६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

कार्यभार सम्हालेको सुरुवाती चरणमै आशा जगाएका यी मेयर



दीपक अनुरागी, बाणगंगा ।
गएको बैशाख ३० को स्थानीय तहको निर्वाचनमा अनपेक्षित जनमत प्राप्त गर्दै मेयरमा निर्वाचित सुदीप पौडेल र अजय थापाले सुरुवाती आशा जगाएका छन् ।

अनेकन चुनावी अड्कलबाजीलाई धरापमा पार्दै कपिलवस्तु नगरपालिकामा सुदीप पौडेल र शिवराज नगरपालिकामा अजय थापाले मेयरमा चुनाव जितेका थिए ।

बर्षौसम्म राजनीति गरेका नेता, गाउँ गाउँसम्म प्रभाव जमाएका पार्टी कार्यकर्ताका बीच अपार जनमतले मेयरमा अनुमोदित भएका मेयर पौडेल र थापा कपिलवस्तुबासीका नजरमा परेका छन् ।

चुनाव जिते देखि नै कपिलवस्तुबासीको नजरमा परेका यी मेयरले सुरुवाती चरणमै केही आशा देखाउन थालेका छन् ।

शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, विकास पूर्वाधारमा पछाडि परेको कपिलवस्तु तराईका छिमेकी जिल्लाको तुलनामा निकै पछि छ । अपार सम्भावनाले भरिपूर्ण भएपनि राजनीति नेतृत्वको इच्छाशक्ति नहुँदा सोचेजस्तो जिल्लाको विकास नभएको सरोकारवालाबाट टिप्पणी हुने गर्छ । यस्ता टिप्पणीका बीच उदयमान यी दुई मेयरले जनताको प्रत्यक्ष सरोकार रहने शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतामा जनप्रेमी निर्णय लिएका छन् ।

यी दुई मेयर बीच उमेरका हिसाबले जम्मा ११ बर्षको अन्तर छ । पौडेल उमेरले ४४ पुगेका छन् भने थापा ३३ बर्षका भए । दुबै युवा नेता हुन् । राजनीति आस्थाको आधारमा पौडेल जनता समाजवादी पार्टीका हुन् भने, थापा राष्ट्रिय प्रजातन्त्र पार्टीका ।

भूगोलको हिसाबले पौडेल जिल्ला सदरमुकामस्थित नेपालको दोस्रो पुरानो नगरपालिकाका मेयर हुन् । थापा जिल्लाको औद्योगिक तथा व्यापारिक नगरी चन्द्रौटाका ।

भूगोल, राजनीति आस्था फरक भएपनि दुबैले सुरुवाती चरणमा गरेका काम प्रशंसनिय देखिएको कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलक बहादुर पछाईको बुझाई छ ।

कपिलवस्तुका नगरपालिकाका मेयर पौडेलले गएको जेष्ठ महिनामै नगरभित्रको सामुदायिक विद्यालयको शिक्षा निशूल्क बनाउने निर्णय गराए । जेष्ठ महिनामा बसेको नगर कार्यपालिकाको निर्णय हालै मात्र बाहिर सार्वजनिक भयो । यो निर्णयको चौतर्फी स्वागत भएको छ ।

सामुदायिक विद्यालयको शिक्षा निशूल्क भनिए पनि कुनै न कुनै माध्यमबाट विद्यार्थी र अभिभावकबाट शूल्क उठाउनेक्रम बढेको छ । जसले गर्दा सार्वजनिक शिक्षा निशूल्क हुन सकेको छैन् ।

