१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

उही पुरानै अनुहारलाई चुनाव लडाउने तयारीमा कपिलवस्तुका ठूला दल



मायादेवी अनलाइन, बाणगंगा ।
आसन्न मंसीर ४ को निर्वाचनमा पुरानै अनुहार चुनाव लड्ने तयारी गरेका छन् । कपिलवस्तुका ३ प्रतिनिधिसभाका लागि जिल्लाबाट सिफारिस भएका अधिकांश नामहरुमा पुरानै अनुहारको बर्चश्व देखिएको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनाव जित्ने हवला दिंदै पुराना नेताहरुलाई अगाडी सारेका हुन् ।

जनतामा भिजेका, पटक पटक चुनाव जितेका उम्मेद्वारलाई टिकट दिँदा चुनाव जित्ने सम्भावना बलियो हुने कांग्रेस र एमालेले ठहर छ । यही ठहरले पुराना नेताहरुको जिल्लामा पुनः बर्चश्व हुने देखिएको छ ।

देशभर नयाँ अनुहार, त्यसमा पनि युवा पुस्ताको माग बढिरहेका बेला कपिलवस्तुमा त्यो परिस्थिति नआउने लगभग पक्कापक्की छ । जनमतका हिसाबले ठूला दलहरु भित्रबाटै चुनाव जित्ने सम्भावना बलियो छ । यद्यपि ठूला दलहरुले पुराना अनुहारलाई चुनावी मैदानमा पठाउँदा साना दलहरुले नयाँ र युवा पुस्तालाई अगाडी सारेका छन् ।

तर, साना दलका उम्मेद्वारले चुनाव जित्न आम मतदाताको मनमा आमुल परिवर्तन आउन जरुरी देखिन्छ । नत्र ठूला दलकै उम्मेद्वारले चुनाव जित्ने बलियो जनमत छ ।

जिल्लाबाट कांग्रेस र एमालेले उम्मेद्वारको नाम केन्द्रमा सिफारिस गरेका छन् ।

कांग्रेसले प्रतिनिधिसभा १ मा दीपकुमार उपाध्यायको नाम सिफारिस गरेको छ । उपाध्याय ०४८ साल देखि चुनाव लड्दै आएका छन् । यो चुनावमा उनी उठे सातौं पटक हुन्छ । ०४६ सालको बहुदलिय प्रतिस्पर्धा पछिका कुनै पनि चुनाव नउठेको अनुभव उनीमा हुने छैन् ।

उपाध्यायसहित अतहर कमालको नाम पनि यहीँ क्षेत्रबाट सिफारिस भएको छ । कमालले ०७० को चुनावमा कांग्रेसबाट विद्रोह गर्दै चुनावमा उठेर स्वतन्त्र रुपमा चुनाव जितेका थिए । उनले टिकट पाए केहीँ नयाँ अनुहारको महसुस मतदाताले पक्कै गर्नेछन् ।

यस क्षेत्रबाट अरु नेताहरुको पनि नाम सिफारिस भएको छ । तर, टिकट पाइ हाल्छन भन्ने सम्भावना न्यून छ ।

क्षेत्र नं. २ मा कांग्रेसबाट सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस भएको छ । आचार्य पनि जिल्लाका पुराना अनुहारमा पर्छन् । ०५६ देखि चुनाव लड्न थालेका आचार्य ०६४ बाहेक हरेक चुनाव लड्दै आएका छन् । ०७० मा चुनाव जितेका आचार्यले ०७४ मा चुनाव हारेका थिए ।

क्षेत्र नं. ३ मा कांग्रेसका अभिषेक प्रताप शाहको एकल नाम सिफारिस भएको छ । युवा नेतामा पर्ने शाह ०६४ यताका हरेक चुनाव लडेर पुराना बनिसकेका छन् । लगातार ३ चुनाव जितेका शाहको काम गराई यहाँका मतदाताले हेरिसकेका छन् ।

