर्माणका लागि उपयुक्तस्थल हुने टोलीले ठहर गरेको थियो । गाई, गोरुलाई राख्न बझिनिया वन भित्र खालि स्थानमा बुद्धभूमि नगरपालिकाको सहयोगमा टीनको ठूलो सेड समेत निर्माण भइसकेको छ । वन क्षेत्रको भित्र पर्ने पशु चौपायालाई आहाराको समेत कमी नहुने र पानी समेतको उपलब्धताले यो क्षेत्र गौशालाका लागि उपयुक्त हुने कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए।

‘अहिले ठूलो समस्या र चुनौतिका रुपमा रहेको छाडा चौपाया व्यवस्थापन चाडो गर्नु पर्ने देखिन्छ’ उनले भने‘ यही साउन भित्र नै गौशाला निर्माण गर्नुपर्छ’।

बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले जंगल भित्र खाली जग्गामा रहेको यो क्षेत्र भित्र गौशाला निर्माण गरिनुपर्ने बताए। ‘छाडा चौपायाबाट कृषक लगायतका जनताहरु नै हैरान भएका छन्। यसको जति सक्दो चाडो व्यवस्थापन गुर्नपर्छ’ उनले भने’ सबै पालिका मिलेर छाडा चौपायाका व्यवस्थापन गरिनुपर्ने उनले बताए।

यसअघि एक वर्ष कपिलवस्तु बुद्धभूमि र शिवराज नगरपालिकाले संयुक्त लगानीमा बुद्धभूमिको सुगुरबरुवा भन्ने स्थानमा गौशाला निर्माणका लागि निर्णय समेत गरेको थियो। तर राजमार्गदेखि नजिकै र सानो ठाउँ भएकाले सो निर्णय कार्यान्वयन हुन सकेको थिएन। प्रजिअ धर्मेन्द्रकुमार मिश्रले छाडा चौपाय व्यवस्थापनका लागि सबै पालिकाहरु एकजुट हुनुपर्ने बताए।

‘छाडा चौपाया व्यवस्थापनका लागि सक्दो प्रयास गर्ने छु’ उनले भने। अब गौशाला निर्माणमा भने ढिलाइ गर्न नहुने उनले बताए। बझिनियामा कपिलवस्तु, बुद्धभूमि र शिवराज नगरपालिकामा रहेको छाडा चौपाया राख्ने योजना छ ।

उता गौतमबुद्ध डिभिजन वन कार्यालयका प्रमुख दधिराम कंडेलले ऐन र नियमको परिधिभित्र रही सो स्थानमा गौशाला निर्माण गर्नुपर्ने बताए।

पालिकाहरुको संयुक्त बैठक बसी परिषदबाटै निर्णय गरी सरकार समक्ष जग्गाको भोगाधिकार प्राप्तिका लागि पहल गरिनुपर्ने उनले बताए । वन क्षेत्रमा पर्ने सो जग्गाको जिपिएसबाट निक्र्यौल गरी नक्सा डिजाइन समेत बनाउनुपर्ने उनले बताए। ‘ऐन नियमको परिधि भित्र रही काम गर्न सहयोग गर्नेछु,’ उनले भने। बझिनियामा गौशाला निर्माणको लागि जग्गाको नक्सा डिजाइन बनाउनका लागि बुद्धभूमि नगरपालिकालाई जिम्मा दिइएको छ।

जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले जिल्लाका १० वटै पालिकाले छाडा चौपाया व्यवस्थापनका लागि अब ढिलाइ गर्न नहुने बताए। उनले पालिकाहरु मिलेर गौशाला निर्माण गरी समस्या समाधान गनुपर्ने बताए। यसअघि शुद्धोधन गाउँपालिकाले गौशाला निर्माणको काम अघि बढार्इ सकेको छ।

यस्तै बाणगंगा नगरपालिका र यशोधरा गाउँपालिकाले समेत गौशाला निर्माणका लागि जग्गा छुट्टाउने काम गरी सकेको छ। टोलीमा बुद्धभूमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी, कपिलवस्तु नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष जाहिद खाँ, बुद्धभूमि नगरपालिका वडा नम्बर १ का अध्यक्ष तेज बस्नेत र वडा नम्बर ९ का अध्यक्ष प्रमोद आचार्य लगायतको सहभागिता रहेको थियो।

यसअघि बझिनियामा छाडा चौपाया व्यवस्थापनका लागि स्थानीयबासीले झबिन्द्रराज शास्त्रीको अध्यक्षतामा गोरक्षधाम गठन गरी सकेका छन्। बझिनियामा गौशाला निर्माणको विषयमा छलफल गर्न कपिलवस्तु, बुद्धभूमि र शिवराज नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई बिहीबार जिल्ला प्रशासन कार्यालयमा बोलाइएको प्रजिअ मिश्रले बताए।

प्रकाशित मिति : २५ श्रावण २०७९ बुधबार ००:००  ७ : ४६ बजे