६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

रुपन्देही कोरोनाविरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषित



तिलोत्तमा ।

रुपन्देही कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले भैरहवामा शुक्रबार आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् ।

रुपन्देहीलाई १२ वर्षमाथिका कोभिड–१९ विरुद्ध पहिलो शृंखलाको पूर्ण खोप तथा १५ महिनासम्मका बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चतता गरेको कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री ईन्द्रजीत थारुले जनता, स्थानीय, प्रदेश र संघीय सरकारको एकीकृत योजनाको प्रयासले रुपन्देहीलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न सफल भएको बताए ।

रुपन्देहीको कुल जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ रहेकोमा १२ वर्षभन्दा माथिको उमेर समूहका ८ लाख ३५ हजार ७ सय ९० जना रहेका छन् । स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले लक्ष्यभन्दा बढी अर्थात् ८ लाख ५३ हजार ७८ जनालाई कोभिड विरुद्धको दुई डोज खोप लगाएको जानकारी दिए । जिल्लामा कोभिड–१९ रोग विरुद्धको खोपको पहिलो र दोस्रो मात्राको प्रगति देवदह, बुटवल, सैनामैना, कञ्चन, तिलोतमा, सिद्धार्थनगर नगरपालिकाको सतप्रतिशतभन्दा बढी भएको र बाँकी पालिकाहरुको १ सय प्रतिशतभन्दा केही कम देखिएको ढकालले बताए ।

जिल्लालाई पूर्ण खोप घोषणा गर्नुअघि सबै पालिकामा तथ्यांक संकलन गरी १२ वर्ष उमेर समूह माथिका खोप लगाउन मिल्ने अवस्थामा भएकाले खोप लगाउनबाट नछुटेको पाइएको उनको भनाइ छ । समग्रमा जिल्लाको प्रगति १ सय २ प्रतिशत रहेको पाइएको भन्दै ढकालले खोज र खोप अभियानपछि ६२ हजार ५ सय जनाले पूर्ण खोप लगाएको जनाए ।

प्रकाशित मिति : २८ श्रावण २०७९ शनिबार ००:००  ६ : ०४ बजे