१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु



काठमाण्डौ ।

सरकारले आजदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु भएको हो ।

आजदेखि सुरु भएको खोप अभियान भदौ ११ गतेसम्म चल्नेछ । यो अभियानमा खोपको पहिलो मात्रा र २७ भदौदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

प्रदेश(१ का भोजपुर, धनकुटा, खोटाङ, ओखलढुङ्गा, पाँचथर, सङ्खुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा खोप अभियान सञ्चालन हुनेछ ।

त्यस्तै मधेस प्रदेशका बारा, रौतहट र सर्लाही, वाग्मती प्रदेशका रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक तथा गण्डकी प्रदेशका बाग्लुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुम, कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोट तथा सुदूरपश्चिम प्रदेशमा अछाम, डोटी, बाजुरा, बैतडी र दार्चुलामा खोप अभियान सञ्चालन हुनेछ ।

बालबालिकालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि विद्यालयमै खोप केन्द्र राखिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७९ आइतबार ००:००  १२ : ०४ बजे