७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

कपिलवस्तुका १७९ नेता–कार्यकर्तामाथिको कारबाही भ्रामकः कांग्रेस केन्द्रीय अनुशासन समिति



कपिलवस्तु । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले कपिलवस्तुका १७९ जना नेता तथा कार्यकर्तामाथि पार्टी अनुशासन उल्लंघनको आरोपमा कारबाही गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केही संचार माध्यमहरुमा भारतका लागि नेपाली पूर्व राजदूत दीप कुमार उपाध्याय, चर्चित युवा नेता आशिष शर्मा, डोलकराम घिमिेरे, बाणगंगा ५ का वडा अध्यक्ष दुनिका भुसाल लगायतका १७९ जना नेता तथा कार्यकर्ताहरुमाथि कार्यवाही गरिएको भ्रमपूर्ण समाचार नियोजित रुपमा फैलाइएको थियो ।

केन्द्रीय अनुशासन समितिका संयोजक पद्मनारायण चौधरीद्वारा जारी ध्यानाकर्षण पत्रमा उक्त समाचारहरू निराधार, असत्य र कपोलकल्पित रहेको स्पष्ट पारिएको छ। समितिमा यस विषयमा कुनै किसिमको छलफल वा निर्णय नभएको पनि पत्रमा उल्लेख छ।

पार्टीका निष्ठावान् नेता तथा कार्यकर्ताको प्रतिष्ठामा आँच पुर्‍याउने र अन्योल सिर्जना गर्ने उद्देश्यले फैलाइएका यस्ता भ्रामक समाचारको पछि नलाग्न नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टी पंक्ति तथा आम नागरिकलाई आग्रह गरेको छ।

पत्रमा नेपाली कांग्रेस १५औँ महाधिवेशनको व्यापक तयारीमा जुटिरहेको उल्लेख गर्दै संवेदनशील समयमा पार्टीका सबै तहका नेता, कार्यकर्ता, शुभेच्छुक तथा समर्थकलाई विभेद र भ्रमबाट मुक्त भई एकताबद्ध रूपमा संगठन निर्माण तथा महाधिवेशनको तयारीमा केन्द्रित हुन आह्वान गरिएको छ।

चरित्र हत्या गर्ने र राजनीतिबाट सिध्याउने कु नियतले नियोजित रुपमा गरिएको पंपञ्चको निष्पक्ष छानबीन नेता तथा कार्यकर्ताहरुलाई न्याय दिनु पर्ने कपिलवस्तु कांग्रेसका नेताहरुले बताएका छन् ।

केन्द्रीय समितिको विज्ञप्ति सार्वजनिक भएसँगै कपिलवस्तु जिल्लाको राजनीति थप पेचिलो बन्ने निश्चित । एक जना नेपाली कांग्रेसका नेताले भने पार्टी कब्जा गर्ने गलत मनसाय राखेर मिडिया ट्रायल गरिएकोेले यस्ता गलत कार्यमा संलग्नलाई कार्वाही गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०८३ बुधबार ००:००  ९ : ०० बजे