८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आफैँ शासक बन्नुपर्ने अग्नि परीक्षामा युवा



चन्द्रकान्त न्यौपाने ।
नेपालको राजनीतिक इतिहासलाई नियाल्दा जंगबहादुर राणाले २९ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भई शासनको बागडोर सम्हालेका थिए । त्यसपछि कान्छो उमेरमा कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए ।

नेपाली काँग्रेसका वर्तमान पार्र्टी सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा ४८ वर्षका थिए । यो इतिहास नै भयो । तर गणतन्त्रपछिका सबै प्रधानमन्त्री हेर्यौँ भने त्यहाँ बुढा र पुरानापुस्ता मात्रै हावी भएका छन् । यो १६ बर्षसम्म एक जना युवाले पनि मुलुकको नेतृत्व पाउन सकेका छैनन् ।

तर विश्व इतिहासको अहिलेको अवस्थालाई हेर्ने हो भने नेपालको जस्तो छैन । ठ्याक्कै उल्टो जस्तो देखिन्छ । विश्वका कैयौँ विकसित देशमा तातोे रगतले उम्लिएका युवाले राज्यसत्ता चलाइरहेका छन्, अहिले पनि ।

विश्वको सबभन्दा कान्छा राष्ट्रप्रमुख भनेर चिनिने अस्ट्रियाका चान्सलर ३१ वर्षका छन् । उनले अष्ट्रियाको चामत्कारिक विकास गरेका छन् । युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट सन् २०१३ मा सांसद निर्वाचित हुँदा १९ वर्षकी थिइन् । उनी अफ्रिका मात्र नभई संसारकै कान्छी सांसद बनिन् । त्यसैगरी ब्रिटिस स्कटमूलकी म्हाहारी ब्ल्याक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन् ।

न्युजिल्यान्डको लेबर पार्टीबाट २००८ मा २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमै पार्टी प्रमुख हुँदै सन् २०१७ अगस्तमा न्युजिल्यान्डको तेस्रो महिला तथा उक्त देशको इतिहासमा सबभन्दा कम उमेरकी युवा महिला प्रधानमन्त्री हुन सफल भइन् । त्यस्तै, फ्रान्समा ३९ वर्षका युवा नेता इम्यानुएल म्याक्रोन पहिलो पटक चुनाव जितेर राष्ट्रपति भए ।

क्यानडाका जस्टिन ट्रुडो ४४ वर्षको उमेरमा प्रधानमन्त्री बन्दा फिनल्यान्डमा स–नाना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन् । बेल्जियममा पनि ४२ वर्षीय चार्सेस मिचेल प्रधानमन्त्री भई देशको नेतृत्व गरेका छन् । यो पृष्ठभूमिभित्र २०७९ मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको चुनाव हुँदै छ । आम नागरिकले चुनावपछि नयाँ प्रधानमन्त्रीको रुपमा नयाँ अनुहार आउँछन् कि तिनै पुराना व्यक्ति प्रधानमन्त्रीमा दोहोरिएलान् रु व्यग्र प्रतिक्षामा छन् ।

दलहरुको तयारी अनुसार त फेरि पनि यिनै शीर्ष नेतामध्ये एक निश्चित छ । तर जनताले मत बदले भने नयाँ युवा पुस्ता पनि प्रधानमन्त्रीमा नआउलान् त्यसै भन्न सक्ने अवस्था छैन । किनकि मुलुकमा पूर्वप्रधानमन्त्री या एक पटक सांसद र मन्त्री बनेकालाई हराउन अभियान पनि एक ढंगले चलेको देखिन्छ ।

आगामी चुनावमा कसलाई हराउने कसलाई जिताउने हात आम युवामाझ देखिन्छ । किन कि मंसिर ४ गते १८ वर्ष उमेर पुगेका करिब ३ लाख युवा मतदातामा मतदानबाट सक्षम ब्यक्ति छान्ने सुअवसर छ । त्यो दिन मात्रै भोट हाल्न योग्य मतदाताभन्दा लाखौँ युवा महदाता अरु पनि छन् । जसको हातमा यो देशको नेतृत्व छान्ने अवसर छ ।

अर्कोतर्फ युवाहरु चुनावमा उठेर परिवर्तनको सुरुवात गर्ने अवसर पनि नेपाली युवाले प्राप्त गर्दै छन् । अब देशको भविष्य कस्तो बनाउने रु यिनै युवाले गरेको मतदानबाट थाहा हुने छ । सक्षमलाई जिताउने र असक्षमलाई हराउने काम निर्वाचन सिवाय सडकको चिया चौतारीको गफले दिँँदैन । मत सहि ठाउँमा खसानु पर्दछ । उमेरले मात्र युवा होइन असल सोँच, विचार, योजना र राष्ट्रप्रेमले युवा भएका व्यक्ति छान्नु पर्दछ ।

