१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा किन पत्याइँदैन युवालाई, शर्मा भन्छन्–‘पुरानाहरुले विश्राम लिनुपर्दछ’



मायादेवी अनलाइन, बाणगंगा ।
गत स्थानीय तहको चुनावमा काठमाण्डौँबाट बालेन शाह र धरानबाट हर्क साम्पाङ्ले बाजी मारेसंगै राजनीतिमा देशभर युवा जागरण बढेको छ । यसैको प्रभाव स्वरुप आगामी मंसिर चार गते हुन लागेको प्रतिनिधि सभा सदस्य चुनावमा पनि देशभर युवाहरुले उम्मेदवार दिने क्रम बढ्दो छ । मुख्य सहरमा यस्तो क्रम धेरै देखिएको छ भने शीर्ष पार्टीका शीर्ष नेताकै निर्वाचन क्षेत्रमा युवाहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् यसको प्रभाव दुर–दराजका ठाउँमा परिरहेको छ । हिमाल, पहाड र तराईमा युवाहरु चुनाव लड्न तम्सिरहेका छन् ।

तर लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा भने उही पुराना नेताहरु आगामी चुनावमा उठ्ने भएपछि जनता, नेता, कार्यकर्तामा निरासा छाएको देखिन्छ । प्रतिनिधि सभा सदस्यको लागि कपिलवस्तुमा ३ वटा क्षेत्र छन् । पार्टी या स्वतन्त्र जहाँबाट भए पनि यी क्षेत्रमा जनताले नयाँ अनुहार खोजिरहेका छन् । प्रमुख पार्टीले पुरानै नेतालाई आगामी चुनावमा उठाउँने भएपछि जिल्लाबासीको त्यो चाहना र भावनामाथि चोट पुग्ने निश्चित भएको हो । त्यसकारण स्थानीय जनता, पार्टीका तल्लो तहका कार्यकर्ताले पनि उम्मेदवार चयन गर्न नेताहरुले फेरि पनि बाटो विराउन लागेको भन्दै आलोचना गर्न सुरु गरेका छन्।

शर्मा भन्छन् ‘पुरानाहरुले विश्राम लिनुपर्दछ’

जिल्लाको यो मनोविज्ञानको बीच नेपाली काँग्रेसका युवा नेता आशिष शर्माले प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट चुनावमा उठ्ने आकांक्षा व्यक्त गरेका छन् । पार्टीका प्रभावशाली नेता, पूर्वमन्त्री एवम् पूर्व राजदूतसमेत भइसकेका दीपकुमार उपाध्यायका पुत्रका रुपमा चिनिएका शर्माले उम्मेदवारी दिने आकाँक्षा एक भिडिओमार्फत् सामाजिक संजालबाट राखेपछि अहिले जिल्ला नै तातेको छ । शर्माको यो आकांक्षा सार्वजनिक हुने वित्तिकै धेरै नेताकार्यकर्ताले पनि उनीमाथि भरोसा राखेको सो भिडिओमा आएका प्रतिक्रियाबाट बुझ्न सकिन्छ । यसबाट पनि जिल्लामा नयाँ अनुहार चाहिएको छ भन्ने बुझिन्छ ।

शर्मा उठ्ने भनिएको क्षेत्रबाट काँग्रेसका पूर्व जिल्ला अध्यक्ष सुरेन्द्रराज आचार्य उठ्ने सम्भावना छ भने एमालेबाट वृजेश कुमार गुप्ता उठ्ने निश्चित छ । शर्मा भन्छन् ‘उहाँहरु दुवै जनाले २१ औँ शताब्दीका नेता कार्यकर्ताको भावना र स्प्रिट बुझ्न सक्नुहुन्न । त्यहाँका सबै पार्टीका नेताकार्यकर्ताको मनोभावना र मत दिने इच्छा आशिषमा छ तर पनि पार्टीले टिकट दिन मलाई आनाकानी गरिरहेको छ । म माथि एक खालको राजनीति चलेको देख्छु ।’

