२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

नेता नारायण खनालले गरे डा. भट्टराईसंग सम्बन्ध विच्छेद



मायादेवी अनलाइन, बाणगंगा ।
नेकपा (माओवादी) हुँदै आजसम्म साथ दिदैं आएका नारायण खनालले डा. बाबुराम भट्टराईको साथ छाडेको घोषणा गरेका छन् ।

शनिबार साँझ एक लामो राजनीतिक यात्रा लेख्दै कपिलवस्तुका खनालले डा. भट्टराईको साथ छाडेको घोषणा गरेका हुन् ।

डा. भट्टराईले हालै जनता समाजवादी पार्टीबाट विद्रोह गरी नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।

नेपाल समाजवादी पार्टी गठनसम्म साथ दिदैं आएका खनालले किन एकाएक भट्टराईको साथ छाडे उनले प्रष्ट पारिसकेका छैनन् । यद्यपि उनले अब उप्रान्त डा. भट्टराईको साथमा रहन नसक्ने घोषणा गरेका हुन् ।

नेता खनाल तत्कालिन माओवादी भित्र देखिएको दुई धार संघर्षमा पनि भट्टराईको साथमा थिए । उनले माओवादीबाट विद्रोह गरी नयाँ शक्ति पार्टी गठन गर्दा समेत खनाल त्यो पार्टीको केन्द्रीय परिषद सदस्य भएर साथ दिएका थिए ।

भट्टराई नयाँ शक्तिबाट जसपा हुँदै नेसपासम्म आइपुग्दा निरन्तर साथ दिएका खनालले किन एकाएक उनीसंग सम्बन्ध विच्छेद गरे कौतुहलताको विषय बनेको छ ।

बौद्धिक तथा वैचारिक नेता समेत रहेका खनालले आफ्नो फेसबुकवालमा आजसम्म गरेको राजनीतिक यात्राबारे प्रष्ट पारेका छन् ।

नेकपा (मसाल) बाट राजनीतिक यात्रा सुरु गरेका खनालले नेकपा एकता केन्द्र (मसाल) कपिलवस्तुको सचिव, तत्कालिन जनमुक्ति सेना नेपालको चौथो डिभिजनको प्रशाशक, नेकपा ( माओवादी) अबध राज्य समितिको सदस्य, नयाँ शक्ति पार्टी नेपालको संस्थापक केन्द्रीय सदस्य, समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा केन्द्रीय स्कूलिङ्ग बिभागको सदस्य, जसपा नेपाल को केन्द्रीय सदस्य भएर काम गरिसकेका छन् ।

हालै बनेको नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य रहेका खनालले भट्टराईलाई धन्यवाद दिदैं लेखेका छन्, ‘हालै गठन भएको नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य मनोनयन गर्नु भएकोमा उहाँ प्रति धेरै धन्यवाद तथा आभार ब्याक्त गर्दछु । र उहाँको उज्ज्वल भबिश्यको सधै कामना गर्दछु । म आजैका मिति देखि नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्य लगायत समितिको कुनै पनि पदमा समेत नरहने बिबेक सम्मत घोषणा गर्दछु ।’

साथै उनले भावि दिनमा नेपाली समाजका समस्या र अन्तरबिरोधहरु हल गरी नेपाली समाजको अग्रगामी निकाशमा खटिने पनि उद्घोष गरेका छन् ।

तर, उनले कुन पार्टीबाट राजनीतिक यात्राको थालनी गर्छन् प्रष्ट भएको छैन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९ आइतबार ००:००  ६ : ४० बजे