७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

दीपकुमारको धम्कीः दुर्घटना हुन सक्छ ! ‘सर्तमा अतहरले बलदेवलाई सघाउने’



मायादेवी अनलाइन, बाणगंगा ।
आगामी मंसिर ४ गतेको निर्वाचनलाई लिएर सत्ता गठबन्धनले सिट बाँडफाँटको कसरतलाई अत्तिम चरणमा पुर्‍याएको छ ।

गठबन्धनले १ सय ६५ मध्ये करिब सय सिटमा सहमति जनाउँदा कपिलवस्तुको क्षेत्र नम्बर–१ भने माओवादीले पाउने पक्का भएको छ ।

जिल्लाका ३ निर्वाचन क्षेत्रमध्ये २ र ३ भने काँग्रेसको भागमा परेको छ। यसो हुँदा नेकपा (माओवादी केन्द्र)का सचिव चक्रपाणी खनाल ‘बलदेव’ १ मा चुनाव लड्ने छन्। त्यहाँबाट बलदेवको नाम सिफारिस भइसकेको छ । अरु दुई जनाको नाम सिफारिस भए मओवादीले बलदेवलाई टिकट दिने पक्का छ ।

बलदेव वि.सं २०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । यस्तो स्थितिमा सोही निर्वाचन क्षेत्रबाट उठ्ने भनिएका नेपाली काँग्रेसका दुई प्रभावशाली नेता दीप कुमार उपाध्याय र अतहर कमाल मुसलमानले निःसन्देह बलदेवले सघाउलान् या गठबन्धनको निर्णय विपरित जालान् चौतर्फी जिज्ञासा छ ।

बलदेवले टिकट पाउने निश्चित भए तापनि त्यो क्षेत्रमा मओवादी कमजोर छ । ७४ मा जित्दा बलदेवले एमालेको साथ लिएर मात्र चुनाव जितेका हुन् । बलदेवले चुनाव जितेर कृषि मन्त्री भएतापनि उनले खासै उल्लेख्य काम गर्न नसकेपछि सबैबाट उनी अहिले आलोचित छन् । त्यसकारण पनि मतदाताहरु माओवादीप्रति सन्तुष्ट नभएका स्थानीय बताउँछन् । स्थानीय नेता, बुद्धिजिवीका अनुसार क्षेत्र नम्बर–१ मा माओवादीको धरातल निकै कमजोर छ ।

त्यसकारण यसपटक बलदेवलाई समानुपातिक या राष्ट्रिय सभामा व्यवस्थापन गरेर गठबन्धनबाट काँग्रेसले टिकट पाउँछ कि भन्नेमा स्थानीय काँग्रेस नेता र कार्यकर्ता आशावादी थिए तर अन्तिममा त्यो हुने नदेखिएपछि यतिबेला काँग्रेसका नेता कार्यकर्ता आक्रोशित र निरास रहेको नेताहरु बताउँछन् । यता चुनाव उठ्ने तयारीसमेत थालेका नेताहरु दीप कुमार उपाध्याय र सांसद अतहर कमाल मुसलमानले पनि गठबन्धनको निर्णयले क्षति हुने अुनमान गर्दछन् ।

दीप कुमारको धम्कीः दुर्घटना हुन्छ
पूर्वमन्त्री र राजदूतसमेत भइसकेका दीपकुमार उपाध्यायले गठबन्धनको निर्णय काँग्रेस कपिलवस्तुको लागि हानिकारक हुने आंकलन गर्दछन् । स्थानीय नेता कार्यकर्ताको मनोभावना विपरित गरिएको निर्णयले दुर्घटना हुन सक्ने भन्दै सचेत रहन शीर्ष नेतृत्वलाई उनको आग्रह छ । विहीबार मायादेवी अनलाइनसंग कुराकानी गर्दै उपाध्यायले भने ‘साइलेन्ट मतदातामाथि काँग्रेसले घात गरिरहेको छ’ । उनले भने, ‘म अहिले पनि जिल्लामा छु । मेरो क्षेत्र गठबन्धनबाट माओवादीको भागमा पर्ने निश्चितजस्तै छ । तर यस निर्णयले धेरै काँग्रेस नेता कार्यकर्ताको मन दुखेको छ, यसले ठीक नतिजा दिने देख्दिनँ । दुर्घटना हुन सक्छ ।’

नेताको हातमा मत नरहेको र जनताको हातमा मत रहेकाले यस्तो अवस्थामा आफूले पनि केही गर्न सक्ने अवस्था नहुने उनले बताए । ‘माओवादीको भोट छैन । यस अघि पनि एमालेको साथ लिएर बल्लबल्ल जितेको हो । माओवादीको धरातल छैन । मैले हुन्छ, अँ भने पनि मतदाताले त्यो मान्ने देखिँदैन । मैले गठबन्धनको निर्णय शिरोपर गरे पनि कार्यकर्ताले के गर्छन् भन्न सकिँदैन । कार्यकर्ताको मनस्थिति नबुझी गरिएको निर्णयले उल्टो परिणाम आउन सक्छ ।’