सफल ब्यवसायी समेत रहेका ४२ बर्षिय शर्माले आफूले टिकट पाएमा सजिलै चुनाव जित्ने बताउँछन्। आफू बु्बाको विरासतबाट भन्दा पनि आफ्नै क्षमता र तागतका कारण आम जनताबाट निर्वाचित हुन खाजेको बताए । उनले थपे ‘अब कपिलवस्तुका जनताले परिवर्तन खोजेका छन्। लामो समय ठूला भनिने नेताहरुलाई पनि जनताले विचार गरे। तर उनीहरुबाट जिल्ला बनेन। उहाँहरुलाई सम्मान गर्दछु। तर फेरि पनि त्यस्तै नै भयो भने जिल्ला बन्ने छाँट देखिँदैन। अहिले जनताको माग पनि युवामा छ, त्यसको सक्षम प्रतिनिधि म हुँ। पार्टीले यो कुरा बुझ्नु पर्दछ।’

पार्टीले टिकट दिने नदिने कुरा आफ्नो ठाउँमा छ उनले भने ‘मैले अन्तिमसम्म प्रयास गर्दछु। यो मेरो कुरा होइन काँग्रेस, एमाले, माओवादीका नेता कार्यकर्ता र जनताको माग हो’। पार्टीको सदस्यता लिएको २२ बर्ष भएको भन्दै उनले पछिल्लो दुई बर्ष जिल्लामा बसेर काम गरिरहेको उनले बताए। ‘अब जिल्ला बनाउनु पर्दछ । आफू मात्र बनेर हुने रहेनछ । आजसम्म आर्जन गरेको पढाई, ज्ञान सिपले कपिलवस्तु र विशेष गरी क्षेत्र नम्बर २ बनाउने सोँच छ । हेरौँ पार्टीले कति न्याय गर्दछ, उनले भने’।

के बताउँछन् नेताहरु ?

उनको उम्मेदवारी चर्चापछि काँग्रेसमा पनि दुई मत छ। शर्माको आकांक्षा केवल चर्चाको लागि मात्र भएकोले उनले अहिल्यै टिकट नपाउने एकथरि नेताहरु बताउँछन् भने केहीले शर्माको उम्मेदवारी स्वाभाविक भएको बताउँछन् ।

क्षेत्र नम्बर १ बाट दीपकुमार उपाध्यायले टिकट नपाउने भएपछि छोरालाई अगाडि सारेको, उपाध्यायले जिल्लामा आफ्नो बर्चस्व कायम राख्न खोजेको लगायतका आरोप एउटा गुटले लगाइरहेको छ भने अर्को गुट भन्छ ‘उम्मेदवारको हिसाबले काँग्रेसमा आशिष जति सक्षम नेता अरु छैनन् । शर्मालाई बुबासंग दाँज्न मिल्दैन। धेरै काँग्रेसका युवाहरुले जिल्ला परिवर्तन गर्न अब आशिष जस्ता नेता हुनुपर्ने भन्दै बुढाहरुको विकल्प खोजिरहेको देखिन्छ ।’

काँग्रेसमा मात्र होइन एमाले र माओवादीको हालत पनि यस्तै छ । उनीहरुले पनि युवालाई ठाउँ दिन सकेको पाइँदैन ।

माओवादीका चक्रपाणी खनाल (बलदेव) र एमालेका बलराम अधिकारी, बिमला घिमिरे, विष्णुु पन्थी हावी देखिन्छन् ।

यसअघि चुनाव जितेर पनि उनीहरुले खासै केही गर्न नसकेको तीतो यथार्थ हुँदा हुँदै नयाँ अनुहारलाई ठाउँ नदिएर उनैहरु टिकटको दौडधूपमा छन् । त्यसकारण पनि उनीहरुप्रति जनताको भरोसा टुटेको छ, त्यहाँका पत्रकार र नागरिक समाज बताउँछन् ।

किन यस्तो भयो कपिलवस्तुमा ?