गत वैशाख ३० गते स्थानीय निर्वाचनमा ४२ प्रतिशत युवा उम्मेदवार थिए, जसमा धरानका मेयर हर्क साम्पाङ, काठमाण्डौँका मेयर बालेन्द्र शाह, धनगढीका मेयर गोपाल हमालजस्ता ३९।६४ प्रतिशत युवा निर्वाचित भए ।

यसले पनि युवाहरुलाई उत्साहित बनाएको छ । त्यसमा अधिकांस ४० बर्षमुनिका युवा चयन भएका छन् । यो युवामाथिको भरोसा, सुशासनप्रति जनअपेक्षाको अभिव्यक्ति भन्न सकिन्छ । विगतको सहभागिता र अहिलेको स्थानीय निर्वाचनको नतिजाले आगामी संघीय र प्रदेशको निर्वाचनमा युवाको उम्मेदवारी र विजयी हुने दर बढ्ने बलियो सम्भावना देखिन्छ ।

यी दुई अवसरबाट अब नेपाली युवा चुक्नु हुँदैन । यदि यो भयो भने युवा मात्रै चुक्दैनन्, देश नै चुक्छ । त्यसकारण यो अवसरको कसरी सदुपयोग गर्ने भन्नेमा अब युवाले सोच्नै पर्दछ । यति मात्रै होइन मगजमा एक पार्टीको छापले डेरा जमाइरहेका पुराना मस्तिष्क भएका आमाबु्बालाई पनि सचेत बनाउने दायित्व युवामाझ छ ।

विश्व सर्वहारा वर्गका महान गुरु कार्ल माक्सले भनेका छन्, युवाहरु हो जिते संसार छ । हारे केही पनि छैन । त्यस्तै अर्का महान गुरु माओत्सेतुङले युवाहरुलाई प्रेरित गर्दै भनेका छन्, यो देश तिमीहरुको पनि हो मेरो पनि हो । तर अन्तिममा तिमीहरुकै हो । यी दुई भनाईबाट के थाहा हुन्छ भने युवा परिवर्तनका वायु हुन् । कुनै पनि मुलुक हाँक्ने सामथ्र्य हुन् ।

निर्वाचन आयोगले २१ वर्ष उमेर पुगेका नेपाली नागरिकलाई निर्वाचनमा उठ्न पाउने अधिकार दिएको छ । त्यसैले शिक्षित, योजना भएका र उर्जाशिल युवाहरु पार्टी मनोविज्ञानबाट माथि उठेर प्रदेश र प्रतिनिधि सभा सदस्यमा उठ्न जरुरी छ भने मत प्रकट गर्ने बेलामा निकै सुझबुझ अपनाउनु पर्ने बेला छ ।

अब युवाले पार्टीविना जित्तिन कि भन्ने मनोविज्ञान त्यागेर गलत पात्रकाविरुद्ध सति साल झैँ ठिङ्ग उभिन सक्नु पर्दछ । आफ्नो मुलुक विकास गर्ने योजना र देशप्रेम भएका निष्कपट ब्यक्तिलाई चुनावामार्फत् जिताउनु पर्दछ । ती व्यक्ति चाहे स्वतन्त्र होऊन् चाहे पार्टीका वास्ता राख्नु हुँदैन ।

मेरो पार्टीको भनेर अक्षम र गलत मान्छेलाई मत खसाल्नु भनेको मताधिकारको दुरुपयोग हो । त्यो मुलुकमाथिको चरम बेइमानी र धोका हो । मुलुक खोक्रो र निकम्म बनाउने पागलपन हो । अब फेरि यही पागलपन दोहोर्‍याउने हो र ? युवाहरुले यो बुझ्न जरुरी छ । पुराना मतदाताले त आफ्नो मगजको छाप छोड्न चाहान्न् र सक्दैनन् पनि । तर अबका युवा मतदाताले भने पार्टीको मनोविज्ञान तोड्नु पर्दछ ।

आगामी मंसिरमा हुने निर्वाचनमा बेइमानी र खराब चरित्र नभएका योग्य र सक्षम उम्मेदवार छैनन् भने काँग्रेस, माओवादी, एमाले, समाजवादी, राप्रपाको भनेर मत खसाल्न जरुरी छैन । यदि पार्टीबाट देशप्रेमी र भिजनेवल ब्यक्ति उठेका छन् भने जिताउनु पनि पर्दछ । अब खसालेको मतले रातदिन नपोलिरहोस् जसरी २०७४ मा खसालेको मतले आज आफ्नै छाती पोलिरहेको छ ।

अहिले चलिरहेको एउटा स्यालहुइन्या छ दलका नेताले चुनाव जित्नु हुँदैन बर्बाद हुन्छ । तर त्यो होइन बहुदलीय ब्यवस्था भएको पार्टीमा दलले नै हो चलाउने राज्य । तर ती दलमा सक्षम युवा सोँच भने हुन जरुरी छ । जस्तो अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेन ७९ बर्षका भए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ७३ बर्षका भए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिन पीङ समान ७९ बर्षका भए । तर मुलुक विकासको तीव्र गतिमा दौडाइरहेका छन् । अब उनीहरुलाई बुढा भए भन्न मिल्दैन । किनकि उनले मुलुक र जनताको लागि काम गरिसकेका छन् । जनताको जनजिवीका बदलेका छन् । हामीलाई चाहिएको उमेरले युवा । बुढो होइन मुलुक र जनताको सामाजिक र आर्थिक जनजिवीका बदल्ने देशप्रेमी युवा सोँच चाहिएको हो ।