तपाईले गठबन्धनको निर्णय मान्नुहुन्छ कि बागी उम्मेदवारी दिनुहुन्छ ? भन्ने प्रश्नको जवाफमा उनले भने- ‘म जत्तिको नेताले पार्टीको निर्णय नमान्ने कुरा भएन । तर, जनता हिजोको अवस्थामा छैनन् । मत खसाल्ने जनताले हो । मैले भनेर पनि जनता कन्भिन्स हुने स्थिति छैन । बागीको कुरा छ । मैले बागी उम्मेदवारी दिन्नँ । पार्टीको अनुशासन र कर्तब्यमा हामी बाँधिएका हुन्छौँ । यसो गर्ने कुरा हुँदैन । तर पार्टीको यही निर्णयले देशभर दुर्घटना हुन सक्छ ।’

बलदेवले टिकट पाउँदा २०२५ साल देखि निरन्तर चुनाव लडेका उपाध्यायको लामो सांसद यात्रामा पूर्णविराम लाग्ने छ ।

के भन्छन् अतहर ?
सोही क्षेत्रमा चुनाव उठ्ने चर्चामा रहको सांसद अतहर कमाल मुसलमानले शर्तमा बलदेवलाई सघाउने बताए । काँग्रेस राजनीतिमा लामो समय व्यतित गरेको हुनाले त्यसै सबै कुरा नछोड्ने उनले बताए ।

उनले मायादेवीसंग भने ‘गठबन्धनको निर्णय मान्नु पनि पर्दछ । यस अघि पनि स्वतन्त्र जितेको थिएँ । अब कति यसो गर्नू ? जीवनभरी विद्रोही भएर भएन । यो मान्छे यस्तो रैछ भन्लान् । तर मेरो व्यवस्थापन पार्टीले गर्नुपर्दछ । त्यो हुँदा मैले बलदेव जिलाई सघाउँछु ।’

उनले बुधबार मात्र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’संग भेट भएको भन्दै प्रचण्डले बलदेवलाई सघाउन आग्रह गरेको सुनाए । उनले भने ‘प्रचण्डले मलाई भन्नुभएको छ, यसपटक सघाउनुहोस् । यसपटक गठबन्धनले जित्नुपर्दछ । चुनाव जितेपछि सरकार हाम्रो बन्छ । टिकट मात्रै सबै होइन । केही न केही मिलाम्ला । तपाईलाई कही न काहीँ व्यवस्थापन गछौँ ।’ त्यो भेटमा बर्षमान पुन पनि रहेको उनले सुनाए ।

‘आफ्नो पार्टी आफ्नै भयो । प्रचण्डले पनि यसो भनेपछि किन बिद्रोही हुने । यसपटक बलदेवलाई सघाउँछु । तर, नेता कार्यकर्ता बेखुसी हुनेछन् । बलदेवले निकै ठुलो कसरत गर्नुपर्ने देख्छु । किनकि माओवादीको धरातल निकै कमजोर छ । बलदेवले चुनाव जितेर जनताको मन जित्ने काम गर्न नसक्नु भएकै हो ।’

अतहरकी श्रीमती देवकला सुवेदीलाई पार्टीले समानुपातिकमा सिफारिस गरेको छ । श्रीमताीको व्यवस्थापन हुने देखिएपछि तपाईले बलदेवलाई सहर्ष स्विकार्नु भएको हो रे नि ? भन्ने प्रश्नमा उनले भने ‘त्यो होइन । मेडमलाई सांसद बनाएर के फाइदा हुन्छ । उनी सांसद बन्छिन् सकिन्छ । मलाई के फाइदा हुन्छ । राजनीतिमा आफ्नो फाइदा हेर्नुपर्दछ । त्यो विकल्पको रुपमा अगाडी सारेका हुन् । तपाईले भनेजस्तो होइन ।’

उनले गठबन्धनमा कसैले हठ गर्न नहुने बताए । ‘कपिलवस्तुको ३ निर्वाचन क्षेत्रमा दुई वटा काँग्रेसले पाएको छ । एउटा माओवादीलाई पनि दिनु पर्यो । उहाँहरुले मागेको क्षेत्र पनि–१ नै हो । उहाँलाई जिताउन सबै लाग्नु पर्ने देख्छु,’ उनले थपे ।

अतरहरसंग त्यस क्षेत्रको मुस्लिम मत रहेको छ । अतहरले नसघाएको खण्डमा बलदेवको सांसद यात्रा सकसपूर्ण छ । यता उपाध्यायले पनि सघाएनन् भने त्यसको फाइदा एमालेले लिने पक्का छ ।

सो क्षेत्रबाट एमालेका बलराम अधिकारीले टिकट पाउने निश्चित छ । संविधान सभा सदस्य रहेका अधिकारीलाई बलिया उम्मेदवार भने होइनन् । पार्टीमा उनको पकड भए पनि जनतासमक्ष भने उनी भिजनेवल र गर्ने नेताको रुपमा चिनिँदैनन् । त्यसकारण पनि गठबन्धनमा काँग्रेसले पुर्ण साथ दिएमा फेरि पनि बलदेवले चुनाव जित्ने त्यहाँका जानकार बताउँछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९ बिहिबार ००:००  १ : ३१ बजे