३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

कपिलवस्तुका नेटुवा समुदायमा छैन दशैको रौनक



मायादेवी अनलाइन, बाणगंगा ।
वरिपरी पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्रि सडक भएपनि पक्की बाटो । तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्शन बढी फुसका घर । यी नेटुवा जाती दशकौ देखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतिनगरमा नेटुवा जातीको बसोबास छ । नेपाली हिन्दुहरुको महान पर्व वडादशैको चहलपहल चारैतिर बढिरहदा यी जातीमा भने दशैंको कुनै उल्लास छैन् ।

मधेसी समुदायको दलित जातीको रुपमा परिचित नेटुवाले विजयादशमी पर्व सुनेका छन् तर, अझै मनाएका भने छैनन् । मधेसी समुदायमा वडादशैको टिका नलगाए पनि नवदुर्गाभर हर्षौउल्लास छाउने गरेको छ । यो समुदायमा भने कुनै रौनकले छुन सकेको छैन् ।

उमेरले चालिस काटेका महेन्द्र नटुवाले वडा दशैं आफूहरुका लागि कुनै रौनकको पर्व नभएको बताउनुहुन्छ । सधै एक छाक कसरी खाने भन्ने पिरलोमा रहनुभएका उहाँ भन्नुहुन्छ, “एक छाक कसरी खाने चिन्ता यसैमा छ, के को दशै आउनु ।”

दशैं कसरी मनाउने भन्ने गुनासो भन्दा बढी गुनासो राज्य सामु उहाँको छ । महेन्द्र भन्नुहुन्छ, ‘हामीहरु राज्यबाटै सबैभन्दा बढी अपहेलित भएका छौँ ।’

सरकारसंग अल्पसंख्यक जातीको सूचीमा राख्न माग गर्न थालेको तीन दशक वित्यो उहाँले भन्नुभयो, ‘राज्यले अझै सुनेको छैन ।”

यही माग लिएर तीन पटक सिंहदरबार धाएको उहाँले सुनाउनुभयो । हातमा नागरिकताको प्रमाणपत्र बोकेर गृह मन्त्रालयको दैलो ढकढकाउन अधिकारको लागि पुगेका उहाँ बताउँनुहुन्छ ।

४५ बर्षिय दिलिप नेटुवाले राज्यले आफूहरुलाई अल्पसंख्यक जातीको सूचिमा राखेर केही सहयोग गरे धेरै चाड खुसीमा वित्ने सुनाउनुभयो । न गास, न बाँस, न जग्गा जमीन उहाँले भन्नुभयो, ‘हामी सबैभन्दा पीडित छौँ, राज्यले हाम्रो माग कहिल्यै सुनेन ।’

निरास मुद्रामा उहाँले थप्नुभयो ‘गरिब भएर जिउनुको पीडा राज्यको अहोदामा बस्नेलाई के थाहा ।’

थर नेटुवा भएको नागरिकता बनाए पनि आफूहरु पथ्थरकट्टा भन्दा तल्लो जाती भएको उहाँले दाबी गर्नुहुन्छ । ‘हामीभन्दा पथ्थरकट्टा उपल्लो जाती हो उहाँले भन्नुभयो, ‘हामीले छोएको पानी पनि खादैनन् पथ्थरकट्टाहरु ।’ पथ्थरकट्टालाई राज्यले अल्पसंख्यकको सूचीमा राखेर सरकारी सेवासुविधा दिएको छ तर हामीलाई दिएन् उहाँले भन्नुभयो, ‘सरकारी सुविधा माग्न जादा किन दिदैनन् उहाँले प्रश्न गर्नुभयो ।’ राज्यले भत्ता दिए दशैं पर्व राम्रो हुने उहाँले बताउनुभयो ।

दशैंमा वरिपरीका अरु समुदायले राम्रो लाउने, मिठो खाने गरिरहदा यहाँका नेटुवा समुदायका मानिसहरु भने दिनभरी भिक्षा मागेर पेट पाल्ने योजनामा छन् । पुरुषले सर्प नचाएरै भिक्षा माग्ने गरेका छन् भने महिला तथा बालबालिकाहरुले भिक्षा मागेर ज्यान पाल्दै आएका छन् । कपिलवस्तुमा झण्डै तीन सयको हारहारीमा नेटुवा जातीको बसोबास रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९ सोमबार ००:००  ११ : ०७ बजे