कपिलवस्तुमा युुवा नेताले टिकट पाउन नसक्नुमा पनि अलग अलग कुरा आइरहेका छन्। ‘आफूहरुको रजगज र वर्चस्व पछिसम्म कायम राखिराख्न विशेष गरी काँग्रेस, एमाले, माओवादीका शीर्ष नेताले तल्लो तहमा नेता तयार गर्नै खोज्दैनन् भने अर्को तर्फ युवा नेता भन्नेहरुले आफ्नो राजनैतिक क्षमता विकास गर्न सकेका देखिँदैन’, त्यहाँका जानकारहरु भन्छन् ।

सबैले युवायुवा त भन्छौँ तर कपिलवस्तुमा नेतृत्व गर्ने पाका युवाको अभाव छ। एक जना बुद्धिजिबी भन्छन् ‘युवा त छन् पार्टीमा तर उनीहरुमा राजनैतिक चेतना शून्य छ । आलाकाँचा छन् । युवा नेता भन्दै उफ्रन्छन् सबै पार्टीमा तर ढंग, ज्ञान छैन । यस्तो अवस्थामा पुराना नेता आउनु स्वाभाविक छ ।’

उनले अर्को एक कारणले पनि जिल्लामा पार्टीमा युवा नेतृत्व स्थापित हुन नसकेको बताए । ‘युवालाई शीर्ष नेतृत्वले त्यस खालको स्कुलिङ दिन कहिल्यै चाहेनन् । सधैँँभरी मै खाऔँ, मै लाऔँमा नेता भएका कारण पनि युवा नेतृत्व पार्टीमा छैन । यहाँका नेताका नाम भन्यो भने को ? काँग्रेसमा दीप कुमार, अत्तहर, सुरेन्द्र, एमालेमा बलराम, झविलाल, डम्बर, विमला, माओवादीमा चक्रपाणी खनाल । भन्नुहोस् त तपाई अरु को पाको युवा देख्नुहुन्छ । उनीहरुले बाँचुञ्जले आफ्नो र परिवारको भलो होओस् भन्ने चाहन्छन् कसरी नयाँ पुस्ताको नेतृत्व स्थापित हुन्छ जिल्लामा ?’, उनले थपे।

प्रभावशाली नेता भए तर विकास गर्ने भएनन्

केन्द्रसम्म प्रभाव पार्ने नेता भए पनि मिसन, भिजन र पढाइलेखाईको अभावले उनीहरुले जिल्लाको भनेजस्तो विकास गर्न नसकेको स्थानीय बताउँछन् । ‘माओवादीबाट बलदेवले जिते, काँग्रेसबाट दीप कुमार, अतहरले जिते, एमालेबाट बलराम, विमलाहरु छन् तर माखो मार्न सकेनन् जिल्लामा । बलदेव, बलराम, विष्णु र दीपकुमारलाई हेरियो ? उनीहरुले भाषणबाहेक केही गरेनन् । अब प्रमुख पार्टी भनेर टाउको हेरेर भोट दिने होइन, सक्षम ब्यक्ति जो उठ्छ उसलाई भोट दिने हो’, स्थानीय भन्छन्।

काँग्रेस, एमाले र माओवादीका पुरानाबाहेक नयाँ अनुहार आए पनि बरु मत दिन हुन्थ्यो यी जिल्लाका ठुला भनिने नेतालाई भोट दिने पटक्कै मन छैन वाणगंगा वडा नम्बर ४ का खेमराज अधिकारी भन्छन्।

जिल्लाबाट मन्त्री, सांसद, राजदूत इत्यादि भए पनि जिल्लाको विकासमा एक इन्च पनि काम गर्न नसकेको धेरैको गुनासो छ । अनेकौँ पर्यटकीय, धार्मिक, ऐतिहासिक, सामाजिक सम्भावना भए पनि कमजोर नेताको कारण कपिलवस्तु पछि परेको जिल्लावासी बताउँछन् ।

छिमेकी जिल्ला रुपन्देही र दाङ विकासमा निकै अघि बढिरहँदा कपिलवस्तु तराइकै पिछडा जिल्लाको रुपमा चिनिनुमा पनि दोष यिनै नेताको रहेको भन्दै सर्वसाधारण निकै आक्रोशित छन्।

प्रकाशित मिति : ६ आश्विन २०७९ बिहिबार ००:००  ४ : ०१ बजे