२४ आश्विन २०८१, बिहिबार | Thu Oct 10 2024

पाल्पामा एमालेका पूर्वमेयर र उपमेयरसहित प्रभावशाली नेता नेकपा एसमा प्रवेश



पाल्पा ।
नेकपा एमाले पाल्पाका १७ जना प्रभावशाली नेता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एमालेमा अन्याय, अत्याचार र दास प्रवृत्ति मौलाउँदै गएकाले कम्यूनिष्ट आन्दोलनको रक्षाका लागि तानसेन नगरपालिकाका पूर्वमेयर, उपमेयर, कार्यपालिका सदस्यसहितले पार्टी परित्याग गरेका हुन् ।

एमाले पार्टी परित्याग गर्नेमा तानसेनका पूर्वमेयर अशोककुमार शाही, पूर्वउपमेयर लक्ष्मीदेवी पाठक, नेताहरू भिमबहादुर कुमाल, रामप्रसाद घिमिरे, शिव थापा, बिनिता लुइँटेल, सुजेन्द्र कार्की, बुद्दे सार्की, कृष्णबहादुर केसी, लक्ष्मण कार्की, मधु कार्की, बिनोद लुइँटेल, कृष्णकुमारी केसी, माधवप्रसाद पाठक, केशवप्रसाद घिमिरे, कृष्णप्रसाद पाठक र उमेश घिमिरे छन् ।

एमालेमा दोहरो मापदण्ड अपनाईएका कारण पुराना ईमान्दार र योग्य कार्यकर्ता पार्टीको मुलधारबाट अलग हुँदै जाने वाध्यात्मक परिस्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ । एमाले जिल्ला नेतृत्वले सधैंभरी संविधानले व्यवस्था गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मर्ममाथि प्रहार गर्ने गतिविधीलाई प्रश्रय दिने काम मात्रै गरेको उनीहरूको भनाइ छ ।

‘हामी पञ्चायतदेखि नै तत्कालीन नेकपा माले र पछि एमालेमा आवद्ध भई ज्यान हत्केलामा राखेर पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै आएका इमान्दार, माक्र्सवादप्रति प्रतिवद्ध निष्ठावान कार्यकर्ता हौं । यो बीचमा विभिन्न ढंगले येजनाबद्ध रुपमा प्रहार भए । अझैपनि अत्याचार सहनु भनेको कूकर्मलाई प्रश्रय दिनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीमा व्याप्त विसंगति र विकृतिविरुद्ध मौन रहन हुँदैन भन्ने महसुस गरेका छौँ । यो वा त्यो वहानामा, मनगढन्त आरोप लगाएर जिम्मेवारी विहिन तुल्याउने तथा किनारामा पुर्याउने प्रवृत्ति हाबी भएपछि अलग हुने निर्णय लिएका हौं ।’

एमालेमा व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने कुकर्म बढ्दै गएको उनीहरूको आरोप छ । ‘यथास्थितिवादी र प्रतिक्रियावादीलाई दोषारोपण गरेर जनताको बहुदलीय जनवाद र माक्र्सवादलाई नागरिकसामु साक्षी राखेर सत्तामा पुगेको एमालेभित्र आन्तरिक लोकतन्त्रको उपहास गर्दै व्यक्तिवाद, नातावाद र कृपावादलाई प्रश्रय दिने कुकर्म बढ्दै गएको छ,’ उनीहरूले भनेका छन्, ‘संगठन सुदृढिकरण तथा वैचारिक वहस र सुझावलाई निषेध गर्ने काम भएपछि कम्युनिष्ट पार्टी र जनसंगठनका लागि जीवन अर्पेका सयौं कार्यकर्तामा उत्साह मरेको छ ।’

सत्तामा मात्र नभई पार्टी नेतृत्वमा समेत चाकडी र दलालीकरणलाई यो वा त्यो नामबाट संस्थागत गर्ने प्रवृत्ति हुर्कदो रहेको विज्ञप्तिमा उल्लेख छ । ‘नवौं महाधिवेसनले पारित गरेको राजनीतिक कार्यदिशा विपरित पार्टीको माथिदेखी तलसम्म स्वेच्छाचारी र व्यक्तिवादी ढंगले नेतृत्व चल्न थाल्यो । पार्टीका नीति, सिध्दान्त, विचार र पद्दती कुल्चीने काम भएको छ । नेतृत्वमा रहनेहरुको अदूरदर्शिता र गलत रवैयाका कारण विगतमा वामपन्थी आन्दोलनले विभिन्न आरोह अवरोध पार गर्दै अघि बढेको कुरा हामीले स्मरण गर्न आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।

नागरिकले विश्वास गरेकै कारण २ तिहाइ जनमत प्राप्त उपलब्धिलाई जोगाउन नसक्नु, २/२ पटक संसद विघटन गर्नु र सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरी संसद पुनः स्थापना गर्दा पनि पार्टीभित्र समीक्षा गर्न तयार नहुनु, संविधान विरोधी गैर मार्कसवादी चिन्तन र गुटस्वार्थ मुख्य कारण हो भन्ने आम ठम्याईलाई बेवास्ता र त्यसको असरप्रति नेतृत्व तहमा संवेदनशिलता नदेखिनुले एमालेप्रति आम नागरिकको विश्वास टुट्दै गएको बताइएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७९ सोमबार ००:००  ८ : ४१ बजे