शिक्षाको विकास बिना अरु विकासको कल्पना गर्न नसकिने बेला मेयर पौडेलको ध्यान शिक्षामा परेको देखिन्छ । आर्थिक रुपले विपन्न समुदायको रोजाई सामुदायिक विद्यालय पर्न गएको छ । तर, शिक्षा निशूल्क नहुँदा यसको चरम मारमा विपन्न समुदाय छन् । मेयर पौडेलले निशूल्क शिक्षा लागू गर्ने निर्णय गराउँदै भनेका छन्, ‘नगरभित्रका सामुदायिक विद्यालयको शिक्षा निशूल्क गर्नका लागि कुनै पनि बहानामा अभिभावकसंग शूल्क नलिनू । कुनै पनि बहानामा सामुदायिक विद्यालयहरुले शूल्क लिएको थाहा पाए विद्यालय सञ्चालन व्यवस्थापनका लागि नगरपालिकाबाट अनुदान रकम निकासा हुने हुँदा यदि कुनै पनि सामुदायिक विद्यालयहरुले कुनै बहानामा विद्यार्थी तथा अभिभावकबाट शूल्क लिएको पाइएमा अन्य सम्पूर्ण अनुदान रकमको निकासा रोक्का हुनेछ ।’

यति मात्र होइन् मेयर पौडेलले निशूल्क स्वास्थ्य बीमाबारे पनि दुरगामी निर्णय गराएका छन् । नगरभित्रका प्रत्येक परिवारमा स्वास्थ्य बीमा गर्दा लाग्ने बार्षिक शूल्कमा ५० प्रतिशत रकम नगरपालिकाले दिने छ । सरकारले सञ्चालन गरेको स्वाथ्य बीमामा ५ जना परिवारका लागि बार्षिक रुपमा ३५ सय लाग्ने गर्छ । अब नगरपालिकाले त्यसको आधा रकम व्यहोर्ने भएको छ । वडाबाट सिफारिस भएपछि त्यो रकम भुक्तानी हुने मेयर पौडेलले जनाए ।

शिवराज नगरपालिकाका मेयर थापा पदभार ग्रहण हुन वित्तिकै नगरभित्र माध्यमिक तह सम्मको पढाई निशूल्क गर्ने घोषणा गरे । धेरैले यो निर्णयको स्वागत गरेपनि कतिपयले हावादारी निर्णय भन्दै विरोध गरे । मेयर थापाले सुरुवाती चरणमा गरेको निर्णयले दुरगामी महत्वमात्र राखेको छैन् शिक्षा प्रतिको बुझाईलाई प्रष्ट झल्काएको छ ।

३३ वर्षमै शिवराजको मेयर जितेका थापाले नगरपालिकाका सबै बालबालिकालाई माध्यमिक शिक्षासम्म निःशुल्क अध्यापन गराउने निर्णय गराएका हुन् ।

‘नगरमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अब माध्यमिक तहसम्म कुनै पनि शुल्क तिर्नुपर्ने छैन,’ उनले भने ।

उनले सरकारले माध्यमिक शिक्षा निःशुल्क भने पनि विद्यालयहरूले विभिन्न बहानामा शुल्क लिइरहेको भन्दै अब विद्यालयहरूलाई नगरपालिकाले सहयोग गरेर भए पनि विद्यार्थीहरूलाई निःशुल्क पढाउनुपर्ने बताए ।

थापाले विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई अनौपचारिक शिक्षा प्रदान गरेर भए पनि शिक्षाको पहुँचमा ल्याउने आफ्नो प्रमुख काम हुने बताए । पहिलो चरणमा माध्यमिक शिक्षा निशूल्क गर्ने र त्यसपछि सामुदायिक विद्यालयहरूमा पनि अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिने उनले बताए ।

‘म प्रति जनताले ठूलो आशा गरेर यो कुर्चीमा बसाल्नुभएको छ, उहाँहरूको आशा र विश्वासलाई मैले तोड्ने छैन,’ उनले भने । उनले आफ्नो कार्यकालमा शिवराजलाई नमूना नगरपालिका बनाउने बताए ।

निर्वाचनको बेला शिक्षा र स्वास्थ्यको विकाससँगै भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता बोकेर मत माग्दै हिँडेका थापाले पदबहाली गर्नुपूर्व पनि ‘नगरको विकासका लागि सदैव तत्पर रहने छु, म आफू पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्दै पद तथा गोपनीयताको सपथ गरेका थिए ।

प्रकाशित मिति : २६ श्रावण २०७९ बिहिबार ००:००  ११ : १४ बजे