तर यो सत्यका पछाडी नेपालमा अर्को विडम्बना छ कि युवा अरुको इसारामा परिचालित हुनु । दलले युवालाई फाइदाको लागि प्रयोग गर्नु । दलले चुनावका बेला युवालाई विभिन्न वाद र विचारमा जहिले पनि विभक्त गरिरहे । युवाहरु उनीहरुका गोटी बनिरहे । युवा नेताहरुमाथि बज्रिएको खुकुरीको रक्षा कवच (ढाल) बनिरहे । चुनावका मासु, भारत र रक्सीमा युवा शक्ति बेतिन बाध्य भयो । जसले गर्दा मुलुकमा आशादित परिवर्तन हुन सकेको छैन ।

जुन देशले युवालाई आफ्नो मुलुकको विकासमा उपयोग गर्छ, त्यस देशले आर्थिक र सामाजिक विकासमा फड्को मार्छ । क्यानडा, डेनमार्क, नर्वे, फिनल्यान्ड, न्युजिल्यान्ड लगायतका देश युवाहरूलाई विकासका गतिविधिमा सहभागी गराई समृद्धिमा पुगेका हुन् । यो अवस्थामा मुलुकलाई पुर्‍याउन युवाको मतदान अमूल्य छ आगामी चुनावको लागि ।

राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकतन्त्र बलियो हुन्छ भनिन्छ । तर नेपालको राजनीतिमा गर्न सक्ने सक्षम युवालाई निर्वाचन या नेतृत्व गर्ने ठाउँमा बाइकट गर्दा मुलुक अधोगतितर्फ बढिरहेको छ । यसकारण अब युवाले आफै आफ्नो अधिकार प्रयोग गर्नेतर्फ अगाडी बढ्नु पर्दछ । राजनीतिमा लागेको युवाले यदि नेतृत्वले चुनावी टिकट दिँदैन भने विद्रोह गर्नुपर्छ । पार्टीमा भण्डाफोर अभियान चलाइएर युवालाई अगाडी सार्नुपर्दछ ।

मुलुकका हरेक पार्टीमा नेतृत्व जन्मिएनन् कार्यकर्ता मात्र जन्मिइरहे । क्षमताभन्दा उमेर र पार्टीमा योगदान गरेको आधारमा पद बाँडिन्छ । पछिल्लो चरणमा त राजनीति व्यापारीहरूको हातमा पुगेको छ, टिकट किनबेचका लागि । नेपालमा मौलाउँदै गरेको राजनीतिको अपराधीकरण र अपराधको राजनीतीकरणले स्वच्छ छवि भएको व्यक्ति भेट्न गाह्रो छ ।

युवाको उपस्थितिले राजनीतिक स्थितिहरूमा मात्र होइन सामाजिक पुरातनवादी मनोवृत्तिमा पनि परिवर्तन गर्न सक्छन् । युवाहरूलाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नयाँ आयाम दिन सक्छ । देशमा गणतन्त्र आयो, शासन व्यवस्था परिवर्तन त भयो तर नागरिकको जीवनस्तरमा परिवर्तन आएन । नेताहरूको जीवनशैलीमा परिवर्तन आयो, आलिशान घरबंगला भए तर युवाहरू आफ्नो जीविकाकै लागि विदेशिनु पर्यो ।

दलित अझै अछूत हुनुपर्ने, मधेसी हेपिनुपर्ने, महिला बलात्कृत हुनुपर्ने, शक्तिमा हुनेहरूले सधैँ रजाइँ गर्ने स्थिति भयो । आम सर्वसाधारण नागरिकले राज्यको अनुभूति गर्नै सकेनन् । त्यसैले सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्न युवाले नेतृत्व लिनैपर्छ । विधिको शासन, लोककल्याणकारी राज्य व्यवस्था, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता नागरिकका आधारभूक्त आवश्यकतामा राज्यलाई जिम्मेवार युवाहरूले दबाब दिनैपर्छ ।

युवाले मौका पाए चाँडै मुलुक परिवर्तन गर्न सक्छन् भन्ने माथिको तथ्यलाई बुझेर मुलुकको समृद्धिका लागि राज्यको नीति निर्माण र नेतृत्व तहमा युवाको समान एवं सार्थक सहभागिता आजको आवश्यकता हो । आगामी चुनावमा सक्षम र युवा ब्यक्तिलाई जिताउनु समयको आवश्यकता हो । युवाले चाहेको, रोजेको र खोजेको परिवर्तन पनि यही हो ।

प्रकाशित मिति : ५ भाद्र २०७९ आइतबार ००:००  ८ : ५४ बजे