२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गयो



नवलपरासी ।

नवलपरासी पश्चिम सुस्तामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । नवलपरासीको सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेको नारायणी नदीको भङ्गालोमा डुङ्गा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार डुङ्गा दुर्घटनामा परि सुस्ता गाउँपालिका –४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको ज्यान गएको हो । दुर्घटनामा परि २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सोहित सहानी घाइते भएका छन् । घाइतेहरूको शहीद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पाण्डे बताउनुभयो ।

हिजो सोमवार दिउँसो डुङ्गा दुर्घटना भएको हो । डुङ्गा पल्टिएर पाँच जना डुबेपछि उद्धार गरी चौपत्ता अस्पताल पुर्याइएकोमा तीन जनाको उपचारका क्रममा सोमवार राति ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

सुस्ता गोकुल नगरका युवाहरू नर्सही नजिक पटनहियामा पिकनिक खान गएका थिए । पिकनिक खाएर फर्किने क्रममा डुङ्गा दुर्घटनामा परेको हो । ७ जना पिकनिक खान गएकोमा दुई जना भने मर्चहवा गाउँतर्फको बाटो हुँदै घर फर्किएको पाण्डेले जानकारी दिनुभयो । पाँच जना भने नारायणीको भङ्गालो हुँदै डुङ्गामार्फत फर्किँदा दुर्घटनामा परेका हुन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९ मंगलबार ००:००  ८ : १० बजे