मधेसी दल हुँदै कांग्रेस छिरेका शाह आसन्न चुनावमा पनि उठ्ने तयारीमा छन् ।

जिल्लामा नेकपा (एमाले) ले पनि उनै पुराना अनुहारलाई टिकट दिने तयारी गरेको छ । प्रतिनिधिसभा १ मा बलराम अधिकारी र दान बहादुर चौधरीको नाम सिफारिस भएको छ । अधिकारी एमाले कपिलवस्तुका पुराना नेता हुन् । एक दशक बढी जिल्लाको पार्टी नेतृत्व सम्हालेका अधिकारी ०७० मा चुनाव जितेका थिए । ०६४ देखि चुनाव लड्न थालेका अधिकारी ०७४ मा पनि चुनाव लड्ने आकांक्षा राखेका थिए । तर पार्टी टिकट दिएन ।

जिल्लाबाट तीनै प्रतिनिधिसभामा सिफारिस भएका नामहरु मध्ये अधिकारी केहीँ नयाँ जस्तो लागे पनि आम मतदाताबाट ‘टेस्टेड’ जनप्रतिनिधि हुन् ।

चौधरी ०५६ यताका हरेक चुनावमा भाग लिदै आएका छन् । ०५६ मा एमालेबाट चुनाव जितेका चौधरी ०६४ सम्म आउँदा एमाले परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरे । यहीँ दलबाट उनले चुनाव समेत जिते । ०७० मा आउँदा उनले यो पार्टी त्यागेर फोरक लोकतान्त्रिकबाट चुनावमा उठेर हारे । ०७४ मा नयाँ शक्ति नेपाल पार्टीबाट चुनावमा लडेका चौधरी हालै मात्र जसपा हुँदै नेसपा परित्याग गर्दै एमालेमै फर्किएका हुन् ।

हरेक चुनावमा दल परिवर्तन गर्दै आएका चौधरीलाई मतदाताले पटक पटक ‘टेस्ट’ गरिसकेका जनप्रतिनिधि हुन् ।

प्रतिनिधिसभा २ बाट एमालेले वृजेश कुमार गुप्ताको नाम सिफारिस गरेको छ । हाल पनि यहीँ क्षेत्रका सांसद रहेका गुप्ता ०७४ मा सूर्य चिन्हबाट चुनाव जितेका थिए ।

०५६ देखि हालसम्म लगातार चुनाव जित्दै आएका गुप्ता यो चुनावमा पनि एमालेबाट निर्विकल्प उम्मेद्वार बनेका छन् । आम मतदाताले पटक पटक उनलाई हेरिसके पनि दलले पटक पटक चुनावमा उठाउने गरेका छन् । यो निर्वाचनमा उनलाई मतदाताले कसरी हेर्छन् हेर्न बाँकी छ ।

प्रतिनिधिसभा ३ मा एमालेले बहुदल यताका हरेक चुनाव लड्ने तर नजित्ने गरेका मंगल प्रसाद गुप्तालाई उम्मेद्वार बनाएको छ ।

पञ्चायतताका यसका कट्टर समर्थक गुप्ता बहुदल पश्चात नेपाली कांग्रेसमा छिरे । कांग्रेसले ०७० मा टिकट नदिए पछि गुप्ता मधेसी दलबाट चुनाव लडे । ०७४ मा पनि चुनाव हारेका गुप्ता अहिले एमालेमा छन् । उनलाई आसन्न चुनावमा एमालेले उम्मेद्वार बनाउने तयारी गरेको छ ।

कांग्रेस, एमालेले यी पुराना नेतासंगै नयाँ कतिपय नयाँ अनुहारको नाम पनि सिफारिस गरेका छन् । तर, यिनका नजिक ती उम्मेद्वारहरु छायाँमा पर्ने निश्चित छ । कतिपय नेताहरुले चुनाव उठ्ने गरी आफ्नो दावी प्रस्तुत गरेका छन भने कतिपयले नामका लागि मात्र पठाएका छन् । केन्द्रीय स्तरका नेताको बुझाई अनुसार नयाँ उम्मेद्वारले टिकट पाउनु ‘फलामको चियुरा चपाउनु’ जस्तै कठीन छ ।

पटक पटक चुनाव लडेर जनताले हेरिसकेका नेताहरुलाई यो निर्वाचनमा आम मतदाताले कसरी हेर्छन् त्यो दिन कुर्नका लागि भने मंसीर ४ को निर्वाचनसम्म प्रतिक्षा गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९ मंगलबार ००:००  ८ : ०३ बजे